ट्रम्पद्वारा मेक्सिको र क्यानडामाथिको थप कर एक महिनाका लागि किन गरे स्थगित ?


एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्यानडा र मेक्सिकोमाथि लगाउने भनेको आयात शुल्कको कार्यान्वयन ३० दिन पछि सार्न सहमत भएका छन् । उनको यो निर्णय क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनाबाउमसँगको टेलिफोन वार्तापछि भएको बीबीसीले जनाएको छ ।

ट्रुडोले ट्रम्पसँगको वार्तामा आप्रवासन नियन्त्रण र फेन्टनिल (औषधि) को तस्करी रोक्न अमेरिकी सीमामा कडाइ गर्ने सहमति जनाएका थिए । उनले यसअघि नै १.३ अर्ब डलर लगानी गरेर सीमा सुरक्षा बढाउने योजना सार्वजनिक गरेका थिए । जसमा हेलिकोप्टर, प्रविधि र जनशक्ति थप्ने ब्यवस्था समावेश छ।

यसबाहेक, क्यानडाले फेन्टनिल तस्करी रोक्न ‘फेन्टनिल जार’ नियुक्त गर्ने र आपराधिक गिरोहहरूलाई आतङ्कवादीको सूचीमा राख्ने निर्णय गरेको छ।

मेक्सिकोसँग भएको वार्तामा पनि सेनाबाउमले अमेरिकी सीमामा थप १० हजार सैनिक तैनाथ गरी फेन्टनिल तस्करी रोक्ने प्रतिबद्धता जनाएकी थिइन् । यसको बदलामा अमेरिकाले मेक्सिकोमा बन्दुकहरूको प्रवाह सीमित गर्ने र आयात शुल्क एक महिना स्थगित गर्ने सहमति जनाएको थियो ।

ट्रम्पले यी सहमतिहरूलाई आफ्नो सीमा सुरक्षा बढाउने रणनीतिको प्रारम्भिक सफलता बताएका छन् । उनले क्यानडा र मेक्सिकोसँग नयाँ आर्थिक सम्झौताको सम्भावनाको पनि जिकिर गरेका छन् । यसबीच, चीनमाथि लगाइने १० प्रतिशत आयात शुल्क मंगलबार मध्यरातबाट लागू हुने अपेक्षा छ । ट्रम्पले यसलाई ‘सुरुवाती’ भनेर सम्झौता नभएको खण्डमा यो बढ्न सक्ने संकेत दिएका छन् ।

विश्लेषकहरूले यो व्यापार विवादले विश्वव्यापी आर्थिक अनिश्चितता बढाउने आशंका व्यक्त गरेका छन् । क्यानडा र मेक्सिकोका व्यापारीहरूले अमेरिकी बजारमा निर्भरता कम गर्ने र नयाँ उद्योग स्थापनामा ढिलाइ गर्न सक्ने बताइएको छ ।