जनकपुरमा व्यवसायीमाथि मरणासन्न हुने गरि रडले आक्रमण, ५ जना पक्राउ


जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–९ पिडारीचोकमा एक व्यवसायीमाथि आक्रमण भएको छ । सर्लाहीको बरहथवा नगरपालिका–८ निवासी ३७ वर्षीय व्यवसायी मुकेश प्रसाद यादवमाथि सामूहिक आक्रमण भएको हो । यादवमाथि कुटपिट भइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा फलामका रडलगायत हतियार प्रयोग गरी यादवलाई आक्रमण गरिएको देखिन्छ ।

घाइते यादवलाई उपचारका लागि जनकपुर लगिएको थियो तर त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि उनलाई ललितपुरस्थित बी एण्ड बी अस्पताल रिफर गरिएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहका अनुसार शनिबार दिउँसो यादवमाथि जनकपुरधाम उपमहानगरपालिका–१३ पीडारीका ४८ वर्षीय फेकु साह, उनका तीन छोरासहित १९ वर्षीय अमित साह, २४ वर्षीय तुल्सी साह, १९ वर्षीय सुभाष साह तथा भारत बिहारको सितामढी विष्णुपुर–३ का १७ वर्षीय विकास कुमार साहले आक्रमण गरेका थिए । घटनापछि प्रहरीले फेकु साहसहित पाँच जनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा मुकेश यादव र फेकु साहले संयुक्त रूपमा कबाड संकलन सम्बन्धी ठेक्का लिएका थिए । सोही विषयमा छलफलका लागि यादव बरहथवा नगरपालिका–१३ का वडाध्यक्ष जागिर दर्जीसँग जनकपुर आएका थिए । छलफलका क्रममा विवाद भएपछि फेकु साह र उनका छोराहरुले यादवमाथि आक्रमण गरेका देखिएको प्रहरीको भनाइ छ ।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।

Skip This