
काठमाडौं । राहदानी छपाइमा भ्रष्टाचार गरेको आरोपमा राहदानी विभागका महानिर्देशक तिर्थराज अर्याल र निर्देशक सुनील कुमार केसीलाई ४ दिन थुनामा राख्न विशेष अदालतले अनुमति दिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूमाथि अनुसन्धान गर्न म्याद थपका लागि दिएको निवेदनमाथि सुनुवाइ गर्दै विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले सोमबार सो अनुमति दिएको हो ।
उनीहरूमाथि राहदानी छपाइमा अनियमितता गरेको कसुरमा अनुसन्धान अघि बढाइने जनाइएको छ ।
राहदानी छपाइका लागि टेण्डर पाएको पुरानो कम्पनीसँग सम्झौता अवधि सकिएसँगै अहिले दुईवटा जर्मन कम्पनी भेरिडोस र मुलबरले राहदानी छपाइको टेण्डर पाएको र सोही खरिद प्रक्रिया प्रकरणमा छानबिनका लागि महानिर्देशक पक्राउ परेको जनाइएको छ ।
२०८२ साउनमा राहदानी विभाग र जर्मन कम्पनी भेरिडोसबीच राहदानी छपाइसम्बन्धी सम्झौता भएको थियो । विभागका महानिर्देशक अर्याल र भेरिडोसका प्रतिनिधिबीच राहदानी छपाइसम्बन्धी सम्झौता भएको थियो ।
सम्झौता भएसँगै भेरिडोसले आगामी पाँच वर्षभित्र ६४ लाख प्रति राहदानी छपाइ गर्ने जिम्मेवारी पाएको छ । राहदानी विभागले साउन ६ मा भेरिडोसलाई राहदानी छाप्ने जिम्मा दिने निर्णय गरेको थियो ।
राहदानी छपाइका लागि भेरिडोसले ६ अर्ब ११ करोड ३८ लाख रुपैयाँमा कबोल गरेको थियो ।











प्रतिक्रिया