सिद्धबाबा सुरुङ मार्ग: ३ वटै बाइपास सुरुङको ‘ब्रेक थ्रु’
बुटबल । सिद्धार्थ राजमार्गमा निर्माणाधीन बुटवल-सिद्ध बाबा सुरुङ मार्ग आयोजनामा तीनवटै बाइपास सुरुङको ‘ब्रेक थ्रु’ सम्पन्न भएको छ । हालै सम्पन्न बाइपास दोस्रो १६१ मिटर लम्बाइको छ ।
यसअघि, बाइपास तेस्रोको ब्रेक थ्रु २६ भदौमा र बाइपास पहिलोको ४ असोजमा सम्पन्न भएको थियो, जसको लम्बाइ क्रमशः १३० मिटर र १५१ मिटर छ ।
मुख्य सुरुङ १,१२६ मिटर लम्बाइको छ, जसको ८०० मिटरभन्दा बढी खन्ने काम सम्पन्न भइसकेको छ, तर लाइनिङको काम अझै सुरु भएको छैन । सुरुङ खन्ने कार्य एक वर्षअघि सुरु भएको थियो ।
यो आयोजना चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा निर्माण जिम्मा लिएको छ । यहाँ टनेलसहित दोहोरो लेन, स्लोप प्रोटेक्सनसहित २.५९ किलोमिटर क्षेत्रमा विभिन्न भौतिक संरचना बनिरहेका छन् । पहिलो बाइपास माथिल्लो सिद्ध बाबा मन्दिरतर्फ र तेस्रो बाइपास दोभान ड्याम साइडतर्फ रहेको छ ।
मुख्य सुरुङको दुवैतर्फबाट दैनिक विस्फोटसहित खन्ने काम जारी छ । दुर्घटनाको उच्च जोखिमयुक्त पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानमा सुरुङ मार्ग बनिरहेको छ, जसलाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा लिएको छ । अहिले दैनिक डेढ सयदेखि दुई सय जना कामदारले काम गरिरहेका छन् ।
योजनाअन्तर्गत बुटवलतर्फको चिडिया खोलाबाट ९१० मिटर र पाल्पातर्फ ५६० मिटर दुई लेनमा सडक सुधारको काम पनि थालिने छ । मुख्य सुरुङको ब्रेक थ्रु पछि ढलान र सडक निर्माण सुरु गरिने छ ।