एकवर्षमै ३% बिन्दुले घट्यो कर्जाको ब्याजदर, निक्षेपको ५ र कर्जाको ९% मुनि
काठमाडौं । बैंकिङ क्षेत्रबाट प्रवाह हुने कर्जा र राखिने निक्षेप दुवैको दर भारी मात्रामा घटेको छ । १ वर्षकै अन्तरमा ब्याजदर ३ प्रतिशत बिन्दुले घटेको हो ।
२०८१ मंसिरमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ४.७८ प्रतिशत कायम भएको छ । २०८० मंसिरमा निक्षेपको भारित औसत ब्याजदर ७.६२ प्रतिशत थियो । यसैगरी विकास बैंकहरुको ब्याजदर ८.७९ प्रतिशत र वित्त कम्पनीहरुको ९.८५ प्रतिशतबाट क्रमशः ५.७५ प्रतिशत र वित्त ६.७० प्रतिशतमा झरेको छ ।
त्यसैगरी, २०८१ मंसिरमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ८.९० प्रतिशत, विकास बैंकहरुको १०.२६ प्रतिशत र वित्त कम्पनीहरुको ११.४८ प्रतिशत कायम भएको छ । २०८० मंसिरमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ११.८५ प्रतिशत, विकास बैंकहरुको १३.३९ प्रतिशत र वित्त कम्पनीहरुको १४.३० प्रतिशत रहेको थियो ।
यो तथ्यांकले कर्जाको ब्याजदर ३ प्रतिशत बिन्दुले कम भएको देखाउँछ ।
यसैगरी २०८१ मंसिरमा वाणिज्य बैंकहरुको औसत आधार दर ६.८२ प्रतिशत, विकास बैंकहरुको ८.६५ प्रतिशत र वित्त कम्पनीहरुको ९.७७ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८० मंसिरमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.६४ प्रतिशत, विकास बैंकहरुको ११.६४ प्रतिशत र वित्त कम्पनीहरुको १३.१४ प्रतिशत रहेको थियो ।