वालेटमार्फत सवा ३ खर्ब रुपैयाँ कारोबार हुन थाल्यो, इसेवाको वर्चश्व


काठमाडौं । नेपालमा मोबाइल वालेटमार्फत ३ खर्ब रुपैयाँभन्दा बढी कारोबार हुन थालेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार वालेटमार्फत हुने कारोबार ३ खर्ब २६ अर्ब १९ करोड ८० लाख रुपैयाँ पुगेको हो ।

राष्ट्र बैंकले उपलब्ध गराएको पछिल्लो ८ महिना (साउन–फागुन)सम्मको तथ्यांकअनुसार वालेटबाट भएको कारोबार गत वर्ष २०८०/८१ को वर्षभरमा भएकोभन्दा बढी छ । गत वर्ष एक वर्षमा वालेटमार्फत भएको कारोबार ३ खर्ब २ अर्ब रुपैयाँ भएकोमा चालु आर्थिक वर्षको पछिल्लो ८ महिनामा नै सवा तीन खर्ब रुपैयाँ नाघेको हो ।

यस्तो वालेट कारोबार अघिल्लो वर्ष २०७९/८० मा जम्मा २ खर्ब १९ अर्ब रुपैयाँको मात्रै थियो । वालेटमार्फत हुने कारोबार यस अघि ५ वर्ष पहिले वर्षमा ७६ अर्ब मात्रै भएको राष्ट्र बैंकले क्लिकमान्डुलाई उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

सवा ३ खर्बको वालेटमार्फत कारोबार हुँदा करिब २५ करोडको संख्यामा कारोबार भएको छ । यस्तो कारोबार संख्या ५ वर्ष अगाडि १० करोड रहेको थियो ।

२५ करोडको संख्यामा ३ खर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने मोबाइल वालेटका ग्राहक भने २ करोड ५९ लाख ८७ हजार रहेको देखिएको छ । नेपालमा सञ्चालनमा रहेका २५ वटा वालेट (भुक्तानी सेवा प्रदायक)बाट डिजिटल कारोबार हुने गरेको भए पनि बजारको बर्चश्व कायम गर्नेमा भने इसेवा रहेको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंककाअनुसार वालेटको कारोबारमा सबैभन्दा बढी बजार हिस्सा चल्तिका ५/७ वटा वालेट मात्रै छन् । यसमध्ये इसेवा, खल्ती, आइएमई पे, छिटो पैसासहितका वालेट रहेका छन् ।

वाणिज्य बैंकहरुसँग सहकार्य गरेर फोनपेले अलग्गै सिस्टम बनाएकोले आम उपभोक्ताले प्रयोग गर्ने वालेट इसेवा भएको छ । अन्य भुक्तानीमा खल्ती, आइएमइ पे रहेको छ । पछिल्लो समय राइड सेयरिङको भुक्तानीका लागि छिटोपैसा प्रयोग हुन थालेकोले पनि वालेटको प्रयोग पनि बढ्दै जान थालेको देखिएको छ ।