यी ५७ नयाँ हिमाल आरोहणका लागि खुला (सूचीसहित)

यसअघि खुलेका ६८ हिमालमा मानव पाइला परेन


काठमाडौं । सरकारले ५७ वटा नयाँ हिमाल आरोहणका लागि खुला गरेको छ । हिमालको सूची सार्वजनिक गर्दै पर्यटन विभागले नयाँ हिमाल आरोहणका लागि खुला भएको जानकारी दिएको छ ।

विभागले पर्वतारोहण सम्बन्धी नियमावली २०५९ को नियम २ (क) को उपनियम (१) बमोजिम पर्वतारोहणका लागि ५८ सय मिटरदेखि ६८ सय मिटरसम्मका हिमाल आरोहणका लागि खुला गरेको हो ।

पर्यटन विभागले पर्यटन व्यवसायी र नेपाल पर्वतारोहण संघको सहकार्यमा नयाँ हिमाल खुला गरेको जानकारी दिएको छ ।विभागका अनुसार पर्यटन प्रवर्द्धन, गर्न विदेशी आकर्षित गर्न र व्यवसायीले नयाँ प्याकेज बिक्री गर्न ती हिमाल आरोहणका लागि खुला भएको हो ।

पर्यटन विभागले पूर्व ताप्लेजुङदेखि पश्चिम डोल्पा र हुम्लासम्मका विभिन्न हिमालचुली आरोहणका लागि खुला गरेको हो ।

आरोहणयोग्य हिमाल क्रमशः खुला गर्दै जाने सरकारको नीति बमोजिम नयाँ हिमाल आरोहण खुला भएको विभागले जानकारी दिएको छ । विभागका अनुसार सरकारले गत आर्थिक वर्ष २०८०/८१ को बजेटबाटै आरोहणयोग्य हिमाल क्रमशः खुला गरिँदै जाने उल्लेख गरेको थियो ।

गत वर्षको बजेटको बुँदा नम्बर ७० मा सरकारले नयाँ हिमाल खुला गर्दै जाने उल्लेख गरे बमोजिम तयारी गर्दै हिमाल खुला गर्दा चालु आव २०८१/८१ मा मात्रै सूचना सार्वजनिक भएको उल्लेख छ ।

४७६ हिमाल आरोहणका लागि खुला

सरकारले नयाँ हिमाल आरोहणका लागि खुला गरेसँगै आरोहण गर्न पाइने हिमालको संख्या ४७६ वटा पुगेको छ । यस अघि ४ सय १९ हिमाल चुचुरो आरोहणका लागि खुला भएकोमा अब ७५ वटा थपिएका छन् । यी हिमालमा सर्वोच्च शिखर सगरमाथासहित ८ हजार मिटर माथिका हिमालसमेत छन् ।

सरकारले नयाँ हिमाल खुला गर्दै गएको भए पनि हालसम्म ६८ हिमचुलीमा मानव पाइला नपरेको पर्यटन विभागले सार्वजनिक गरेको हिमाल आरोणहको तथ्यांकले देखाएको छ ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पाले सरकारसँग सहकार्य भएरै नयाँ हिमाल खुला भएकोले अब आरोहणका लागि पर्यटक पुर्याउने विषयमा पनि सहकार्य जरुरी भएको बताए ।

शेर्पाले क्लिकमान्डुसँग भने, ‘आरोहण खुला भएर मात्रै हुँदैन्, त्यसको प्रवर्द्धन गर्नुपर्ने र पर्यटक आकर्षित गर्ने गरी प्याकेज बनाउनुपर्ने हुन्छ । त्यसका लागि सरकारले एनएमएलाई जिम्मा दिएको अवस्थामा हामी त्यसको व्यवस्थापन गर्न तयार छौं ।’ शेर्पाल मानव पाइल नपरेको र प्रवर्द्धन हुन नसकेका हिमाल एनएमएलाई दिए पर्यटक आकर्षित गराउने गरी काम गर्न सक्ने पनि बताए ।