काठमाडौं । नेपालमा बिमा पोलिसी सरेण्डर (समर्पण) गर्ने क्रम बढेको छ ।
चालु आर्थिक वर्षको ६ महिनामा बिमा सरेण्डर गर्ने बिमितको संख्या ५४ हजार ४१४ पुगेको छ । ६ महिनाको अवधिमा ५४ हजार ४१४ जना बिमितले ७ अर्ब ४६ करोड ६७ लाख रुपैयाँको पोलिसी सरेण्डर गरेका छन् ।
जुन गत आर्थिक वर्षको ६ महिनाको तुलनामा १४.०१ प्रतिशतले बढी हो । गत आवको ६महिनामा ५३ हजार ११३ जनाले ६अर्ब ५४ करोड ८९ लाख रुपैयाँको पोलिसी सरेण्डर गरेका थिए ।
आर्थिक गतिविधि सुस्त हुनका साथै बिमितको आर्थिक अवस्था कमजोर हुँदा, सहकारी संस्थामा समस्या देखिँदा, नेपालमा सम्पत्ति सम्बन्धी व्यवस्थामा कडाइ हुँदै जाँदा पोलिसी सरेण्डर बढ्ने क्रममा रहेको बिमा कम्पनीका अधिकारीहरुको दाबी छ।
बिमा पोलिसी नवीकरण नगर्नेको संख्या बढ्दा बिमा कम्पनीलाई व्यबसाय बढाउन समस्या पर्ने स्थिति आउने चिन्ता बढेको छ ।
अहिले बिमा पोलिसी सरेण्डर बढ्नुका पछाडी तीन कारण मुख्य रहेको बिमा कम्पनीका अधिकारीहरु बताउँछन् ।
आर्थिक गतिविधि सुस्त हुनका साथै बिमितको आर्थिक अवस्था कमजोर हुँदा, सहकारी संस्थामा समस्या देखिँदा, नेपालमा सम्पत्ति सम्बन्धी व्यवस्थामा कडाइ हुँदै जाँदा पोलिसी सरेण्डर बढ्दो रहेको उनीहरुको भनाइ छ ।
सम्पत्ति शुद्धीकरण सम्बन्धी नेपालमा बनेका कानून प्रभावकारी कार्यान्वयन नहुँदा नेपाल ग्रे लिस्टमा पर्ने चिन्ता छ ।
वित्तीय कारबाही कार्यदल (एफएटीएफ) अन्तर्गतको एशिया प्रशान्त क्षेत्र समूह (एपीजी)ले नेपालले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा अन्तर्राष्ट्रिय प्रतिवद्धता अनुसार काम नगरेको भन्दै ग्रे लिस्टमा राख्नु पर्ने प्रारम्भिक प्रतिवेदन दिएको थियो । त्यसपछि नेपाल ग्रे लिस्टमा पर्नबाट जोगिनका लागि निकै प्रयन्त गरिरहेको छ ।
त्यसको असर बिमा क्षेत्रमा पनि परेको छ । नेपालमा बिमा गर्दा बिमितले जति बिमा गरे पनि उसको आम्दानीको स्रोतलाई गहिराईसम्म पुगेर अध्ययन गर्ने प्रचलन थिए र अहिले पनि प्रभावकारी रुपमा छैन । जसले गर्दा बिमा गर्ने बाहनामा भ्रष्टाचार, कर छली गरेर आर्जन गरेको रकमले बिमा गरिएको हुन सक्ने भन्दै बिमा प्राधिकरणले पनि यसमा कडाइ गर्न थालेको छ ।
‘बिमितले बिमा गरेपछि बिमाशुल्क तिरिरहेको हुन्छ, त्यो बेला धेरै चासो दिएर हेरिएको हुँदैन थियो’ एक बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले भने, ‘अहिले बिमा कम्पनीले सम्पत्ति शुद्धीकरणमा अली बढी ध्यान दिन थालेपछि पोसिली नवीकरण हुने क्रम घटेको जस्तो देखिएको छ ।’
निरन्तर प्रिमियम तिरिरहेका बिमितले बीचमै अनपेक्षीत रुपमा पोलिसी सरेण्डर गर्दा उनीहरुलाई किन सरेण्डर गरेको भनि प्रश्न गर्दा आर्थिक मन्दीलाई देखाउने गरेका र सबैमा त्यो लागु नहुने उनको भनाइ छ ।
ठूलो प्रिमियम तिर्नेहरुमध्ये कतिपयले सम्पत्तिको स्रोत देखाउनु पर्ने भएर पनि बीचैमा समर्पण गर्ने क्रम बढेको उनको भनाइ छ।
बिमा प्राधिकरणका अध्यक्ष मदन दाहालले एएमएल सेफ्टीका लागि बिमा प्राधिकरणले प्राथमिकतामा राखेको बताए । उनले हरेक बिमा कम्पनीलाई एएमएल सेफ्टी सम्बन्धी छुट्टै शाखा राख्न निर्देशन दिइसकेको बताए । त्यो शाखाले कालोधनको विषयमा पूर्ण रुपमा हेर्ने उनको भनाइ छ । बिमा प्राधिकरणले नियमन गर्दा पनि कालोधनका विषयलाई प्राथमिकतामा राखेर काम गरेको उनी बताउँछन् ।
‘बिमा प्राधिकरणले पनि एएमएल सेफ्टीका लागि शाखा गठन गरेर काम गरेको छ,’ उनले भने, ‘प्राधिकरणले सबै बिमा कम्पनीका कम्प्लायन्स म्यानेजरसँग यो विषयमा छलफल गरिरहेको छ ।’
यस्तै सहकारीमा देखिएको समस्याले पनि सहरी तथा ग्रामिण क्षेत्रमा पोलिसी सरेण्डरलाई सघाएको बिमकहरुको बुझाइ छ ।
कतिपय बिमितले सहकारीमा बचत गरेका हुन्छन् । सहकारीबाट ब्याज आउने समय मिलाएर बिमा गर्ने र त्यो ब्याज र बचत रकमले बिमाको प्रिमियम तिर्ने योजनामा धेरै बिमित हुने गरेको पाइएको बिमकहरुको भनाइ छ ।
‘सहकारीमा समस्या आउन थालेपछि बचत गरेको पैसा पनि नपाउने, ब्याज पनि नआउने समस्याले बिमा कम्पनीमा पोलिसी सरेण्डर गर्ने क्रम बढेको छ,’ अर्का एक इन्स्योरेन्सका सीईओले भने, ‘सहकारीमा समस्या देखिँदा त्यसको असर बिमा सरेण्डरमा पनि परेको छ ।’ यस्तै प्रभाव सहरका साथै ग्रामिण क्षेत्र पनि रहेको उनको भनाइ छ ।
सहकारीमा आफूले राखेको पैसाको ब्याज र बचत गरेको पैसा समयमा नपाउँदा बिमितले प्रिमियम तिर्न नसकेको उनको भनाइ छ ।
आर्थिक मन्दी, सम्पत्ति शुद्धीकरण र सहकारी संस्थामा देखिएको समस्याको परिणाम पोलिसी सरेण्डर भएको उनीहरुको भनाइ छ ।
अहिले पोलिसी ठूलो रकम मात्रै नभएर सानो–सानो रकमका पनि सरेण्डर हुने गरेको अन्य कम्पनीका सीईओ पनि बताउँछन् । केही बिमितले बैंकबाट लिएको कर्जाको ब्याज तिर्न पनि पोलिसी सरेण्डर गरिरहेको उनीहरुको भनाइ छ ।
कतिपय अवस्थामा बिमा कम्पनीका एजेन्टले वास्तविक जानकारी नगराउँदा पनि केही समयपछि पोलिसी सरेण्डर हुने गरेका छन् । त्यसले पनि समस्या निम्तिएको बिमा कम्पनीहरु बताउँछन् ।
पोलिसी सरेण्डरका विषयमा बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत र बिमा एजेन्ट नै गम्भीर बन्नुपर्ने जानकारहरुको तर्क छ । कतिपय सरेण्डर एजेन्टले हैसियतभन्दा बढीको बिमा गराइदिएका कारण पनि हुने गरेको छ ।
बिमा प्राधिकरणले जीवन बिमालेख निर्देशिका २०७८ जारी गर्दै बिमालेख बिमितले ३ वर्षसम्म पोलिसी समर्पण गर्न नपाउने व्यवस्था गरेको छ । त्यसअघि बिमा गरेका बिमितिले १ वर्षपछि नै पोलिसी सरेण्डर गर्ने गरेका थिए । एक वर्षमा नै पोलिसी सरेण्डर गर्दा एजेन्टले समेत विकृति ल्याएको भन्दै तीन वर्षको समय पुर्याइए पनि पोलिसी सरेण्डर गर्ने क्रम घट्नु भन्दा पनि बढी रहेको छ ।
बिमा प्राधिकरणका अनुसार चालु आवको ६ महिनासम्ममा ७ अर्ब ४६ करोड ६६ लाख ७२ हजार रुपैयाँको सरेण्डर भएको छ । जसमा राष्ट्रिय बिमा संस्थाको ६७ करोड ७ लाख, नेशनल लाइफको ४६ करोड ५१ लाख, नेपाल लाइफको २ अर्ब २ करोड ३४ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनको २ अर्ब ३८ करोड ६० लाख, मेट लाइफका बिमितले १९ करोड ६७ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् ।
यस्तै एशियन लाइफको ४६ करोड ८१ लाख, आइएमई लाइफको ९ करोड ८६ लाख, सन नेपाल लाइफको ३ करोड ५३ लाख, रिलायबल नेपाल लाइफको ५ करोड ५७ लाख, सिटिजन्स लाइफको ११ करोड ५९ लाख, सूर्यज्योति लाइफको ३८ करोड ९५ लाख रुपैयाँको पोलिसी सरेण्ड भएको छ । प्राधिकरणका अनुसार सानिमा लाइफका बिमितले १३ करोड २४ लाख, हिमालयन लाइफको ३३ करोड २४ लाख र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका बिमितले ९ करोड ८३ लाख रुपैयाँको पोलिसी सरेण्डर गरेका छन् ।
प्रतिक्रिया