अमेरिकाको बमवर्षक विमान दुर्घटनाग्रस्त, ८ जनाको मृत्यु


एजेन्सी । सोमबार बिहान अमेरिकाको क्यालिफोर्नियास्थित एडवर्ड्स एयरफोर्स बेसमा अमेरिकी वायुसेनाको बी–५२ स्ट्राटोफोट्र्रेस विमान दुर्घटना हुँदा जहाजमा सवार सबै आठजनाको मृत्यु भएको छ । उडान भरेको केही बेरमै विमान भुइँमा बजारिएर दुर्घटनाग्रस्त भएको थियो ।

एडवर्ड्स एयरफोर्स बेसले जारी गरेको विज्ञप्ति अनुसार, प्रारम्भिक अध्ययनमै यो दुर्घटना निकै भयानक रहेको र कोही पनि जीवित रहने सम्भावना नरहेको देखिएको थियो । दिउँसो आयोजित पत्रकार सम्मेलनमा मृत्युको पुष्टि गर्दै कर्णेल जेम्स हेसले भने, ‘आज एडवर्ड्स एयरफोर्स बेसले एउटा भयानक त्रासदी भोगेको छ । हामीले आठजना महान् अमेरिकीहरूलाई गुमाएका छौं ।’

विमानमा सैन्य कर्मचारी, सरकारी नागरिक कर्मचारी र रेडार आधुनिकीकरण कार्यक्रमको परीक्षण मिसनमा सहयोग गरिरहेका कन्ट्रयाक्टरहरूको मिश्रित टोली सवार थियो । विमान निर्माता कम्पनी बोइङले जहाजमा आफ्ना दुई कर्मचारी पनि रहेको पुष्टि गरेको छ ।

कम्पनीले मृतकका परिवारसँग सम्पर्कमा रहेको र उनीहरूलाई आवश्यक सहयोग उपलब्ध गराउने बताएको छ ।

लस एन्जलसबाट करिब १०० माइल उत्तरपूर्वमा मोजावे मरुभूमिमा अवस्थित एडवर्ड्स एयरफिल्डमा स्थानीय समय अनुसार बिहान ११ः२० बजे यो दुर्घटना भएको हो । नियमित परीक्षण उडानमा रहेको विमान खस्नेबित्तिकै भीषण आगलागी भएको थियो । हवाई फुटेजमा दुर्घटनास्थलमा जमिनमा डढेको ठूलो निशाना र धुवाँको मुस्लो देखिएको छ ।

कर्नेल हेसका अनुसार, मृतकका परिवारलाई जानकारी गराउने प्रक्रिया सुरु भइसकेको छ । उनले भने, ‘हाम्रो प्रार्थना मृतकका परिवारका साथमा छ । यो एक ठूलो त्रासदी हो ।’

दुर्घटनापछि उक्त एयरफिल्ड पूर्ण रूपमा बन्द गरिएको छ र त्यहाँ आउने सबै विमानहरूलाई अन्यत्र मोडिएको छ । बेस प्रशासनले आपतकालीन उद्धार र प्रतिक्रिया कार्यमा ध्यान केन्द्रित गर्न सबै गैर–व्यावसायिक भिजिटर पासहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ ।

बी–५२ स्ट्राटोफोट्र्रेस लामो दूरीको र भारी रणनीतिक बमवर्षक विमान हो । अहिलेसम्म दुर्घटनाको ठोस कारण खुल्न सकेको छैन । अधिकारीहरूले अनुसन्धान प्रक्रिया पूरा हुन ६ महिनाभन्दा बढी समय लाग्न सक्ने बताएका छन् ।

Skip This