
एजेन्सी । फुटबल विश्वकपको आफ्नो पहिलो खेलमै स्विडनसँग ५–१ को लज्जास्पद हार बेहोरेपछि ट्युनिसियाले आफ्ना मुख्य प्रशिक्षक साब्री लामुचीलाई बर्खास्त गरेको छ ।
ट्युनिसियाली फुटबल महासंघले मंगलबार लामुचीको स्थानमा अनुभवी फ्रान्सेली प्रशिक्षक हेर्भे रेनार्डलाई नियुक्त गरेको जानकारी दिएको हो ।
यससँगै जारी विश्वकपमा पद गुमाउने लामुची पहिलो प्रशिक्षक बनेका छन् । गत जनवरीमा सन् २०२८ सम्मका लागि सम्झौता गरेर नियुक्त गरिएका उनी शनिबार जापानविरुद्ध र जुन २५ मा नेदरल्यान्ड्सविरुद्ध हुने समूह चरणका बाँकी खेलहरूअघि नै बाहिरिएका हुन् ।
लामुचीको नेतृत्वमा ट्युनिसियाको प्रदर्शन निकै निराशाजनक रहेको थियो । उनले सम्हालेका ५ खेलमध्ये ट्युनिसियाले एउटामा मात्र जीत (हाइटीविरुद्ध १–०) निकालेको थियो । विश्वकपको तयारीका क्रममा यसै महिना भएका मैत्रीपूर्ण खेलहरूमा पनि ट्युनिसिया अस्ट्रियासँग १–० ले पराजित भएको थियो भने बेल्जियमसँग ५–० को भारी अन्तरले हारेको थियो ।
ट्युनिसियाली महासंघले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा रेनार्डले यस विश्वकप अभियानको अन्त्यसम्मका लागि टोलीको जिम्मेवारी सम्हाल्ने उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘विश्वकप अभियान सकिएपछि निश्चित खेल लक्ष्यहरूका आधारमा दीर्घकालीन साझेदारीका लागि पुनः वार्ता गरिनेछ ।’
ट्युनिसियाको सरकारी सञ्चारमाध्यमका अनुसार रेनार्ड मंगलबार नै टोलीसँग जोडिन मेक्सिकोको मोन्टेरे आइपुग्नेछन् ।
अफ्रिका कप अफ नेसन्सको उपाधि दुई फरक देशबाट जितिसकेका रेनार्ड विश्व फुटबलमा सफल प्रशिक्षक मानिन्छन् । उनले सन् २०२२ को कतार विश्वकपमा साउदी अरबको नेतृत्व गर्दै तत्कालीन च्याम्पियन अर्जेन्टिनामाथि २–१ को ऐतिहासिक जित दिलाएर सनसनी मच्चाएका थिए ।
साउदी अरब छोडेपछि उनले सन् २०२३ को महिला विश्वकप र पेरिस ओलम्पिकमा फ्रान्सेली महिला टोलीको प्रशिक्षण सम्हालेका थिए । त्यसपछि पुनः साउदी टोलीमा फर्किएर उनले टोलीलाई लगातार तेस्रोपटक विश्वकपमा छनोट गराउन महत्त्वपूर्ण भूमिका खेले पनि प्रतियोगिता सुरु हुनुअघि नै उनको स्थानमा जर्जियोस डोनिसलाई ल्याइएको थियो ।











प्रतिक्रिया