रवि लगायतविरुद्धको अभियोपत्र: आर्थिक लाभका लागि संगठित रुपमै रकम अपचलन



काठमाडौं । पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापित रवि लामिछाने लगायतविरुद्ध आज कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपमा उनीहरुविरुद्ध मुद्दा दर्ता भएको छ ।

गोर्खा मिडिया नेटवर्कका अध्यक्षसमेत रहेका जीबी राई, सञ्चालक छविलाल जोशी, रवि लामिछानेसहितका व्यक्तिले संगठित रुपमा सहकारीको बचत गोरखा अपचलन गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ ।

गितेन्द्र बाबु(जीबी) राईको संगठित समूहले योजना अनुरूप स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड कालिमाटी, सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बुटवल, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, सानोपाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विरगंज र समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नेपालगंज समेतका सहकारी संस्था स्थापना गरेका थिए ।

जीबीको संगठित समूहले सञ्चालन गरेका सहकारीहरूको कार्यक्षेत्र सीमित रहेको अवस्थामा नयाँ कृषी सहकारी संस्था लिमिटेड काठमाडौँको कार्यक्षेत्र नेपालभर रहेकोले उक्त सहकारी मार्फत आफ्नो सञ्जाल बिस्तार गर्ने योजना मुताविक सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बैठकबाट नयाँ कृषी सहकारी संस्था लिमिटेड काठमाडौँसँग एकिकरण गर्नको लागि स्विकृति लिने सम्बन्धी सञ्चालक समितिबाट निर्णय गराई देशैभरी कृषी सम्बन्धी उद्योगहरू खोल्ने भनि नयाँ कृषी सहकारी संस्था लिमिटेडमा सेमत आवद्ध भई जीबी अध्यक्ष रही उक्त समूहमा रहेका अन्य प्रतिवादीहरूलाई उपाध्यक्षमा लिला बहादुर गुरुङ, कोषाध्यक्षमा नविन अछामी, सचिवमा ओम प्रकाश गुरुङ र सदस्यहरूमा असरफ अली सिद्दिकी समेतलाई राखी सञ्चालक समितिमा राखी देशैभर सञ्जाल बिस्तार गर्ने क्रममा रहेको समेत देखिएबाट आर्थिक लाभको लागि सर्वसाधारण बचतकर्ताहरूको बचत रकम हिनामिना गर्ने कार्य निरन्तर र योजनाबद्ध रूपमा गर्दै गरेको पुष्टी भएको अभियोगपत्रमा उल्लेख गरिएको छ ।

जीबी राईको समूहले ब्रिटिस गोर्खा ग्रुपद्वारा प्रवर्द्धित भनि बचतकर्ताहरूलाई आकर्षण गर्ने उद्देश्यका साथ सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापना तथा सञ्चालन गरी, सञ्चालनको क्रममा छिटो र ठूलो रकम बचत सङ्कलन गर्नको लागि ब्रिटिश गोरखामा आवद्ध रहेका व्यक्तिहरूका आफन्तलाई केही समय जिम्मेवार पदमा राखी बचतकर्ताहरूलाई विश्वस्त दिलाउने, आकर्षक व्याजदरको प्रलोभन देखाउने समेतका कार्यबाट छोटो समयमा ठूलो रकम बचत सङ्कलन गरेको देखिएको अभियोगपत्रमा उल्लेख छ।

राईको समूहमा आवद्ध विभिन्न व्यक्तिहरूलाई एकै समयमा फरक-फरक सहकारी संस्थाहरू र उक्त समूहले सहकारी कै बचत अपचलन गरी खडा गरेका कम्पनीहरूमा जिम्मेवार पदमा राखी, सहकारीहरूमा आफूद्वारा र आफ्नो निकटतम् व्यक्तिहरूबाट प्रत्यक्ष नियन्त्रण निर्देशन प्रदान गर्नको लागि प्रतिवादी कुमार रम्तेल, प्रतिवादी रवि लामिछाने, प्रतिवादी छवि जोशी, प्रतिवादी शिव बहादुर गुरुङ, प्रतिवादी सागर के. सी., प्रतिवादी दिनेश रोक्का, प्रतिवादी असरफ अली सिद्दिकी, प्रतिवादी भुपेन्द्र राई, प्रतिवादी थान बहादुर बुढा मगर, प्रतिवादी दिपक लामा समेतलाई परिचालन गरी / गराई सहकारीको बचत संगठ रूपमा अपचलन गरी आफ्नो र आफ्नो समूहको फाइदाको लागि विभिन्न बैंक तथा वित्तिय संस्थाहरूमा रकमान्तर गरी रकमको श्रोत समेत पहिचान नहोस् भन्नाको लागि स-साना परिमाणमा नगद कारोबार समेत गरेबाट यी प्रतिवादीहरू संगठ रूपमा बचत अपचलन गर्ने उद्देश्यका लागि एकिबद्ध भएको पुष्टी हुने आरोपपत्रमा उल्लेख छ ।

त्यस्तै रवि लामिछानेले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट सहकारी ऐन, २०७४ को दफा ५० (६) विपरित गोर्खा मिडिया नेटवर्क प्राईभेट लिमिटेडमा संगठित रुपमा समूह बनाई सहकारीको बचत हिनामिना गरी ल्याई उक्त रकम प्रयोग गरी / धारण गरी सो बापत प्रतिवादी आफैँले दस्तखत समेत गरी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था र स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थालाई भुक्तानी दिएको देखिन आएबाट सहकारी ऐन विपरितको कसूर गरेको देखिने आरोपपत्रमा उल्लेख गरिएको छ।

गोर्खा मिडिया नेटवर्क प्राईभेट लिमिटेडमा कार्यरत रहेका मदन केसीले गरेको घटना विवरण कागजमा साविकको मेघा बैंक लिमिटेड हालको नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको खातामा रकम जम्मा गरेको भनी खुलाएकोमा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको खातामा रकम एक लाख बाह्र हजार र दुई लाख चौबिस हजार मासिक किस्ता बापतको रुपमा जम्मा गर्ने गरेको खुलाएकोमा सो तथ्य समेत पुष्टी भएको आरोप पत्रमा उल्लेख गरिएको छ ।

कुनै पनि सहकारी संस्थाले प्राकृतिक व्यक्ति बाहेकलाई ऋण प्रदान गर्न नपाउने कानूनी व्यवस्था रहेकोमा रवि लामिछाने समेत सञ्चालक रहेको गोरखा मिडिया नेटवर्क कम्पनीमा निज समेतका सञ्चालकहरुले आफ्नो शक्तिको गलत उपयोग गरी सहकारी संस्थाहरूबाट अत्याधिक रुपमा ऋण लिई, सहकारी संस्थाहरूको रकम अपचलन गरेको साथै सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लगायत अन्य सहकारी संस्थाहरूबाट निजहरूले खडा गरेको समूहका व्यक्तिहरूलाई रकम प्रवाह गरेको देखिएको उल्लेख गरिएको छ ।


क्लिकमान्डु