काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा नेपाली सर्वात्कृष्ट खेलाडी दिपेन्द्र सिंह ऐरीले पाएको कारको कर शारडा ग्रुपले दिने भएको छ ।
एसपीजी अटोमोबाइल्स प्रालि (ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक)को अभिभावक कम्पनि शारडा ग्रुपले कर आफै दिने निर्णय गरेको हो ।
‘एनपीएलमा उत्कृष्ट खेलाडी भएका दिपेन्द्रले कारको १५ लाख ५० हजार कर तिर्नुपर्ने‘ शीर्षकमा क्लिकमान्डुमा समाचार प्रकाशित भएपछि शारडा ग्रुपले कर तिरिदिने भएको हो ।
दिपेन्द्र सर्वात्कृष्ट खेलाडी हुँदै ओमोडा इफाइभ डिलक्स एसयुभी पाएका थिए । ओमोडा एन्ड जेइको एनपीएलको पहिलो संस्करणको लागि ‘ड्रिभन बाइ’ सह–प्रायोजक हो ।
कार दिने कम्पनी शारडा ग्रुपले नै कर तिरिदिने बताएको छ । शारडा ग्रुपका अध्यक्ष शिव रतन शारडाले अहिले खेलाडीलाई धेरै भार नपरोस् भनेर आफूहरुले नै कर दिने बताएका छन् ।
‘दिपेन्द्रलाई हामीले ६२ लाखको कार दियौं । ६०–६२ लाखको कार नै दिइसकेपछि १५ लाखमा चित्त किन सानो बनाउनु भनेर कर तिरिदिने निर्णय गरेका हौं,’ शारडाले भने । आयकर ऐन अनुसार नेपाल सरकारले पुरस्कारमा लाग्ने करमा छुट भने दिन सक्छ । नेपाल सरकार मन्त्रिपरिषद्ले निर्णय गरी दिपेन्द्रले पाएको पुरस्कारमा कर छुट दिने सक्ने व्यवस्था आयकर ऐनमा छ ।
प्रतियोगितामा सुदूरपश्चिम रोयल्स उपविजेता बन्दा टिमका कप्तान ऐरी उत्कृष्ट खेलाडी बने । दिपेन्द्रले प्रतियोगिताभर ९ खेलमा १ अर्धशतकसहित २२७ रन बनाएका छन् ।
बलिङतर्फ उनले ९ खेलमा ९ विकेट लिए । प्रतियोगिताभर उत्कष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई ओमेडाले ओमोडा ई–५ कार प्रदान गरेको छ ।
दिपेन्द्रले पाएको आयकर ऐनको दफा ८८ ‘क’ अनुसार कार पुरस्कारमा आकस्मिक लाभ कर तिर्नु पर्नेछ । ऐनको दफा ८८’क’ को उपदफा १ मा साहित्य, संस्कृति, खेलकुद, पत्रकारिता, विज्ञान, प्रविधि तथा सार्वजनिक प्रशासन क्षेत्रमा योगदान पुर्याए बापत प्राप्त हुने राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका पाँच लाख रुपैयाँसम्मको पुरस्कारमा आकस्मिक लाभ कर लाग्ने छैन भनिएको छ ।
यसअनुसार उनले विगतमा पाँच लाख सम्मको पुरस्कार नपाएको अवस्थामा १४ लाख २४ हजार रुपैयाँ कर तिर्नु अवस्था थियो । यसअघि ५ लाख बराबरको पुरस्कार पाइसकेको भए कारको १५ लाख ५० हजार रुपैयाँ कर बुझाउनु पर्ने छ ।
प्रतिक्रिया