आफू जल्न सिफारिस गरिने घाट !



मर्ने कसैलाई रहर हुँदैन
तर नमरेको प्रहर हुँदैन
भागेर जाउँ कुन ठाउँ जाउँ
मान्छे नमर्ने सहर हुँदैन…

कृष्णहरि बरालको शब्दमा सुरेश गैरेले संगीत भरेपछि प्रेम परियारले गाएको यो गीत केही समयअघि निकै चर्चित थियो । विभिन्न माध्यममा अझै पनि यो गीत बजिरहेको सुनिन्छ । जीवनको अकाट्य सत्यलाई स्वीकार गरिएको यो गीतले सबैको मन छुन्छ ।

हो, मर्ने कसैलाई रहर हुँदैन । तर जन्मपछि मृत्यु शास्वत सत्य हो । मरेपछि आ-आफ्नो संस्कारअनुसार अन्त्येष्टि गरिन्छ । हिन्दू धर्म संस्कृतिमा मृत्युपछि जलाएर अन्तिम संस्कार गर्ने चलन छ ।

मानव चोलाको एकमात्र सत्य मृत्यु अनि अन्तिम यात्रा घाट नै हो । अन्तिम संस्कार वा दाहसंस्कार (अन्त्येष्टि) मानिसको मृत्युपछि गरिने अन्तिम संस्कार हो । यो शवको अन्तिम क्रिया पनि हो ।

यही प्रक्रियाका लागि केही मानिसले जिउँदै हुँदा आफ्ना सन्तानलाई मेरो दाहसंस्कार फलानो घाटमा गरिदिनु समेत भन्ने गरेको पाइन्छ ।

यसो भन्नुको कारण कुनै खास धार्मिकस्थल भएको ठाउँमा आफ्नो दाहसंस्कार होस् भन्ने ठानिएको हुन्छ । अचेल दाहसंस्कार गर्ने स्थल, खासगरी नदी-खोला किनार व्यवस्थित घाट बनाउन थालिएको छ । त्यस्तो स्थानमा मन्दिर र देवालयहरु पनि स्थापना गर्ने चलन छ ।

त्यस्तै घाट हो, सुनसरीको इटहरी-४ स्थित श्री बुढीगंगा जमुना मुक्तिघाट । यहाँ आफ्नो अन्तिम दाहसंस्कार होस् भन्ने कामना गर्ने र सन्तानलाई त्यसै गरिदिन आग्रह गर्नेहरु बढेका छन् ।

गत आइतवार छिमेकीको शवयात्रामा यो घाट आइपुगेका इटहरी १९ तरहराका ८० वर्षीय कमल नेपाल (नाम परिवर्तन)ले पनि आफ्ना सन्तानसमक्ष त्यस्तै मनोकामना व्यक्त गरेको बताए । ‘धार्मिक रुपमा यो घाटको प्रसिद्धि सुनेको छु । मरेपछि यही घाटमा जल्न पाए हुन्थ्यो भन्ने चाहना छ’ नेपालले क्लिकमान्डुसँग भने, ‘त्यसका लागि सन्तानलाई अह्राइसकेको छु ।’

शवको अन्त्येष्टि विभिन्न धर्म र संस्कृति अनुसार फरक फरक हुन्छ । जन्मेदेखि दुःख पाउने मानिसले अन्तिम संस्कार गर्दासम्म हैरानी बेहोर्नु परेका अनेक उदाहरण छन् ।

काठमाडौंको पशुपतिनाथस्थित आर्यघाटमा अन्त्येष्टिका लागि पालो पर्खनुपर्ने बाध्यता छ ।

यस्तो अवस्था सुनसरीको इटहरीस्थित बुढी गंगा जमुना मुक्तिघाटमा भने छैन । यहाँ दिवंगतहरुका लागि अन्तिम संस्कार गर्न विशेष संरचना बनाइएको छ । साधारणतयाः अन्तिम संस्कार गर्ने स्थान भनेको कस्तो होला ? डरलाग्दो होला कि, अनौठो होला भन्ने मनमा लाग्न सक्छ ।

तर, सुनसरीको इटहरी र मोरङको सीमा भएर बग्ने बुढीखोलाको श्री बुढी गंगा जुमना मुक्ति घाटमा पुग्दा बेग्लै अनुभूति हुन्छ । अन्तिम संस्कार गर्ने घाट यति मेहनतले सजाइएको छ कि मलामीका रुपमा त्यहाँ पुग्ने जो कोहीलाई मृत्युपछि यही घाटमा जल्नपाए हुन्थ्यो भन्ने मनोइच्छा प्रकट हुन्छ । यो घाटमा तयारी अवस्थामा राखिएका चिताले शव कुरिरहेका हुन्छन्।

२०७० सालदेखि सञ्चालनमा आएको यो मुक्तिघाट श्रीकृष्ष्ण प्रणामी प्रतिष्ठान अन्तर्गतको बृहत्तर मुक्तिधाम क्षेत्र विकास समितिले सुरुवाती जनसहभागीताबाट संकलन भएको साढे ३ करोडको लागतमा स्थापना गरेको हो । ‘हाल यो मुक्तिघाटमा जनसहभागीतको करिब १० करोड रुपैयाँभन्दा बढीको लगानीमा थप भव्य र व्यवस्थित संरचना निर्माण भइसकेका छन्,’ समितिका अध्यक्ष हेमप्रसाद घिमिरेले भने,’यो लागतमा करिब ५० लाखजति संघीय र प्रदेश सरकारसहित इटहरी नगरपालिका, जिल्ला समन्वय समितिको छ । बाँकी सबै जनसहभागिताबाट जुटेको रकमको प्रतिफल हो ।’

मानव अन्त्येष्टि संस्कार आफैंमा दुखदायी र पीडाजनक त छदै छ । यस्तो दुखको समयमा यो मुक्तिघाटले पुर्‍याउने सेवाले स्वजन गुमाउँदाको पीडामा केही मलमपट्टिको काम गर्ने र मानव अन्त्येष्टि संस्कारलाई आगामी पुस्तासम्म हस्तान्तरण गर्न अनि सबै जातजाती, धर्म, संस्कृतिका मानिसको साझा सम्पदाको रुपमा रहेर सवैमा एकताको सन्देश दिँदै मानव परम्परालाई जगेर्ना गर्न समाजलाई सन्देश दिने विश्वास समितिको छ ।

यो घाटमा एकैपटक चारवटासम्म शवको अन्त्येष्टि गर्न सकिने व्यवस्था छ । यहाँ एक दिनमा बढीमा १० वटासम्म शवको दाहसंस्कार गरिएका छन् । दैनिक सरदर ५ वटा शवको अन्त्येष्टि हुने गरेको छ । घिमिरेले भने, ‘यो घाटमा मासिक सरदर १५० वटा शव जल्ने गरेका छन् । घाट सञ्चालनको ११ वर्षमा झण्डै २० हजार शवको अन्त्येष्टि भइसकेको अभिलेख समितिको छ । घाटमा २४ सै घण्टा शवको दाहसंस्कार गर्ने व्यवस्था गरिएको छ ।’

यो मुक्ति घाटको आसपास नाम चलेका सप्तकोशीको चतरा धाम, विराटनगरको परोपकार घाट, धनकुटाको विश्रान्ती घाट र झापाको कन्काई घाट पनि सञ्चालनमा छन् । तर त्यस क्षेत्रका मानिसको मृत्यु हुँदा अधिकांशको अन्त्येष्टिका लागि यही घाट ल्याउने गरिएको छ।

घिमिरेले भने, ‘मृत्यु हुनुभन्दा पहिला अधिकांशले आफनो अन्त्येष्टि सुनसरीको बुढी गंगा जमुना मुक्ति घाटमा गर्न परिवारजनमा आग्रह गरेका र मृत्युपछि अन्त्येष्टि गर्न यही घाटमा ल्याएको पाइएको छ ।

यो घाटमा शव जलाउने (शवदाह स्थल) चारवटा छन् । ति चारवटै स्थानमा घाट सञ्चालक समितिकै कर्मचारीले दाउराको चिता तयारी अवस्थामा राखेका हुन्छन् ।

मलामी र आफन्तजनले शव ल्याएर आफनो प्रक्रिया पूरा गरेर चितामा राखेर दागबत्ति दिँदै आगो छाड्छन् । त्यसपछि जलाउने र सफाइ सहितको सवै काम घाटका कर्मचारीले गर्छन् । त्यसबापत समितिले ११ हजार रुपैयाँ शुल्क लिने गरेको छ । यो कार्यका लागि समितिले ७ जना कर्मचारीको व्यवस्था गरेको छ । ति कर्मचारीलाई मासिक २ लाख १० हजार रुपैयाँ घाटले तलव वितरण गर्छ । त्यो रकम शव अन्त्येष्टिवापत लिने शुल्क भएको घिमिरेले जानकार दिए ।

यो संस्थाको इटहरीमा वार्षिक २ करोड रुपैयाँ आम्दानी र त्यति नै खर्च हुँदै आएको घिमिरेको भनाइ छ ।

२०३५ सालमा परमहंस गुरुजी श्री १०८ मंगलदास महाराजले भविश्यमा यो स्थल विशाल तीर्थस्थलको रुपमा विकास हुन्छ भन्ने भविश्यवाणी गर्दै सुनसरी र मोरङको सीमा भएर बग्ने यो बुढी खोलालाई बुढी जमुनाको नामाकरण गरेर श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधामको स्थापना गरेका थिए ।

समितिका अध्यक्ष घिमिरेले भने, ‘आज मंगलदास महाराजको भविश्यवाणीले पूर्णता पाएको छ । यहाँ नेपाल वेद मन्दिर, नेपाल मानव धर्म सेवा समिति, बौद्ध गुम्वा, नयाँ बृन्दावन धाम गौशला, मल्मीनायारण मन्दिर, किराँत राई यायोख्खा साकेला, सर्वेश्वर महादेवको मन्दिर, शिव, विष्णु, महेश, कृष्ण, यमराज र धर्मराजका मूर्ति स्थापना भएर पूर्वमा धार्मिक पर्यटकीय स्थलमा विकसीत भइरहेको छ ।’ उनका अनुसार घाट निर्माणका क्रममा यसको नामाकरण बुढी गंगा जमुना मुक्ति घाट गरिएको हो ।

बूढीखोला नदी डेढ दशक अघिसम्म इटहरीको मसानघाटले परिचित थियो । मसानघाटको छेउछाउ जान सर्वसाधारण डराउने अवस्था थियो । नदी छेउछाउमा फोहोर थियो । तर अहिले अवस्थामा परिवर्तन आएको छ । मसानघाट र मन्दिर यतिबेला पर्यटकीयस्थल बनेको छ ।

बुढीगंगा जमुना मुक्तिघाटमा किरियापुत्री भवनको पनि व्यवस्था गरिएको छ भने यहाँ गरिब तथा विपन्न परिवारलाई किरियापुत्री भवनमा बस्ने व्यवस्था मिलाउने गरिएको छ ।

मानव चोला मरेपछि शव यात्रा र अत्येष्टिमा पनि विद्यमान समाजमा भेदभाव छ । राजा महाराजा र धनाढ्य परिवारमा मरिमराउ हुँदा शवको रथयात्रा नै गर्ने प्रचलन छ । यो घाट व्यवस्थापन समितिले त्यो प्रवृत्तिको अन्त्य गर्ने र ‘मरेपछि … राजा’ भन्ने उखानको चरितार्थ गर्न जो कोहीको शवको रथयात्राका लागि सशुल्क शववहानको पनि व्यवस्था गरेको छ ।

घाटदेखि २० किलोमिटर वरपरका जो सुकैको घरमा मरिमराउ पर्दा माग भए अनुसार घाट व्यवस्थापन समितिले घरदेखि घाटसम्म घाटको शव वहान उपलब्ध गराउँछ । त्यो शव वहानमा मृतकका परिवारले शवयात्रा गराएर घाटसम्म ल्याउँछन् । त्यसले पहुँचवाला र सामान्य परिवारमा हुँदै आएको भेदभावपूर्ण शव यात्राको अन्त्य गर्न मद्दत पुर्‍याएको घिमिरेको भनाइ छ ।

बृहत्तर मुक्तिधाम क्षेत्र विकास समितिले यो घाटमा शवको उचित दाहसंस्कारको व्यवस्थापन मात्र गरेको छैन । करिव तीन विघा क्षेत्रमा समेटिएको बुढी खोलाको किनारलाई समितिले विभिन्न मन्दिर र देवालयहरु स्थापना गरेर धार्मिक पर्यटकीय स्थलमा परिणत समेत गरेको छ ।

समितिले यही परिसरमा करिव १० करोडको लागतमा १५ बेडको अस्पताल पनि निर्माण गरेको छ । आगामी वैशाखदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको उक्त अस्पतालमा ओपीडी सेवा निशुल्क र विशेषज्ञ परीक्षण र सेवा सरकारी शुल्कमा उपलब्ध गराउने लक्ष्य रहेको घिमिरेले जानकारी दिए ।

उनका अनुसार यो अस्पताल निर्माणका लागि सदानन्द महाराजले ४ करोड उपलब्ध गराएका छन् भने बाँकी जनसहभागिताबाट उठेको रकम हो । यो संस्थाले काठमाडौंको चाबहिलमा महामती प्राणनाथ संस्कृत विद्यापीठ खोलेर ५५ जनालाई नि:शुल्क संस्कृत पढाउने गरेको छ ।


क्लिकमान्डु