काठमाडौं । इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डित र इजरायलका राष्ट्रपति महामहिम इसाक हेर्जोगबीच टेलिफोन वार्ता भएको छ ।
वार्ताका क्रममा इजरायली राष्ट्रपतिले २०२३ अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइ र स्वदेश फिर्तीका लागि इजरायली सरकारले हरसम्भव प्रयास गरिरहेको जानकारी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
माघ १९ गते प्यालेस्टिनी समूह हमासले थप तीनजना बन्धक रिहा गरेको थियो । उनीहरूमध्ये दुई जनालाई दक्षिणी गाजाको खान युनिस र एक जनालाई गाजासिटीबाट रिहा गरिएको हो ।
तीनै जनालाई गत जनवरी १९ मा इजरायल र हमासबीच भएको युद्धविराम सम्झौता अनुसार रिहा गरिएको हो । त्यसको बदलामा इजरायलले १ सय ८३ जना प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ । इजरायलले शनिवार छाड्ने ७० जना आजिवन वा लामो अवधिको कारावास सजाय तोकिएका व्यक्तिहरू भएको जनाइएको छ । दुई पक्षबीच सम्झौता भएयता शनिबार चौथो चरणमा बन्धकहरू छाडिएको हो ।
हमासले ६ साता लामो युद्धविरामको पहिलो चरणमा ३३ जना बन्धकहरू रिहा गर्ने सम्झौतामा उल्लेख छ । त्यसको बदलामा इजरायली जेलमा रहेका करिब १९ सय प्यालेस्टिनी बन्दीहरू रिहा हुनेछन् ।
तर, नेपाली विद्यार्थी विपिन जोशी कहिले रिहाइ हुन्छन् भन्नेबारे हमासले केही उल्लेख गरेको छैन ।
प्रतिक्रिया