बढ्न थाल्यो रेमिट्यान्स, माघमै भित्रियो १ खर्ब ३७ अर्ब रुपैयाँ

84
Shares

काठमाडौं । देशमा विप्रेषण भित्रिने क्रम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार माघ महिनामै मात्र १ खर्ब ३७ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको हो ।

पुस महिनासम्म मासिक औसत १ खर्ब २७ अर्ब रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएकामा माघमा औसतभन्दा १० अर्ब बढी रेमिट्यान्स आएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आवको यही अवधिको तुलनामा रेमिट्यान्स ७.३ प्रतिशतले वृद्धि भएको हो । ७ महिनामा ९ खर्ब ५८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.३ प्रतिशतले वृद्धि भई ६ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७४ हजार ६२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९० हजार ८८६ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ४५ हजा ४३२ र १ लाख ५७ हजार ४५ रहेको थियो ।

पुससम्म ७ खर्ब ६३ अर्ब ८ करोड रुपैयाँ बराबरको रेमिट्यान्स देश आएको थियो । अमेरिकी डलरमा हिसाब गर्दा ५ अर्ब ५८ करोड डलर रेमिट्यान्स आएको हो ।