बार्गेन गरेर पैसा असुल्ने उद्देश्यले करमा पहुँच पुर्‍याउँथे सन्तोष र परिन, पक्राउ परेपछि खुल्यो रहस्य



काठमाडौं । बार्गेनिङ गरेर लाभ लिने उद्देश्यले पर्वतका सन्तोष पराजुली र गोरखाका परिन पाण्डेले करमा पहुँच पुर्याउने गरेको पाइएको छ । भाटभटेनी सुपरमार्केटको एकीकृत कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याइ विद्युतीय कसुर गरेको आरोपमा ५ माघमा पक्राउ परेको पराजुली र पाण्डेले प्रहरीको प्रारम्भिक अनुसन्धानमा यथार्थ विवरणभन्दा बढी वा कम कर तिर्ने र सम्बन्धित करदाताबाट बार्गेनिङ गरेर लाभ लिने गरेको रहस्य खुलेको छ ।

उनीहरुले चितवनमा बिहादी बिजनेस म्यानेजमेन्ट नामको लेखापरीक्षण गर्ने निजी फर्म खोलेका थिए । सोही फर्मबाट करदाताको युजर आईडी र पासपोर्टको अनधिकृत प्रयोग गरी आन्तरिक राजस्व विभागको सफ्टवेर एकीकृत कर प्रणालीटै कम वा बढी कर तिर्ने गरेको फेला परेको छ ।

पराजुली र पाण्डेलाई प्रहरीले ५ माघमा भाटभटेनी सुपरमार्केटको एकीकृत कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याइ विद्युतीय कसुर गरेको आरोपमा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनीहरुले आन्तरिक राजस्व विभागको सफ्टवेर एकीकृत कर प्रणालीबाट करदाता भाटभटेनी सुपरमार्केटको युजर आईडी र पासवर्डको अनधिृकत प्रयोग गरी अस्वभाविक रुपमा कर विवरण पेश गरेका थिए ।

उनीहरुलाई प्रहरीले विद्युतीय कारोबार ऐन २०६३ को परिच्छेद ९ कसुरमा पक्राउ गरेको हो । उनीहरुले भाटभटेनी सुपरमार्केटबाट नेपाल सरकारलाई प्राप्त हुने राजस्वको दायरा भित्र आउने जम्मा कारोबार रकम २ अर्ब ३४ करोडका राजस्व रकम दायित्व ६ करोड २६ लाख तिर्नुपर्नेमा यसलाई रिवर्तन गरेर १३ करोड ९ लाख तिरेका थिए ।

उनीहरुले गलत तथ्यांक राखेर करदातालाई बढी कर दायित्व हुने गरी राज्यको आधिकारीक कम्प्युटर सूचना प्रणालीमा अनधिकृत रुपमा प्रविष्ट गरेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनीहरुले आफ्नो अडिटफर्मबाट आन्तरिक राजस्व विभागको पोर्टलमा गएर विभिन्न करदाताको कारोबारको विवरण आफू अनुकुल हुने गरी प्रविष्ट गर्दै आएका थिए ।