
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई शाहिल अग्रवालले दुईवटा रणनीतिक अस्त्र प्रयोग गरेर वयान दिएका छन । उनले संस्थागत निर्णयमा ‘सामूहिक उत्तरदायित्व’ को ढाल र ठूला वित्तीय कारोबारलाई ‘व्यक्तिगत लेनदेन’ को आवरण हुने बताए ।
हिमालयन रि-इन्सुरेन्सको लगानी तथा जोखिम व्यवस्थापन समितिको संयोजक जस्तो शक्तिशाली पदमा रहेका अग्रवालले अर्बौंको रकम अपचलन भएको विषयमा आफूलाई पूर्णतः ‘अनविज्ञ’ देखाउँदै यसको सम्पूर्ण दोष व्यवस्थापन (म्यानेजमेन्ट) र अन्य पदाधिकारीको थाप्लोमा पन्छाउने प्रयास गरेका छन्। उनको बयानको सार म संयोजक हुँ तर दैनिक कारोबार र ‘ड्यू डेलिजेन्स’ गर्ने काम मेरो होइन भन्नेमा केन्द्रित छ।
अग्रवालले हिमालयन रि-इन्सुरेन्सबाट भएका लगानीलाई व्यक्तिगत नभई सामूहिक बोर्ड निर्णयका रूपमा व्याख्या गर्दै आफूलाई नीतिगत तहमा मात्र सीमित राख्न खोजेका छन्। उनले व्यक्तिका नाममा सेयर खरिद गर्न ब्रोकरलाई रकम दिने कुनै पनि निर्णय आफ्नो समितिबाट नभएको र त्यस्तो जानकारी व्यवस्थापनले आफूलाई नदिएको दाबी गरेका छन् ।
‘करोडौंको कारोबार गर्ने ब्रोकरसँग उल्टै पैसा लिन बाँकी हुँदाहुँदै पुनः रकम भुक्तानी भएको विषय आफूले ‘बयानका क्रममा मात्र थाहा पाएको’ भन्दै उनले वित्त विभाग र कर्मचारीको कार्यक्षमतामाथि प्रश्न उठाएका छन्। यो तर्कले उनलाई एक जिम्मेवार पदमा बसेर पनि संस्थाको वित्तीय स्वास्थ्यप्रति बेखबर रहेको ‘अक्षम’ त देखाउन सक्छ, तर जानीजानी गरिएको अपराधबाट उम्किने कानुनी छिद्रका रूपमा उनले यसलाई प्रयोग गरेका छन् ।
जगदम्बा स्टिल्सबाट दीपक भट्टको खातामा गएको ५४ करोड रुपैयाँको सन्दर्भमा अग्रवालले जग्गा बैनाको पुरानो तर चल्तीको व्यावसायिक बहाना अघि सारेका छन्। कोभिड र नगद प्रवाहको समस्याका कारण जग्गा खरिद हुन नसकेको र ब्याजसहित ७४ करोड फिर्ता आएको दाबी गर्दै उनले यसलाई विशुद्ध व्यावसायिक असफलताका रूपमा चित्रण गरेका छन् ।
अनुसन्धानले यसलाई ‘लेयरिङ’ वा रकम घुमाउने खेलका रूपमा हेरे पनि अग्रवालले भने यसलाई बैनाबट्टाको कानुनी स्वरूप दिएर वैधता पुष्टि गर्ने प्रयास गरेका छन्। आफ्ना बाबु शंकरलाल अग्रवाललाई दिइएको साढे २२ करोडलाई पनि उनले कम्पनीको अध्यक्षको हैसियतले दिएको ‘व्यक्तिगत कर्जा’ भएको जिकिर गर्दै यसमा कुनै कसूरजन्य नियत नरहेको दाबी गरेका छन् ।
दीपक भट्टसँगको सम्बन्धमा पनि अग्रवालले ‘विना धितोको ऋण सापटी’ को तर्क दिएर वित्तीय अपराधको गम्भीरतालाई कम गर्न खोजेका छन्। आफ्नो र छोरीको नामबाट भट्टलाई दिइएको करोडौंको ऋणलाई उनले पारिवारिक विश्वासका आधारमा गरिएको लेनदेन मात्र भएको बताएका छन् ।
समग्रमा, शाहिल अग्रवालको बयानले भट्टसँगको व्यावसायिक लेनदेनलाई सापटी र संस्थागत रकमको दुरुपयोगलाई ‘व्यवस्थापनको कमजोरी’ भन्दै आफूलाई केवल एक नीतिगत सहजकर्ताका रूपमा मात्र उभ्याउन खोजेको देखिन्छ।
उनको बयानले एकातिर अर्बौंको कारोबारमाथि संस्थागत नियन्त्रण कति कमजोर थियो भन्ने देखाउँछ भने अर्कोतिर उनले आफूलाई यो संगठित अपराधको सञ्जालबाट प्राविधिक रूपमा सुरक्षित राख्न खोजेको प्रष्ट पार्छ।
प्रतिवादी शाहिल अग्रवालको बयान
म हिमालयन रि-इन्सुरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयरधनी हुँ। म हाल यस कम्पनीको Investment, Risk Management and Financial Solvency Committee को संयोजक हुँ। यस कम्पनीमा मेरो जिम्मेवारी भनेको बीमा प्राधिकरणले दिएको सीमा र मापदण्ड अनुकूल हिमालयनले गर्ने लगानी रहे वा नरहेको हेर्ने, आन्तरिक कार्यविधि अनुकूल लगानी रहे वा नरहेको यकिन गर्ने लगायतका जिम्मेवारी मेरो रहेको छ। साथै हिमालयनले गर्ने लगानीको निर्णय गर्ने समेतका जिम्मेवारीहरु म संयोजक रहेको समितिको रहेको छ। म संयोजक रहेको समितिमा व्यवस्थापनबाट पेश भएको प्रस्ताव उपर छलफल भई सोको कार्यान्वयन प्रमुख कार्यकारी अधिकृत एवं वित्त प्रमुख लगायतका व्यवस्थापकले गर्ने हो। लगानी सम्बन्धी प्रस्ताव गर्दा Due Diligence समेत गर्ने दायित्व व्यवस्थापकमा रहेको छ।
यी लगानी सम्बन्धी सम्पूर्ण विषयको एकमुष्ट रुपमा बोर्डमा पेश भई अनुमोदन हुने गरेको छ। मैले एक्लै कुनै विषयको निर्णय गर्ने होइन। तीन जनाको समिति रहेको छ। जगदम्बा स्टिल्स प्रा.लि. को खाताबाट विभिन्न मितिमा दीपक भट्टका नाउँमा ट्रान्सफर भएको रकम रु. ५४ करोड निज दीपक भट्टका नाउँको जग्गा खरिद गर्नका लागि बैना गरिएकोमा कोभिड पछिको समय, बैंक वित्तीय संस्थाले कर्जा दिन पनि असहज मान्ने अवस्था लगायतका तत्कालीन नगद प्रवाहका समस्या समेतलाई हेरी उक्त जग्गा खरिद नगर्ने कुराकानी एवं आपसी सहमति भई व्याज सहित रु. ७४ करोड बैना रकम नै फिर्ता भएको हो। यसमा अरु कुनै कारण छैन। जगदम्बा स्टिल्सबाट दीपक भट्टलाई दिएको रकम रु. ४५ करोड जग्गाको बैना वापत रकम दिएकोमा सो रकम पछि जग्गा राजिनामा नगरेका कारण दीपक भट्टले व्याज सहित फिर्ता गरिसकेको अवस्था छ। जगदम्बा स्टिल्सबाट मेरो बुबा शंकरलाल अग्रवालका नाउँमा गएको कुल रु. २२ करोड ५० लाख समेत फिर्ता भइसकेको छ। उक्त पैसा मेरो बुवालाई कर्जा दिएको हो।
जगदम्बा स्टिल्ससँग वित्तीय कारोवार गर्ने इजाजत छैन। जगदम्बा स्टिल्स बैंक वित्तीय संस्था सरह वित्तीय कारोवार गर्ने संस्था पनि होइन। जगदम्बा स्टिल्सले मेरा बाबु शंकरलाल अग्रवाललाई वित्तीय संस्थाको हैसियतले कर्जा दिएको होइन। कम्पनीको वित्तीय विवरणमा के कुन शीर्षकमा उल्लेख गरेको छ अहिले मलाई सम्झना छैन। पछि सम्बन्धित आ.व. को वित्तीय विवरण नै पेश गर्नेछु। उक्त कर्जा मेरो बाबुलाई म कम्पनीको अध्यक्ष एवं शेयर होल्डर भएको आधारमा मेरो तर्फबाट दिएको रकम हो। कम्पनीमा फिर्ता पनि भईसकेको छ। उक्त बैनाको कागज स्थानीय तहबाट प्रमाणीकरण नभएको ठीक हो।
जग्गा राजिनामा नभएकोले रकम समेत फिर्ता भएको छ। कुनै कसूरजन्य कार्यलाई ढाकछोप गरी कसूरबाट प्राप्त रकमको वैधता स्थापित गराउनका लागि उक्त रकम लेनदेन भई बैनाबट्टाको आवरण दिन खोजिएको होइन। हिमालयन रि-इन्सुरेन्सले कुनै पनि निर्णय गरी ब्रोकर मार्फत व्यक्तिका नाउँमा शेयर खरिद गर्न रकम दिएको होइन। यो कुराको मलाई जानकारी थिएन। म संयोजक रहेको लगानी समितिमा यस सम्बन्धी कुनै निर्णय पनि भएको छैन। यसरी एउटा पब्लिक लिमिटेड कम्पनीको रकम प्रयोग गरी व्यक्तिका नाउँमा शेयर खरिद गर्न मिल्दैन। यसरी शेयर खरिद गरिएको छ भन्ने कुरा मलाई व्यवस्थापन लगायत सञ्चालक समितिका अन्य पदाधिकारीहरुले पनि जानकारी गराएका थिएनन्।
यसमा मलाई ५५ नम्बर ब्रोकरले हिमालयन रि-इन्सुरेन्स कम्पनी लिमिटेडमा रकम फिर्ता गरेको छैन भन्ने सम्म थाहा छ तर के कहाँ रकम प्रयोग भएको छ भन्ने मलाई थाहा छैन। दीपक भट्टका नाउँमा सिद्धार्थ बैंकमा ००११५०३६८०६ को खातामा सन् २५/०६/२०२५ मा पारिवारिक नाताका मानिसहरु जाना अग्रवालको खाताबाट दीपक भट्टको खातामा रु. २ करोड जम्मा गरी सो रकम पुनः शंकरलाल अग्रवालले दिपकलाई दिएको ऋण भुक्तानीमा प्रयोग र १०/०७/२०२४ मा जाना अग्रवालबाट रु. ४ करोड ३० लाख लिई पुनः सो रकम जगदम्बा स्टील्सले जग्गाको बैना रकम फिर्ता गरे नगरेको विषय मलाई जानकारी छैन। उनलाई दिएको रकम मैले ऋण सापटी वापत दिएको हो। दीपक भट्टसँग लिनुपर्ने भनी देखाएको रु. १० करोड ४० लाख र मेरो छोरी जाना अग्रवालको नाउबाट दीपक भट्टसँग लिनुपर्ने रु. ११ करोड ७० लाख रकम निजलाई ऋण सापटी दिएको हो।
सो वापत मैले कुनै धितो वा जमानत लिएको छैन। उक्त रकम कहाँ प्रयोग भएको हो मलाई जानकारी छैन। मैले निज दीपक भट्टलाई सम्पत्ति शुद्धीकरणको कसूरगर्नमा सहयोग सहजीकरण गर्ने उद्देश्यले ऋण सापटी दिएको होईन। भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रा.लि. ब्रोकर नं. ५५ ले हिमालयन रि-इन्सुरेन्सको शेयर खरिद र विक्रीको कारोवार गर्दै आएको छ। उक्त ब्रोकरले कम्पनीको स्थापना पश्चात शेयर खरिद विक्री सम्बन्धी कारोवार गर्दै आएको र सो कारोवार यस ५५ नम्बर ब्रोकरसँग पहिला देखि हुदै आएको हो।
उक्त ब्रोकरसँग कारोवार गर्ने निर्णय बोर्डबाट भएको हो। हिमालयन रिइन्सुरेन्स कम्पनी लिमिटेड लि. ले ब्रोकर नं. ५५ लाई उपलब्ध गराएको र हिमालयन रिको पोर्टफोलियो विक्री रकम समेत गरी रु. २,७३,३३,१५,१६०/-, Himalayan Capserve लि. को रु. ३७ करोड, हिमालयन सेक्युरिटी बैंकरबाट रु. २२ करोड १९ लाख समेत गरी रु. ३,३२,५२,८६,६०५/- रकम प्रयोग गरी दीपक भट्टको व्यक्तिगत नाममा शेयर खरिद विक्री गर्न ब्रोकरलाई निर्देशन दिएको हो। TMS पनि ब्रोकरसँग समन्वय गरेर चल्ने हो। कम्पनीले कुनै पनि व्यक्तिको नाममा शेयर खरिद गर्न कहिले पनि ५५ वा अन्य कुनै ब्रोकरलाई निर्देशन दिएको होइन।
हिमालयन रिले शेयरमा लगानी गर्ने निर्णय म कम्पनीको जिम्मेवारीमा आउनु भन्दा पहिला नै भएको हो। हिमालयनले ब्रोकरलाई दिएको रकम व्यक्तिका नाउँमा शेयरको कारोवार गर्न दिएको रकम होइन। एउटा पब्लिक लिमिटेड कम्पनीले यसरी निर्णय गर्दैन। के कति कारणले व्यक्तिका नाउँमा शेयर खरिद भयो भन्ने कुरा उक्त शेयर खरिद विक्रीका पक्षलाई थाहा होला।
मैले कोही कसैलाई सम्पत्ति शुद्धीकरणको कसूर गर्न गराउन व्यक्तिगत र संस्थागत रुपमा सहयोग र सहजीकरण गरेको छैन। छैन। उक्त ब्रोकरसँग लिनु पर्ने रकम बाँकी थियो भने पुनः ५५ नम्बर ब्रोकरलाई रकम नदिनु पर्नेमा सो नगरी रकम दिएको मैले पनि यस बयानको क्रममा थाहा पाएँ। वित्त हेर्ने कर्मचारीले ब्रोकर ५५ बाट यति रकम लिनु पर्ने छ भन्ने खालको केही पनि विवरण समितिमा पेश गरेको थिएन। म त समितिको संयोजक हुँ। दैनिक वित्तीय कारोवारमा म संलग्न हुन्न। संस्थाको रकम कलमको संरक्षण गर्ने कार्य प्रथमतः व्यवस्थापनको हो भन्ने समेतका व्यहोराको बयान।









प्रतिक्रिया