
काठमाडौं । सरकारले वर्षायाममा सडक बिग्रने र मर्मत गर्न कठिन हुने भन्दै आगामी तीन महिनासम्म सडक खन्न रोक लगाएको छ ।
सडक विभाग अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंले सार्वजनिक सूचना जारी गर्दै असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्ने स्वीकृति नदिने स्पष्ट पारेको हो ।
कार्यालयका अनुसार वर्षाको समयमा धारा, ढल, बिजुली, टेलिफोन जस्ता प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत गरी यथास्थितिमा ल्याउन सकिँदैन । यसले गर्दा सडक झन् भत्किँदै जाने र आवागमनमा ठूलो बाधा पुग्ने भएकाले यस्तो निर्णय लिइएको हो ।
यो नियम संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंको मातहतमा रहेका सबै सडक डिभिजनहरूमा लागु हुनेछ । कार्यालयले आफ्ना मातहतका डिभिजनहरूलाई यस अवधिमा सडक खन्ने कुनै पनि नयाँ अनुमति नदिन निर्देशन समेत दिएको छ ।
यदि कसैले सरकारी अनुमति बिना वा अटेर गरी सडक खनेको पाइएमा ‘सार्वजनिक सडक ऐन, २०३१’ अनुसार कडा कारबाही गरिने चेतावनी सूचनामा दिइएको छ । कार्यालयले सडकको संरक्षण र सर्वसाधारणको सहज यात्राका लागि यो कार्यमा सबैको सहयोगको अपेक्षा गरेको छ ।
हरेक वर्ष मनसुनको समयमा सडकको दुरावस्था हुने र जथाभाबी खनिएका खाल्डाका कारण दुर्घटना बढ्ने हुनाले सरकारले यस्तो कदम चाल्दै आएको छ ।











प्रतिक्रिया