
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषका लागि सम्पत्ति शुद्धिकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन जारी गरेको छ ।
राष्ट्र बैंकले ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धमा ग्राहकको पहिचान तथा सोको सम्पुष्टि गर्दा संस्थाले ऐनको दफा ७ क र नियमावलीको नियम ४ तथा नियम ५ बमोजिम ग्राहकको पहिचान तथा सोको सम्पुष्टि गर्नुपर्ने निर्देशन जारी गरिएको छ ।
ग्राहकको नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचको आधारमा संस्थाले नियमावलीको नियम ३ बमोजिम ग्राहकको पहिचान तथा सम्पुष्टि गर्न सक्ने निर्देशनमा उल्लेख छ ।
ऐनको परिच्छेद ६ख बमोजिम प्रकाशन गरिएको सूची तथा नियमावलीको नियम ६९ बमोजिम गृह मन्त्रालयले विभिन्न माध्यमबाट उपलब्ध गराएको व्यक्ति, समूह वा संगठनको सूची वा सो सँग सम्बद्ध कुनै व्यक्ति, समूह वा संगठनसँग आफ्नो कारोबार भए नभएको नियमित रुपमा यकीन गरी आदेशानुसारको कार्य गर्नु पर्नेछ उल्लेख छ ।
सूचीकृत व्यक्ति, समूह वा संगठन वा सोसँग सम्बद्ध व्यक्तिको खाता वा अन्य कुनै रकम संस्थासँग रहेको भएमा तत्काल रोक्का राखी नियमावलीको अनुसूची १० बमोजिमको ढाँचामा यस बैंकको सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखालाई ३ दिनभित्र जानकारी गराउनुपर्नेछ र सोको एक प्रति वित्तीय जानकारी इकाईलाई समेत उपलब्ध गराउनुपर्ने उल्लेख छ ।
संस्थाले व्यवस्थापकीय तहको अनुपालना अधिकारी प्रमुख रहने गरी एक अलग्गै एएमएल/सीएफटी विभाग/इकाई खडा गर्नु पर्नेछ । कार्यान्वयन अधिकारीको नियुक्ति तथा शंकास्पद कारोबार प्रतिवेदन पठाउने सम्बन्धमा देहायबमोजिमको व्यवस्था गर्नुपर्नेछ । संस्थाले कार्यान्वयन अधिकारी नियुक्ति गर्दा सम्बन्धित नियमनकारी निकायका पदाधिकारी वा उच्च व्यवस्थापनका कर्मचारीको एकाघर परिवार वा नजिकको नातेदार नरहेको यकीन गर्नुपर्नेछ ।
संस्थाले शङ्कास्पद कारोबारको प्रतिवेदन पठाउँदा त्यस्तो संस्थाको कार्यान्वयन अधिकारीको एकाघर परिवार वा नजिकको नातेदार को विवरण पठाउनुपर्ने भएमा निज बाहेक अन्य अधिकारीबाट प्रतिवेदन पठाउने व्यवस्था मिलाउनुपर्नेछ ।
प्रतिक्रिया