काठमाडौं। नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकर (धितोपत्र व्यवसायि) को पूँजी वृद्धि गर्ने तयारी गरेको छ । धितोपत्र बजार विस्तार हुँदै जाने क्रममा मर्चेन्ट बैंकरको पूँजी न्युन भएपछि पूँजी बढाउने तयारी गरेको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।
गत मंगलबार बसेको धितोपत्र बोर्ड सञ्चालक समितिका बैठकमा सार्वजनिक निष्कासन गर्न लागेका कम्पनीहरुले अन्डरराइटर पाउने नसकेको जस्ता विषयमा छलफल भएको थियो । सोही क्रममा मर्चेन्ट बैंकरको पूँजी वृद्धिको लागि व्यवस्थापन समितिमार्फत अध्ययन गर्ने निर्णय भएको बोर्डका एक अधिकारीले बताए । छलफलमा मर्चेन्ट बैंकरले अन्डरराइटिङ गर्न पाउने सीमा बढाउने वा पूँजी वृद्धि गर्ने विषयमा छलफल भएको थियो ।
धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली २०६४ लाई दोस्रो संशोधन गर्दै २०७६ मा नेटवर्थको ३ गुणासम्म मात्रै अन्डरराइटिङ गर्न पाउने व्यवस्था छ। बोर्डका तत्कालिन अध्यक्ष भिष्मराज ढुंगानाले नियमावली संशोधन गर्नुअघि नेटवर्थको ५ गुणासम्म अन्डराइटिङ गर्नसक्ने व्यवस्था थियो । ढुंगाना अध्यक्ष हुँदा २०७६ मा नेटवर्थको ३ गुणासम्म मात्रै अन्डराइटिङ गर्नेसक्ने व्यवस्था गर्दै नियमावली संशोधन भएको थियो ।
यसैबीच सबैभन्दाठुला अन्डरराइटिङ क्षमता भएको नागरिक लगानी कोषले प्रिमियम मुल्यका कम्पनीको अन्डरराइटिङ गर्न छोडेको छ । ३० अर्बभन्दा बढीको अन्डरराइटिङ गर्नसक्ने क्षमता भएको नागरिक लगानी कोषले अन्डराइटिङ नगर्दा पछिल्लो समया सार्वजनिक निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएका कम्पनीलाई अन्डरराइटिङ पाउन समस्या भएको छ ।
प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको घोराही सिमेन्टको आईपीओमा कोषले कमिसनका लागि पर्याप्त जोखिम र वित्तीय विश्लेषण नगरी अन्डरराइटिङ गरेको आरोप लागेको थियो । उक्त कम्पनीको आईपीओ स्वीकृत गर्ने धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष रमेश कुमार हमाल र बोर्डका कर्मचारीलाई अख्तियारले बोलएर बयान लिएको छ । सोही विषयमा कोषमाथि समेत प्रश्न उठेपछि कोषले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न लागेका कम्पनीको अन्डरराइटिङ गरेको छैन ।
नागरिक कोषले अन्डरराइटिङ नगरेको अवस्थामा मर्चेन्ट बैंकरको क्षमता न्युन हुँदा अन्डरराइटिङमा नै समस्या भएपछि पूँजी वृद्धि गर्ने तयारी गरेको बोर्ड उच्च स्रोतले बतायो । सामूहिक लगानी कोष व्यवस्थापन गर्ने तथा सर्वजनिक निष्कासन गर्ने कम्पनीको सेयर प्रत्याभुति (अन्डरराइटिङ) गर्ने कम्पनीको पूँजी न्युन हुँदा धितोपत्र बजार विस्तारमा समेत समस्या भएको भन्दै मर्चेन्ट बैंकरको क्षमता बढाउने छलफल सुरु भएको बोर्ड स्रोतले बतायो ।
बोर्डका तत्कालिन अध्यक्ष रमेश हमालको कार्यकाल २०८० पुसमा पुरा भएपछि गत मंसिरसम्म बोर्डको अध्यक्ष रिक्त भयो । उक्त अवधिमा सार्वजनिक निष्कासनको प्रक्रिया अगाडि बढाएा कम्पनीको आईपीओ स्वीकृत नभई पाइपालनमा बस्यो । हाल ८२ कम्पनीको ५१ अर्बभन्दा माथिको आईपीओ निष्कासनको लागि धितोपत्र बोर्डको स्वीकृतिको पखाईमा छन् । यस्तै धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरी बोर्डमा आवेदन दिने तयारी गरेका कम्पनीहरु समेत त्यतिकै छन् ।
३० अर्बको अन्डरराइटिङ क्षमता भएको नागरिक लगानी कोषले अंकित मूल्यका केही कम्पनीको अन्डरराइटिङ गरेको छ । अन्य मर्चेन्ट बैंकरहरुको कुल क्षमतामा अन्डराइटिङ गरिसकेको र प्रतिवद्धता जनाएर बस्दा नयाँ प्रक्रिया अगाडि बढाएका कम्पनीले अन्डरराइटिङ पाउन सकेका छैनन् । यस्तोमा धितोपत्र बोर्डले मर्चेन्ट बैंकरको क्षमता बनाउन भन्दै पूँजी बढाउने तयारी गरेको हो।
‘धितोपत्र व्यवसायि (मर्चेन्ट बैंकर) नियमावलीको अनुसुचि संशोधन गरेर नेटवर्थको ३ गुणलाई ५ गुणासम्मको अन्डरराइटिङ गर्नसक्ने व्यवस्था मार्फत पनि उक्त समस्या समाधान गर्ने सकिनछ,’ बोर्ड स्रोतले भन्यो, ‘पहिले पनि नेटवर्थको ५ गुणासम्म अन्डरराइटिङ गर्नसक्ने व्यवस्था थियो । तर, अल्पकालिन समाधानभन्दा पनि मर्चेन्ट बैंकरको क्षमता बढाएर दिर्घकादिन समस्या समाधान गर्नेगरी धितोपत्र बोर्ड अगाडि बढ्न खोजेको छ ।’
सोही अनुसार गत मंगलबार बसेको बोर्ड सञ्चालक समिति बैठकले मर्चेन्ट बैंकरको पूँजी वृद्धि सम्बन्धमा व्यवस्थापन समितिले आवश्यक अध्ययन गर्न निर्देशन दिएको स्रोतले बतायो ।
मर्चेन्ट बैंकर नियमावलीमा सम्पूर्ण मर्चेन्ट बैंकिङ व्यवसाय गर्ने कम्पनीको चुक्ता पूँजी २० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ । त्यसमा पनि निष्कासन तथा बिक्री प्रबन्धकको मात्रै कार्य गर्नेको लागि ५ करोड, धितोपत्र प्रत्याभूतिकर्ता (अन्डरराइटर) को लागि ७ करोड , सेयर रजिस्ट्रारको लागि ३ करोड, लगानी व्यवस्थापकको मात्रै कार्य गर्न ५ करोड र संस्थागत परामर्शदातको कार्य गर्नको लागि ३ करोड रुपैयाँ चुक्ता पूँजी चाहिने व्यवस्था छ ।
यी ५ वटै कार्य गर्ने मर्चेन्ट बैंकिङ सेवाको लागि २० करोड रुपैयाँ चुक्ता पूजी चाहिने व्यवस्था छ । सेयर कारोबार गराउने सेयर ब्रोकरको नै १ अर्ब ५० करोड रुपैयाँ पूँजी पुर्याएको अवस्थामा मर्चेन्ट बैंकरको क्षमता कमजोर देखिएको भन्दै पूँजी बढाउने तयारी गरेको स्रोतले बतायो। बोर्डको व्यवस्थापन समितिले अध्ययन गरी मर्चेन्ट बैंकरको पूँजी कति पुर्याउँदा उपयुक्त हुन्छ भनेर सिफारिस गर्ने एक सञ्चालकले बताए ।
प्रतिक्रिया