३ अर्बको अनलाइन जुवा र क्रिप्टो कारोबार गर्ने ११ भारतीय बूढानीलकण्ठबाट पक्राउ

959
Shares

काठमाडौं । प्रहरीले २ अर्ब ९६ लाख रुपैयाँभन्दा बढी रकमको अनलाइन जुवा (सट्टाबाजी) खेलाउने तथा अभौतिक मुद्राको कारोबार गर्ने ११ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले २ अर्ब ९६ लाख रुपैयाँको अवैध कारोबार गर्ने ११ जना भारतीयलाई बूढानीलकण्ठ नगरपालिका- ३ देउला टोलबाट पक्राउ गरेको छ ।

परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार चैत १२ गते साँझ सवा ५ बजे परिसरको टोलीले देउला टोलस्थित घर भाडामा लिएर अनलाइन जुवा खेलाउने ११ जनालाई पक्राउ गरेको हो ।

अनलाइन जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्दा ११ जनाबाट २ अर्ब रुपैयाँभन्दा बढी रकमको कारोबार हुनेगरी अनलाइन जुवा (सट्टेबाजी) खेल्ने/खेलाउने गरेको पाइएको छ ।

यस्तै ९६ लाख ३३ हजार भन्दा बढी रकम बराबरको अभौतिक मुद्रा(क्रिप्टो) को कारोबार गरेको देखिएको छ । ११ जनालाई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको बोहराले बताए ।

पक्राउ पर्नेमा भारतको राजस्थान प्रदेश जयपुर जिल्ला घर भई हाल देउला टोल बस्ने २४ वर्षीय सनी मिणा, सोही स्थानका २५ बर्षीय मोहित वर्मा, राजस्थान शिक्कर जिल्लाका २६ बर्षीय पिउस भारद्वाज, राजस्थान जयपुरका २५ बर्षीय हरकेश डडैया, सोही स्थानका २२ वर्षीय निशांत भारद्वाज, सोही स्थानका २३ वर्षीय आकाश वर्मा, सोही स्थानका १९ वर्षीय अंकित कुमार सैनी, सोही स्थानका २३ वर्षीय सन्जु शाकला,सोही स्थानका २८ वर्षीय रामसिंह जाठ, सोही स्थानका १९ वर्षीय लोकेश कुमार र सोही स्थानका १९ वर्षीय विकाश कुमार रहेका छन् ।

उनीहरुको साथबाट विभिन्न कम्पनीको मोवाईल फोन ३४ थान, विभिन्न कम्पनीको ल्यापटप ५ थान, हिसाबकिताबको अभिलेख राखिएको नोट बुक (कापी) ४ थान, भारतीय बैंक खाताको चेक बुक १४ थान, भारतीय एटिएम कार्ड २७ थान र भारतीय सिमकार्ड ४० थान बरामद गरिएको छ ।