ईभी बिमाको जोखिम विश्लेषण गर्दै प्राधिकरणः नयाँ निर्देशिका ल्याउँदै, बढ्ला त प्रिमियम ?

672
Shares

काठमाडौं । बिमा क्षेत्रको नियामक निकाय नेपाल बिमा प्राधिकरणले विद्युतीय सवारी साधन (ईभी) सम्बन्धी नयाँ निर्देशिका ल्याउने भएको छ । त्यसका लागि प्राधिकरणले आफूले अध्ययन गर्नुका साथै सरोकारवाला पक्षसँग राय समेत मागेको छ ।

ईभीको बढ्दो प्रयोगसँगै ईभी बिमाको जोखिम विश्लेषण गरी जोखिमका आधारमा नयाँ प्रिमियम निर्धारण गरिने प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

‘हामी अहिले ईभीको जोखिम विश्लेषण गरिरहेका छौं, जोखिम बढी देखियो भने जोखिमका आधारमा बिमा कम्पनीले लिने प्रिमियम पनि बढाउनु पर्ने हुन्छ,’ प्राधिकरण उच्च स्रोतले क्लिकमान्डुसँग भन्यो ।

साथै, ईभीको दाबी भुक्तानीलाई सहज बनाउने पनि नयाँ निर्देशिकाको लक्ष्य रहने ती अधिकारीले बताए ।

प्राधिकरणले ईभी सम्बन्धी निर्देशिका ल्याउनका लागि करिब डेढ वर्षअघि नै अध्ययनसमेत गरिसकेको थियो । त्यो समयमा ईभी आयात गर्ने व्यवसायी, बैकल्पिक ऊर्जा प्रबर्धन केन्द्रसँग ईभीका प्राविधिक विषयमा छलफलसमेत भएको थियो । त्यसपछि उक्त निर्देशिकाका विषयमा प्राधिकरणले कुनै काम नै गरेको थिएन ।

पछिल्ला महिनाहरुमा ईभीमा धेरै माग दाबी पर्न थालेको र अहिले भएको व्यवस्थाले धान्न नसकेपछि नयाँ निर्देशिका ल्याउन लागिएको प्राधिकरणले जनाएको छ ।

बिमा कम्पनीहरुले पनि दुर्घटनामा ईभीको क्षति बढी भएको भन्दै अहिलेको प्रिमियम नबढाउने हो भने बिमा गर्न नसक्ने बताउँदै आएका छन् । कम्पनीहरुले ईभीमा जोखिम बढी भएको भन्दै प्रिमियब बढाउन तीब्र लबिइङ गरिरहेका छन् ।

‘हाम्रो प्रारम्भिक विश्लेषण अनुसार ईभीमा प्रिमियदर बढ्ने देखिन्छ,’ प्राधिकरण स्रोतले भन्यो ।

विश्व बजारमा पेट्रोलियम गाडीको तुलनामा ईभीको प्रिमियमदर औषतमा ३५ देखि ४० प्रतिशत धेरै हुने गरेको छ । तर, नेपालमा भने पेट्रोलियम र ईभीको प्रिमियम दर एउटै छ ।

प्राधिकरणले निर्देशिका बनाइरहँदा क्षति कति भएको छ ? भविष्यमा कस्ता अवस्था आउनेछन् भन्ने विषय आँकलन र योसँग सम्बन्धित अन्य विषयमा गहन अध्ययन गरेर प्रिमियम कायम गर्ने तयारी गरेको छ । यसका लागि सर्भेयर, नेपाल बिमक संघले लगायतले पठाएको सुुझावपछि प्रिमियम तय हुने बताइएको छ ।

निर्देशिकाले प्रिमियदरका साथै दाबी भुक्तानीको विषयलाई पनि प्रष्ट्याउने भएको प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले बताए ।

प्राधिकरणले ल्याउने निर्देशिकामा प्रिमियमदर कायम गर्दा ईभीको ब्याट्रीको वारेन्टी पनि हेरिने सम्भावना रहेको बताइएको छ ।

प्राधिकरणले बिमकसँग पनि सुुझाव मागेको छ । ईभीमा दाबी धेरै आउन थालेपछि प्रिमियद दर बढाउनुपर्ने निर्जीबन बिमा कम्पनीहरुको माग छ । अहिलेको प्रिमियदर कम भएपछि बिमा कम्पनीहरुले जोखिम र दाबीको अवस्था हेरेर प्रिमियम दर बढाउनुपर्ने माग गरेका छन् । त्यसका प्राधिकरण पनि सहमत देखिएको छ । तर, कति भन्ने यकिन हुन सकेको छैन ।

असोज १० र ११ गते आएको बाढीले ईभीमा धेरै क्षति पुुगेको थियो । ब्याट्री पानीमा डुुबेपछि प्रायजसो ड्यामेज हुने गरेको पाइएको छ । पानीमा गाडी डुबेपछि ब्याट्री, बोर्ड, बोटर र सेन्सरमा क्षति हुने गरेको देखिएको छ ।

‘अब बन्ने निर्देशिकामा यी पार्टीहरुमा क्षति हुँदा कति दाबी भुक्तानी गर्न सकिन्छ भनेर स्पष्ट गर्ने सम्भावना छ’ प्राधिकरणका एक उच्च अधिकारीले भने ‘डिस्पोजदेखि मेन्टिनेन्सम्म समस्या हुने भएर ब्यार्टीको दाबी बढी हुनसक्छ ।’

केहीदिन अघिमात्रै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै ईभी खरिदकर्ताले बैंकबाट मूल्यको ८० प्रतिशतसम्म कर्जा सुविधा पाउने गरेकोमा ईभीको कर्जामा जोखिम बढेको भन्दै त्यसलाई घटाएर ६० प्रतिशतमा झारेको छ ।