८ अर्ब लगानीमा चीनको सीमा जोड्ने गरी कालिकोट हिल्सा सडक निर्माण हुने



काठमाडौं । सरकारले ७ अर्ब ९२ करोड रुपैयाँको लगानीमा चीनको सिमाना जोड्ने गरी रहफ भैरवस्थान–अशारा–तुल्ता वेलखेत–दुलाकोडा–भानाकोट–कालिकोट हिल्सा सडक निर्माण गर्ने भएको छ ।

सुदूरपश्चिमबाट कर्णाली प्रदेश हुँदै हिल्सा (चीनको सिमाना) सम्म जोड्ने गरी ८९.५६ किलोमिटर दूरीको यो सडक निर्माण हुने भएको हो । निर्माण सुरु भएको मितिदेखि ३६ महिनामा यो सडक खण्ड निर्माण गरिसक्नुपर्ने विस्तृत आयोजना प्रतिवेदन(डीपीआर) मा उल्लेख छ ।

यो सडक २५–२५ मिटर गरी ५० मिटरको दुई लेनको निर्माण हुन लागेको हो ।

सडक विभागका अनुसार यो सडकको सुरुवाति विन्दु सुदूरपश्चिमस्थित अछामको तुर्माखाँद गाउँपालिकाबाट सुरु हुनेछ भने कर्णालीको कालिकोटको रास्कोट नगरपालिकाको बक्नरकोटीमा अन्त्य हुनेछ । अहिले यो सडक बलौटे माटोको कच्ची छ ।

सडक विभागले हालै यो सडक खण्डको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन(इआईए) तयार गरी वन तथा वातावरण मन्त्रालयलाई प्रस्ताव गरेको थियो ।

वन तथा वातावरण मन्त्रालयले उक्त सडक खण्डका कारण पर्न सक्ने प्रभावको विषयमा राय सुझावको लागि सर्वसाधारणको नाममा सूचना जारी गरेको छ ।

हाल आयोजना क्षेत्र पुग्न काठमाडौंबाट पृथ्वी राजमार्ग र नारायणघाट मुग्लिङ राजमार्ग र पूर्व–पश्चिम(महेन्द्र)राजमार्ग, रत्न राजमार्ग र कर्णाली राजमार्ग हुँदै आयोजनाको सुरुको स्थान रहफ पुग्न झोलुङ्गे पुलबाट जाने व्यवस्था छ ।

यो सडक खण्डको सुरु विन्दुलाई कर्णाली राजमार्गसँग जोड्नका लागि हाल झोलुङ्गे पुल छ । प्रस्तावित इआईए प्रतिवेदनले झोलुङ्गे पुलको स्थानमा पक्की पुल निर्माण गर्ने उल्लेख छ ।

इआईए प्रतिवेदनअनुसार यो सडक खण्ड निर्माण र फराकिलो पार्न ९२.०५ हेक्टर जग्गा आवश्यक पर्ने भएको छ ।

जसअनुसार निजी वन १.१ हेक्टर, ४९.३ हेक्टर सामुदायिक वन, ९.९ हेक्टर व्यक्तिगत खेतीयोग्य, २०.०२ हेक्टर निजी वस्ती र ११.५५ हेक्टर सार्वजनिक जग्गा अधिग्रहण गर्नुपर्ने औंल्याइएको छ।

प्रस्तावित सडक क्षेत्रमा १६ वटा सामुदायिक वन र एक निजी वनको गरी ४ हजार ९ सय ७३ वटा रुखहरु काट्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

सडक निर्माण गर्दा हुने वातावरणीय, भौतिक, जैविक, सामाजिक, आर्थिक प्रभाव न्यूनीकरण गर्नका लागि १ करोड १२ लाख ६४ हजार रुपैयाँ प्रस्तावित गरिएको छ ।


क्लिकमान्डु