७ अर्ब ३९ करोड खर्चेर बनेको सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’

शिघ्र विकास र सुशासनका लागि सरकार तल्लीन: प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल माध्यमको उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको आज ब्रेक थ्रु गर्दै वर्तमान सरकार मुलुकमा विकास र सुशासन कायम गर्न तल्लीन रहेको स्पष्ट गरेका छन् ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोलिने काम सकिएको हो ।

प्रधानमन्त्री ओली स्थलगतरुपमा पुग्ने कार्यक्रम रहे पनि स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट भर्चुअलरुपमा उपस्थित भएका हुन् ।

प्रधानमन्त्री ओलीले पहिरोले गाडी दुर्घटना हुने र जनधनको क्षति हुने पीडाबाट त्यसमार्गका यात्रीहरुलाई राहत दिन यो सुरुङमार्ग एक सफल आयोजना साबित हुने बताउँदै यसबाट लाभ लिइ आवागमन सहज बनाएर सामाजिक एवं आर्थिक सम्बन्ध तथा उत्पादन आदानप्रदान गर्न शुभकामना दिए ।

यसअघि थानकोट–नागढुङ्गा सुरुङमार्ग ब्रेक थ्रु भएको र नेपाल सुरुङयुगमा प्रवेश गरिसकेकाले त्रासको वातावरणमा यात्रा गरिहनुपर्ने अवस्था अन्त्य भई सहज र छोटो मार्गबाट यात्रा गर्न सक्ने स्थितिमा पुगेको प्रधानमन्त्री ओलीले बताए ।

‘सुरुङमार्ग ब्रेक थ्रु हुनु सिङ्गै देशको खुसीको कुरा हो । अब नेपाल हिजो झैँ दुर्गम भन्ने रहेन । हामीले यसलाई अझ सुगम बनाउनुछ,’ प्रधानमन्त्री ओलीले भने, ‘मुलुकमा शिघ्र विकास र सुशासन दिन अहिलेको सरकार तल्लीन छ । हामी अरुको पनि सहयोग लिन्छौ र हामी बनाउँछौँ हाम्रो देश । देशलाई फाइदा हुने कुराहरुमा सरकारको ध्यान जानेछ । हाम्रा प्रयासहरु यसैतर्फ केन्द्रित छन् ।’

कार्यक्रमस्थलमा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह, विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेपालका लागि चीनका राजदूत चेन सोङलगायत सहभागी थिए ।

पाल्पाको तिनाउ गाउँपालिका वडा नं ३ दोभान नजिकै आयोजनाको बेस क्याम्पमा औपचारिक समारोहकाबीच प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गरेपछि ‘ब्रेक थ्रु’ भएको हो ।

यो आयोजनाअन्तर्गत दुई लेनको मुख्य सुरुङमार्ग(भित्री पहाडी क्षेत्र छिचोलिने) १,०८९ मिटर लम्बाईको निर्माण हुन लागेको हो । उत्तर र दक्षिण सडकलाई जोड्ने गरी यो सुरुङमार्ग निर्माण भइरहेको हो ।

मुख्य सुरुङमार्गको चौडाई साढे १० मिटर र उचाइ करिब ७ मिटर छ । लाइनिङसहित यो सुरुङमार्गको कूल लम्बाई ११२६ मिटर छ ।

आयोजनाले उत्तर र दक्षिणतर्फबाट एनएटीएम प्रविधिमार्फत खन्दै सुरुङको बीचमा १ मिटरजतिको दूरी बाँकी राखिएको थियो । सुरुङको उत्तर र दक्षिण भाग जोड्न १ मिटर मात्रै बाँकी राखिएको थियो । यहि १ मिटर ब्लास्ट गरेर अन्तिम ब्रेक गरिएको हो।

यो सुरुङमार्ग इन्जिनियरिङ्ग, प्रोक्युरमेन्ट तथा कन्स्ट्रक्सन(ईपीएस) बिधीबाट निर्माण भइरहेको र सुरुङमार्गमा सवारी साधन गुड्दा आपातकालिन अवस्थामा यात्रुलाई उद्दार गर्नका निम्ति १५१ मिटरको पहिलो वाइवास, १६१ मिटरको दोश्रो वाइपास र १३० मिटर दूरीको तेस्रो वाइपास पनि निर्माण गरिएको छ ।

पहिलो वाइपास सुरुङमार्गको ब्रेक थ्रु २०८१ असोज ४ गते, दोश्रोको २०८१ पुस ७ गते र तेस्रो सुरुङमार्गको ब्रेक थ्रु २०८१ भदौ २६ गते भएको थियो । दोश्रो वाइपास सुरुङमार्ग बीचमा भएकाले सबैभन्दा अन्तिममा उक्त वाइपासको ब्रेक थ्रु भएको हो ।

मुख्य सुरुङमार्गमा समस्यामा परेका यात्रुको उद्दार गरी तत्कालै अस्पतालसम्म लैजानको लागि सुरुङमार्गको उत्तरी र दक्षिणी छेउमा हेलिप्याडसमेत निर्माण गरिने छ।

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ्ग कर्पोरेशन लिमिटेडले यो आयोजनाको ठेक्का २०७८ चैत ९ गते मूल्य अभिवृद्धि कर(भ्याट) सहित ७ अर्ब ३९ करोड रुपैयाँमा कवोल गरेको थियो ।

सडक विभागले यो कर्पोरेशनसँग २०७८ फागुन २५ गते ठेक्का सम्झौता गरेको थियो ।

ठेक्का शर्तअनुसार पहिलो फेजमा निर्माण सुरु भएको ५ वर्षभित्र अर्थात २०८३ चैत ७ गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । सम्झौतापश्चात् २०८० पुषदेखि सुरुङमार्ग खन्ने काम सुरु भएको थियो ।

यस्तै व्लास्टिङ गर्ने काम २०८१ जेट १३ गतेबाट सुरु भएको थियो । सुरुङ दैनिक १० मिटरको दरले खनिएको थियो ।

चालु आर्थिक वर्ष २०८१/८२ मा यो आयोजनाको लागि ६५ करोड ८१ लाख रुपैयाँ बिनियोजन गरिएको छ । अहिलेसम्म सुरुङमार्गको भौतिक प्रगति ४०.१८ प्रतिशत र वित्तीय प्रगति ३९.९० प्रतिशत भएको छ । बाँकी काम अबको दुई वर्षभित्र सक्ने लक्ष्य राखिएको छ ।

सुरुङमार्ग सम्पन्न भएर सञ्चालनमा आएपछि पाल्पा, रुपन्देही, गुल्मी, अर्घाखाँची, रुपन्देही, स्याङ्जा, पोखरा, बागलुङलगायतका क्षेत्रमा सुरक्षित रुपमा यात्रा गर्न सहज हुने अधिकारीले जानकारी दिए ।

सुरुङमार्ग निर्माण गर्ने बिषयमा २०७७ मंसिर १ गते बसेको मन्त्रिपरिषदको बैठकले सहमति प्रदान गरेको थियो । त्यसलगत्तै २०७८ जेठ ९ गते सडक विभागले ग्लोवल टेण्डर आह्वान गरेको थियो । यो टेण्डरमार्फत निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ्ग कर्पोरेशन लिमिटेडले पाएको थियो ।

५ वर्षसम्मको सञ्चालनको जिम्मा ठेकेदार कम्पनीलाई

यो सुरुङमार्गको निर्माण पश्चात् ५ वर्षसम्म सञ्चालन तथा मर्मत सम्भारको जिम्मेवारी ठेकेदार कम्पनीको नै हुनेछ ।

यस्तै सम्झौता शर्तअनुसार सुरुङमार्गको व्यारेन्टी, सञ्चालन तथा मर्मत सम्भारको लागि ५ वर्ष तोकिएको छ । यो ५ वर्षसम्म सञ्चालन र मर्मत सम्भार गर्ने जिम्मेवारी ठेक्का पाउने कम्पनीकै हुनेछ ।

निर्माणकै क्रममा रहेकाले यो सुरुङमार्ग प्रयोग गरी सवारी साधन गुडाउनेले शुल्क तिर्नु पर्ने वा नपर्ने बिषयमा अहिले मोडालिटी तयार भएको छैन । सुरुङमार्गमा ६० किलोमिटर प्रति घण्टाको दरले सवारी साधन गुडाउन पाइने व्यवस्था छ ।

के के काम गर्न बाँकी ?

सुरुङमार्ग छिचोल्ने काम अन्तिम चरणमा पुगे पनि सुरुङभित्रको लाइनिङ र ‘स्लोप’ मिलाउन समय लाग्ने भएकाले सवारी गुडाउन एक वर्ष अझै लाग्ने आयोजनाले जनाएको छ।

यस्तै सुरुङमार्गको उत्तरतर्फ र दक्षिणतर्फको बाहिर सडकको स्तरोन्नतिको काम र रकनेट गर्ने काम बाँकी छ । रकनेटका लागि पहाडको थोरै भाग काट्ने र नेट बिछ्याउने काममा केही ढिलाइ भएको छ।

अधिकारीका अनुसार रक सेड, पहुँच सडकको निर्माण, सुरुङभित्र ढलान, भेन्टिलेसन, लाइनिङ्ग, लाइटिङ्ग, अक्सिजन, सुरक्षाका उपाय, आगो निभाउने यन्त्र जडानलगायतका काम गर्न बाँकी छ ।

साढे १३ अर्ब लागतमा बुटबल गोरुसिंगे सडक निर्माण हुँदै

सडक विभागका महानिर्देशक रामहरी पोखरेलका अनुसार बुटबल- गोरुसिंगे सडक दुई चरणमा निर्माण हुन लागेको हो ।

जसअनुसार बुटवलदेखि गोरुसिंगेसम्म ५० किलोमिटर र गोरुसिंगेबाट चन्द्रौटासम्म १९ किलोमिटर दूरीको सडक हुनेछ । पहिलो चरणअन्तर्गत निर्माण हुने बुटवल–गोरुसिंगे खण्डको प्रधानमन्त्री ओलीले शिलान्यास गर्न लागेका हुन् ।

उक्त सडक निर्माणको ठेक्का चिनियाँ कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवन निर्माण सेवाले दुई भागमा गर्ने गरी पाएको हो ।

पोखरेलका अनुसार बुटवलदेखि रुपन्देही र कपिलवस्तुको सीमाक्षेत्र कोठी नदीसम्मको २५ किलोमिटर र कोठीदेखि गोरुसिंगेसम्म २५ किलोमिटरलाई दुई खण्डमा बाँडेर गत असार १३ गते ठेक्का सम्झौता भएको थियो ।

यो सडक खण्डको लागत १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँ छ । निर्माण हुने ५० किलोमिटर सडकमध्ये बुटवलदेखि कोठीनदी सम्मको २५ किलोमिटरका लागि ७ अर्ब ८९ करोड र कोठी नदिदेखि गोरुसिंगेसम्मको २५ किलोमिटरका लागि ५ अर्ब ६६ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ । यो सम्झौता अनुसार २०८४ असोजभित्र सडक निर्माण सम्पन्न गरिसक्नुपर्ने छ।

Skip This