कार्टेलिङ गरेर सिमेन्टको मूल्य वृद्धि गरेको होइन, मूल्य समायोजन गरेका हौं: उत्पादक


काठमाडौं । सिमेन्ट व्यवसायीले सिमेन्टको मूल्यमा कार्टेलिङ गरेको आरोप झुटो भएको बताएका छन् ।

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुका अनुसार व्यवसायीले कार्टेलिङ गरेर मूल्यवृद्धि नगरेको बताए । उनले मूल्यवृद्धि नभएर समायोजन गरेको बताए ।

सिजन लागेपछी रेट वृद्धि हुने अभ्यास अनुसार समायोजन गरेको मारुले बताए । ‘हामीमाथि कार्टेलिङ गरेको आरोप लाग्यो,’ उनले भने, ‘हरेक उद्योगले आफैं मूल्य तोकेका छन् । बैंकर संघ, सुन चाँदी व्यवसायीले आफैं मूल्य तोक्छ्न् । बैंकर संघले ब्याज यतिसम्म गर्ने निर्णय गर्छन् । हामीले गरेको त्यस्तो होइन ।’

उनले धेरै सिमेन्ट उद्योग घाटामा रहेको र अहिले बिक्री नभएको बताए । ब्याज र उत्पादन लागतको मारमा आफूहरु परेको उनले बताए ।

‘सरकारले पुँजीगत खर्च गर्न नसक्दा सिमेन्ट बिक्री छैन । लागतभन्दा कम मूल्यमा बेचिरहेको अवस्था हो,’ उनले भने, ‘सिजन आएको बेला समायोजन गरेको हो । कार्टेलिङ गरेको होइन। १०/१२ घन्टा लोडसेडिङ छ । त्यसले लागत बढाएको छ ।’

सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णु न्यौपानेले सिमन्टको मूल्य वृद्धि हुनुमा कोइलाको मूल्य वृद्धि, लोडसेडिङ लगायत मुख्य कारण रहेको बताए ।

‘मुख्य कुरा कोइलाको मूल्य बढेको छ । लोडसेडिङका कारण लागत बढेको छ,’ उनले भने,’ बाटोका कारण लागत बढेको छ । चुनढुंगाको ढुवानी लागत बढेको छ ।’

उनले हरित करका कारण पनि लागत बढेको उनको भनाइ छ । सिमेन्टमा १४० रुपैयाँ बढेको उनले बताए ।