रास्वपा सांसद ढकालले भने: मसँग चुनाव हारेकालाई गभर्नर बनाउन खोजियो

2.4k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सरकार दलीयकरणमार्फत राष्ट्र बैंक लगायतका संस्था कब्जाको रणनीतिमा लागेको आरोप लगाएका छन् ।

कांग्रेस र एमाले गठबन्धन बीच गभर्नर छनोट समितिका सदस्य डा विश्व पौडेललाई गभर्नर बनाउने सहमति भएको छ र उनले छनोट समितिबाट समेत राजीनामा दिएपछि ढकाललको यस्तो प्रतिक्रिया आएको हो ।

ढकालले आफूसँग पराजितलाई नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको नेतृत्वमा ल्याउन खोजिएको भन्दै आपत्ति जनाए । गत निर्वाचनमा रास्वपाका हरि ढकालसँग नेपाली कांग्रेसका उम्मेदवार डा विश्व पौडेल चितवनमा चुनाबमा हारेका थिए ।

‘मसँग भारी मतले पराजित मान्छेहरु राष्ट्र बैंकमा अघि सारिएको छ । राष्ट्रिय सभामा ल्याइन्थ्यो पहिला चुनाव हारेपछि, तर अहिले नियामक निकाय, संवैधानिक नियुक्तिमा खोजिखोजी हाल्न खोजिएको छ,’ ढकालले क्लिकमान्डुसँग भने, ‘दलीयकरणको कब्जाको रणनीतिमा सरकार छ ।’

गभर्नर सिफारिस समितिमा बसेको मान्छे नै गभर्नर बन्न जान खोज्नु विश्वकै दुर्लभ घटना भएको उनको भनाइ छ ।

‘सिफारिस समितिमा बसेको मान्छेले मैले मान्छे भेटिनँ, म नै बन्ने हो गभर्नर भन्दै जान पाइन्छ ?,’ ढकालले भने, ‘संसारमा यस्तो कतै भएको होला ? यस्तो नजिर होला भारतलगायतका देशमा ? यो दुर्लभ कुरा होला ।’

राष्ट्र बैंकको नेतृत्व गर्छु भन्नेसँग मौद्रिक नीतिको ज्ञान हुन आवश्यक भए पनि कांग्रेस एमालेबीच सहमति भएको भनिएको पात्रसँग त्यो ज्ञान भएकोमा आफूलाई शंका रहेको ढकालको भनाइ छ ।

‘उहाँले राष्ट्र बैंक हाक्न सक्ने गरि खाएको जागिर कहाँ छ ? होला उहाँसँग प्राज्ञिकता तर राष्ट्र बैंक हाक्न नेतृत्वको क्षमता होला तर प्राज्ञिकता होला त ?’ उनले भने,’उहाँ मौद्रिक नीति बनाउन सक्षम हुने योज्ञता होला त ? उहाँले दुई वर्ष होइन बाहिर काम गरेको, केही समय कलेज पढाएको होला त्यतिले मौद्रिक नीतिका लागि पुग्ला ?’

केन्द्रीय बैंकमा दलीय वाछिटा हुँदा हिजो कुन हालत व्यहोर्नु पर्‍यो भन्ने स्पष्ट रहेको उनको भनाइ छ ।

अब दलीय मौद्रिक नीति बन्ने उनको भनाइ छ । ‘अब दलीय मौद्रिक नीति बन्छ, स्वार्थ समूहको मौद्रिक नीति बन्छ,’ ढकालले भने। गभर्नर प्रकरणमा बालुवाटार र बुढानीलकण्ठबाट हलो अड्काइएको उनको भनाइ छ।

एउटा गभर्नर नियुक्तिका लागि राष्ट्र बैंकमा महिनौ लाग्नु पर्ने केही नभएको उनक भनाइ छ । ‘एक दिन ढिलो हुँदा ग्रे लिष्टबाट देश बाहिर निस्कन समस्या हुन्छ, एकदिन ढिलो हुँदा मौद्रिक नीतिको समिक्षामा असर गर्ला, नयाँ बनाउनु पर्ने छ, समग्र अर्थतन्त्र चलायमान बनाउन राष्ट्र बैंकको नेतृत्व ढिलो हुँदा असर गर्छ, गैरजिम्मेवार छ राज्य सत्ता,’ उनले भने ।