
एजेन्सी । फिफा विश्वकप २०२६ को समूह जी अन्तर्गत न्युजिल्यान्डसँग २–२ को रोमाञ्चक बराबरी खेलेको केही घण्टामै इरानी फुटबल टोली (टिम मेल्ली) लाई अमेरिका छोड्न निर्देशन दिइएको छ ।
सोमबार राति लस एन्जलसमा भएको खेलपछि टोलीलाई क्यालिफोर्नियामा बस्न नदिई तुरुन्तै मेक्सिकोको टिजुआनास्थित आफ्नो तालिम क्याम्पमा फर्किन भनिएको हो ।
इरानी टोलीका मुख्य प्रशिक्षक आमिर गालेनोईले टोलीलाई यसरी हतारमा फिर्ता पठाउन कसले आदेश दियो भन्नेबारे केही खुलाएनन् । तर, खेलपछिको रिकभरी (शारीरिक पुनरुत्थान) का लागि रातभर क्यालिफोर्नियामै बस्ने योजना बनाएको टोलीलाई अचानक करिब १४० माइल टाढाको टिजुआना जान भनिएपछि टोली व्यवस्थापन निकै आक्रोशित बनेको छ ।
‘हामीलाई खेलको थकान मेटाउने समय पनि दिइएन,’ दोभासेमार्फत प्रशिक्षक गालेनोईले भने, ‘खेल सकिनेबित्तिकै हामीलाई तत्कालै निस्क भनियो । खेलाडीहरूको स्वास्थ्य र रिकभरीका लागि समय पाउनु हाम्रो अधिकार हो तर हामीलाई विमान चढेर टिजुआना फर्किन बाध्य पारियो । यो निकै दुःखद कुरा हो ।’
गएको फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध सुरु गरेदेखि नै इरानी फुटबल टोलीले ठूलो सास्ती भोग्दै आएको छ । इरानले आफ्ना खेलहरू अमेरिकाभन्दा बाहिर सार्न फिफालाई आग्रह गरेको थियो तर फिफाले उक्त प्रस्ताव अस्वीकार गरेपछि इरान अन्ततः अमेरिकामा खेल्न राजी भएको थियो ।
टोलीका कप्तान मेहदी तारेमीका अनुसार, आइतबार टिजुआनाबाट लस एन्जलस आउँदाको छोटो यात्रामा समेत उनीहरूले ५ घण्टाभन्दा बढी समय सुरक्षा जाँच र कानुनी प्रक्रियामा बिताउनुपरेको थियो ।
‘हामीलाई किन यसरी बारम्बार फर्काइन्छ, हामीलाई थाहा छैन,’ गालेनोईले थपे, ‘हाम्रो लागि योजना अरू कसैले बनाइरहेको जस्तो देखिन्छ । शायद यो विश्वकपकै सबैभन्दा बढी थिचोमिचोमा परेको टोली हाम्रो होला ।’
प्रशिक्षक गालेनोई र कप्तान तारेमी दुवैले अमेरिकी सरकारले धेरै महत्त्वपूर्ण कर्मचारीहरूलाई भिसा नदिएकोमा पनि गुनासो गरे । इरानी फुटबल महासंघका अध्यक्ष, सहायक प्रशिक्षक र सञ्चार अधिकारीहरूलाई भिसा नदिएपछि टोलीको तयारी पहिले नै अस्तव्यस्त बनेको थियो । तारेमीले भने, ‘यो हाम्रा लागि कुनै विपद्भन्दा कम छैन । फिफाले यसमा हामीलाई सहयोग गर्नुपर्छ ।’
प्रतिकूल परिस्थितिका बाबजुद इरानी खेलाडीहरूले मैदानमा उत्कृष्ट खेल देखाए । फिफा वरीयतामा आफूभन्दा ६५ स्थान तल रहेको न्युजिल्यान्डविरुद्ध दुईपटक पछि परेर पनि इरानले उत्कृष्ट पुनरागमन गर्यो । सोफी स्टेडियममा भएको खेलमा इरानका लागि रमिन रेजाइन र ६४औं मिनेटमा मोहम्मद मोहेबीले गोल गरे ।
लस एन्जलसमा इरानबाहिरका सबैभन्दा बढी इरानी नागरिक बस्ने भएकाले मैदानको माहोल इरानको पक्षमा निकै बलियो थियो । तर, दर्शकदीर्घामा राजनीतिक विभाजन पनि प्रस्ट देखिन्थ्यो । धेरै आप्रवासी इरानीहरू वर्तमान इरानी सरकारको विरोधमा थिए तर आफ्ना खेलाडीहरूलाई भने उनीहरूले ठूलो समर्थन गरिरहेका थिए ।
स्टेडियमबाहिर सरकारविरुद्ध प्रदर्शन भइरहँदा भित्र धेरैले राष्ट्रिय धुन बज्दा मैदानतिर पिठ्युँ फर्काएर विरोध जनाएका थिए । कतिपयले सन् १९७९ भन्दा अघिको सिंह र सूर्य अंकित झण्डा प्रदर्शन गरेका थिए । त्यसलाई फिफाले प्रतिबन्ध लगाउने प्रयास गरे पनि सफल भएन ।
इरानका मोहम्मद मोहेबीले गोल गरेपछि बन्दुकले गोली चलाएको जस्तो इसारा गरेका थिए । त्यसको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । मोहेबीले भने त्यो केवल समर्थकहरूका लागि गरिएको एउटा सामान्य सेलिब्रेसन मात्र भएको दाबी गरे ।
खेल सकिएपछि दुवै टोलीका खेलाडीहरूले एकअर्कासँग हात मिलाए र जर्सी साटासाट गरे । प्रशिक्षक गालेनोई मैदानको एक छेउमा टोलीको भविष्यलाई लिएर चिन्तित मुद्रामा देखिन्थे भने खेलाडीहरूले मैदान घुमेर आफ्ना हजारौं समर्थकहरूलाई धन्यवाद दिए ।
इरानले अब आगामी आइतबार बेल्जियमसँग र त्यसपछि अर्को हप्ता सियाटलमा इजिप्टसँग खेल्नेछ । लगातारको यात्रा र रिकभरीको अभावले खेलाडीहरूमा क्य्राम्प (मांसपेशी बाउँडिने) समस्या देखिन थालेको प्रशिक्षकले बताएका छन् ।
राजनीतिक र कूटनीतिक अड्चनका बीच इरानले विश्वकपको अर्को चरणमा पुग्ने ऐतिहासिक मौका जोगाउन सक्छ कि सक्दैन भन्ने कुरा अबका दुई खेलले तय गर्नेछ ।











प्रतिक्रिया