काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायिक वातावरण निर्माणको लागि सरकारको उच्च प्राथमिकता र प्रतिवद्धता भएको अनुभुति निजी क्षेत्रले गरेको बताएका छन् ।
सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको राजस्व चुहावट नियन्त्रण र भिसिटिएस सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ढकालले वर्तमान सरकारले अध्यादेशमार्फत दुई दर्जन बढी कानूनमा एकै पटक गरेको संशोधनले सरकार सकारात्मक व्यवसायिक वातावरण निर्माणको लागि उच्च प्राथमिकता र प्रतिवद्धता सरकारमा रहेको अनुभुति निजी क्षेत्रले गरेको उल्लेख गरे ।
सरकारले आर्थिक तथा लगानीको वातावरण सुधार र लगानी अभिवृद्धिका लागि अध्यादेश जारी गर्नु निजी क्षेत्रले स्वागत गरेको बताए ।
सरकारले अध्यादेशमार्फत संशोधन भएका कानूनहरुको नीति र कार्यविधि तत्काल बनाएर कार्यान्वयन गर्न जरुरी रहेको बताए।
सरकारले नीति क्षेत्रको लगानीलाई प्रोत्साहन गर्न नसके निजी क्षेत्रले काम गर्ने वातावरण नबन्ने र परिणाम पनि राम्रो नआउने उल्लेख गरे । उनले पछिल्लो समयमा मुलुकको अर्थतन्त्र चलायमान हुने संकेतहरु देखिएको दाबी गरे ।
उनले अर्थतन्त्रका वाह्य र आन्तरिक सूचकहरु सकारात्मक लयमा आएको देखिएको बताए ।
गत वर्षको तुलनामा आयात ७.१ प्रतिशत र निर्यात ३१.८ प्रतिशत र निक्षेप ३.७ प्रतिशत र निजी क्षेत्रमा लगानी कर्जा ५.३ प्रतिशत,राजस्व संकलन १२.७ र खर्चमा १७.८ प्रतिशतले वृद्धिले बजार चलायमान भएको प्रारम्भिक संकेत देखिएको उनले उल्लेख गरे ।
उद्योगमैत्री वातावरण निर्माणको निम्ति सबै निकायहरुको सामूहिक समन्वय र सहकार्यको आवश्यकता रहेको ढकालले बताए ।
नियमनकारी निकाय राजस्व अनुसन्धान विभागको भुमिका सन्तुलित र समन्वयकारी हुनुपर्ने महासंघको धारणा रहेको उल्लेख गरे । उनले सरकारको भूमिका अर्थतन्त्र चलायमान बनाउने तर्फ लक्षित हुनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया