पोखरा एयरपोर्टलाई चिनियाँ ऋण तिर्न समस्या, वर्षको १ अर्ब अनिवार्य तिर्नुपर्नेमा ३६ करोड मात्रै आम्दानी


काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको दुई वर्ष बितिस्क्दासमेत यसले आम्दानी गर्न नसक्दा वैदेशिक ऋण भुक्तानीमा समस्या भएको छ । यो विमानस्थल चिनियाँ ऋण सहयोगमा निर्माण भएको राष्ट्रिय गौरवको आयोजना हो ।

सरकारले चीनसँग २० अर्ब रुपैयाँ ऋण लिएर बनाएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको २ वर्षसम्म आन्तरिकमै सीमित छ । यो विमानस्थलबाट नियमित रूपमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन भने चार्टर उडान पनि न्यून मात्रै छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा सरकारले उच्च प्राथमिकता दिएर निर्माण सम्पन्न गरेको यो विमानस्थल पूर्वाधारको अहिलेसम्म न्यून आम्दानी छ । अन्तर्राष्ट्रिय विमानस्थल भए पनि आन्तरिक मात्रै सञ्चालनमा छ । अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन नसकेको कारण यसको आम्दानीभन्दा खर्च अधिक छ ।

पोखरा आन्तरिक विमानस्थलले पछिल्लो दुई वर्षमा ७२ करोड अर्थात वार्षिक ३६ करोड रुपैयाँ मात्रै आम्दानी गरेको छ । यो अम्दानीका लागि दुई वर्षमा १९ लाख यात्रुलाई सेवा दिएको छ । आन्तरिक उडानमा यात्रु सेवा अपेक्षाअनुसार नै बढाउन सकेको भए पनि विमानस्थल सञ्चालनमा भएको अधिक खर्चले ऋण दायित्वको व्यवस्थापनमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सकस भइरहेको छ ।

उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार पोखरा विमानस्थलको लागि हालसम्म ९४ करोड ४५ लाख रुपैयाँ मात्रै म्यानेजमेन्ट शुल्क ३ करोड २७ लाख २९ हजारसहित वर्षको २/२ पटक ब्याज र प्रतिवद्धता शुल्क ५ वर्षसम्म तिरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिरकरणले आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्म शुल्क तिरेको प्राधिकरण स्रोतले क्लिकमाण्डुलाई उपलब्ध एक विवरणमा उल्लेख छ । यस्तो विवरणमा २०७४ साउन २० मा एक पटक म्यानेजमेन्ट शुल्क तिरेको छ । त्यसपछि उक्त समयको विदेशी मुद्रा सटहीको दर अनुसार २०७९/८० सम्म हरेका ६ महिनामा व्याज र प्रतिवद्धता शुल्क बुझाएको छ । यस्तो शुल्क गत आर्थिक वर्ष २०८०/८१ मा नतिरेका कारण उपलब्ध नभएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार विमानस्थलले आम्दानी गर्न नसकेका कारण ऋण तिर्न समस्या भएको छ । ऋणको दायित्व मासिक १ अर्ब रुपैयाँ भए पनि यसले गरेको आम्दानी भने निकै न्यून छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकारले १ खर्ब १७ करोड ९लाख ९६ हजार ३५० आरएमबी (चिनियाँ मुद्रा) अर्थात २० अर्ब १२ करोड ७५ लाख १२ हजार ३०१ रुपैयाँ ऋण लिएको छ । यो ऋणको साँवा र व्याज गरेर हरेक ६ महिनामा ५ करोड ३० लाख २८ हजार ४६१ चिनियाँ युआन २६ किस्तासम्म नियमित बुझाउनुपर्छ । यस्तो किस्ता २०७९ देखि हरेक वर्ष चैत १ र असोज १ मा बिसं २०९२ सम्म तिर्नुपर्ने छ ।

सरकारले सहुलियत ऋणमा चीनबाट ऋण लिएको भए पनि प्राधिकरणले भने वार्षिक ५ प्रतिशतको व्याजदरमा सरकारलाई बुझानुपर्छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २ वर्ष अगाडि २०७९ पुस १७ मा औपचारिक रुपमा उद्घाटन भएको हो । त्यसपछि यो विमानस्थलमा सन् २०२४ मा जम्मा ४ वटा उडानबाट ३६७ यात्रुले सेवा लिएका छन् भने २०२३ मा ७ उडानबाट जम्मा २९६ यात्रुले मात्रै सेवा पाएका थिए ।

पोखरा विमानस्थलको आम्दानी पछिल्लो १० वर्षमा ७० करोड थियो भने पोखरा विमानस्थल भएको २ वर्षमै ७२ करोड भएको छ । पोखरा विमानस्थबाट १० वर्षमा ४९ लाख यात्रुले सेवा लिएका छन् भने अन्तर्राष्ट्रिय भए पनि बढेको सेवा सुविधाले आन्तरिक विमानस्थलबाट २ वर्षमै १९ लाख यात्रुले सेवा लिएको पनि पोखरा विमानस्थल कार्यालयले क्लिकमान्डुलाई उपलब्ध गराएको तथ्यांकमा उपलब्ध छ ।