
काठमाडौं । गत फागुन २७ मा भुटानको ड्रुक एयरलाइन्सबाट परीक्षण उडान गरेको बीबी एयरवेजले नियमति उडानका लागि ल्याउन जहाज अझै फेला पारेको छैन । १२ वर्षदेखि जहाज खोज्दै गरेको यो एयरलाइन्सले पछिल्लो समय एक वर्षभित्र जहाज ल्याएर उडान गर्ने गरी अनुमति पाएको थियो ।
उक्त अनुमतिको समय सकिँनै लाग्दा अन्तिम दिन भुटानी वायुसेवाबाट काठमाडौं पारो परीक्षण उडान गरेको बीबी एयरवेजले नियमित उडानका लागि जहाज ल्याउने बारे भने कुनै टुंगो लागेको छैन् । अनुमति पाएको समयसीमाभित्र जहाज ल्याउन नसकेका कारण यसको अन्तर्राष्ट्रिय उडानको योजना फेरि असफल भएको छ ।
बीबी एयरवेजका एकाउन्टेवल म्यानेजर सुरेशमान सिंहले जहाज खोजी गरेर ल्याउने काम जारी रहेको बताए । अहिलेसम्म जहाज नपाएकोले भुटानी वायुसेवाबाट डेमोस्टेसन फ्लाइट गरेर परीक्षण उडानको प्रक्रिया पूरा गरेको सिंहले बताए ।
उनका अनुसार बीबीले ल्याउने भनेको जहाजअझै नपाएकोले कहिले आउँछ र नियमित उडान गर्छ भने अहिले नै भन्न सकिँदैन। तर, बीबीले जहाज ल्याउने प्रयास गरिरहेकाले छिट्टै यसको औपचारिक जानकारी दिने उनको भनाइ छ ।
बीबीले भाडामा जहाज ल्याएर परीक्षण उडान गरेको भए पनि यसले नियमित उडानको अनुमति पाउने अवस्था भने अझै नबनाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । उनल भने, ‘जहाज उडाउछु भन्ने कम्पनीले पहिले जहाज ल्याउनुपर्छ । जबसम्म जहाज ल्याउँदैन तबसम्म यसको उडान अवस्था कस्तो हुन्छ भनेर भन्न सकिँदैन्।’
बीबीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले वर्ष एयरवसका ३ वटा न्यारोबडी ल्याउन दिएको नो नब्जेक्सन सर्टिफिकेट (एनओसी)को समय दिएको थियो । प्राधिकरणले गत वर्ष १२ मार्चमा (फागनु २९ मा) बीबी एयरवेजलाई जहाज ल्याउन अनुमति दिएको थियो । उक्त अनुमति २७ फागुनबाट सकिएपछि फेरि अर्को अनुमति बनाउने दौडधूपमा बीबी एयरवेज छ ।
गैरआवासीय नेपाली भवन भट्टको यो वायुसेवाले पटक पटक जहाज उडानको तयारी गरेको भए पनि अहिलेसम्म यसको योजनाले सार्थकता पाउन सकेको छैन् । बीबीले नो अब्जेक्सनको समयसीमा घर्काएकोले अब फेरि नयाँ प्रक्रियाबाट जानुपर्ने भएको छ । बीबीले भने तीनवटा न्यारोबडी जहाजको खोजी गरिरहेको छ ।
यसअघि आफैंले जहाज खरिद नगरी भाडामा ल्याउँदा डुबेको बीबी एयरवेजले १२ वर्षपछि फेरि उडान सुरु गर्न जहाज खोज्दा पनि भाडाकैलाई बढी जोड दिएको छ । यसले अहिले बजारमा खोजेजस्तो जहाज नपाएको र एयरवसको ३२० प्रकृतिको जहाज नभेट्टाएको कारण विभिन्न कम्पनीसँग भाडामा ल्याउने विषयमा कुराकानी भने नरोकेको दाबी गरिरहेको छ ।
बीबीले न्यूनतम तीनवटा जहाज राखेर उडान गर्ने गरी यसअघि नै नेपाल नागरिक उड्डयन प्राधिकरणबाट एनओसी लिएको हो ।
यसअघि सन् २०१२ मा कम्बोडियाको टोन्ले साप कम्पनीबाट लिज पर्चेचमा एउटा जहाज ल्याएर यो वायुसेवाले १२ वर्ष अगाडि नै काठमाडौंबाट मलेसिया उडान सुरु गरेको थियो ।
यो वायुसेवाले त्यतिबेला भाडामा ल्याएको जहाज भाडा तिर्न नसकेपछि फिर्ता गएको थियो । त्यसपछि थप ल्याउन नसक्दा र आफैंले किनेको जहाज नहुँदा अहिलेसम्म उडान गर्न सकेको छैन ।
हवाई उड्डयन क्षेत्रका जानकाहरुका अनुसार बीबीले लगानी गर्न नसकेको र उपयुक्त योजना बनाएर काम गर्न नसक्दा पटक पटक असफल भएको देखिएको छ ।








प्रतिक्रिया