विदेशी मुद्रा सञ्चिति १७ अर्ब डलर नाघ्यो, रिजर्भ बढ्ने क्रम सुस्तायो

301
Shares

काठमाडौं । विदेशी मुद्रा सञ्चिति १७ अर्ब डलर नाघेको छ । गत असार मसान्तसम्म १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको विदेशी मुद्रा सञ्चिति माघ मसान्तमा १७ अर्ब ५ करोड रुपैयाँ पुगेको हो ।

डलर सञ्चितिको वृद्धिदर ११.७ प्रतिशत रहेको छ । नेपाली रुपैयाँमा भने यस्तो मुद्रा सञ्चिति २३ खर्ब ६९ अर्ब ८ करोड रुपैयाँ कायम भएको छ । जुन असार मसान्तसम्मको २० खर्ब ४१ अर्ब १० करोडभन्दा १६.१ प्रतिशत बढी हो ।

यस अवधिमा नेपाली मुद्रा अबमूल्यन भएका कारण नेपाली मुद्रामा सञ्चितिको वृद्धिदर उच्च देखिए तापनि डलरमा कम देखिएको हो ।

पुसको तुलनामा माघमा २१ करोड डलरले बढेको हो भने नेपाली रुपैयाँमा ५३ अर्बले विस्तार भएको हो ।

पुससम्म मासिक औसत २६ करोडको दरले विदेशी मुद्रा सञ्चिति विस्तार भएकामा माघमा बढ्ने गतिमा ब्रेक लागेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २१ खर्ब ५ अर्ब १४ करोड पुगेको छ भने बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २ खर्ब ६३ अर्ब ९३ करोड कायम भएको छ ।

२०८१ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत रहेको छ । पुसमा यस्तो अंश २४.३ प्रतिशत थियो ।

आर्थिक वर्ष २०८१/८२ को सात महिनाको आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ माघ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ४१.५ प्रतिशत, १२०.३ प्रतिशत र ३२.५ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।