आगामी वर्षा अगावै बिपी राजमार्ग सञ्चालनमा आउला ?

ओभरलोडले नागढुंगा-मुग्लिङ सडकमा दुघर्टनाको जोखिम थपियो


काठमाडौं । गत असोज दोस्रो साताको विध्वंशकारी वर्षा र पहिरोका कारण क्षतिग्रस्त बनेको १६० किलोमिटर दूरीको बीपी राजमार्ग (धुलिखेल–बर्दिवास) लाई पुरानो स्वरूपमा ल्याउन कम्तिमा दुई वर्ष लाग्ने भएको छ । त्यो पनि चाहिएकै परिमाणमा साधन स्रोत उपलब्ध भयो भने मात्र सम्भव छ ।

धुलिखेल र बर्दिबास जोड्ने गरी निर्माण भएको बिपी राजमार्गको निर्माण सम्पन्न गर्न दुई वर्ष लाग्ने सडक विभागको भनाइ छ । यसले गर्दा आगामी वर्षा अगावै यो सडक खण्ड सम्पन्न नहुने निश्चित भएको छ ।

असोज दोश्रो साता परेको अबिरल वर्षासँगै आएको बाढीपहिरोका कारण बिपी राजमार्गको चौकीडाँडादेखि नेपालथोकसम्मको सडक क्षतिग्रस्त बनेका छन् । अधिकांश सडक जगदेखि नै बगेको छ । यो खण्डको २८ किलोमिटरमध्ये १२ किलोमिटर पूर्ण रूपमा क्षति भएको सडक विभागले जनाएको छ ।

अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले क्षतिग्रस्त भएको बिपी राजमार्गमा ३ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको छ ।लामो दूरीसम्म बाटो क्षतिग्रस्त भएपछि अहिले रोशी खोलासँगै अस्थायी डाइभर्सन बनाएर सबारी साधनलाई गुडाउने व्यवस्था मिलाइएको छ ।

‘हामीले चाहेर पनि आगामी वर्षा अगावै बिपी राजमार्ग पूर्ण रुपमा निर्माण गर्न सक्दैनौं,’ सडक विभागका प्रवक्ता उमेशबिन्दु श्रेष्ठले भने, ‘अहिले जति बजेट खन्याएर युद्धस्तरमा काम गरे पनि वर्षाअगावै यो सडकको निर्माण सम्पन्न गर्न सक्ने अवस्था छैन । यसले गर्दा अगामी वर्षाको ३–४ महिनाको यो सडकको सम्पूर्ण चाप नागढुङ्गा–मुग्लिङ्ग सडक खण्डमा पर्ने अवस्था सिर्जना हुँदैछ ।’

आगामी वर्षाअगावै यो सडक खण्ड सम्पन्न नहुँदा यसको सम्पूर्ण भार (लोड) नागढुंगा–मुग्लिङ सडक खण्डमा पर्ने निश्चित छ । नागढुंगा–मुग्लिङ सडक खण्ड आफैमा अहिले विभिन्न स्थानमा पहिरो गएर र बाटो भत्केर क्षतिग्रस्त बनेको छ ।

उपत्यका भित्रिने र बाहिरिने मुख्य सडक नागढुंङा–मुग्लिङ सडक खण्डको विकल्पमा बिपी राजमार्ग पछिल्लो समयमा निक्कै प्रयोग हुँदै आएको थियो । पूर्वी नेपाललाई जोड्ने यो सडक छोटो दूरीका भएकाले पूर्वी नेपाल जाने अधिकांश सवारी चालकले यो बाटो प्रयोग गर्दैआएका थिए ।

त्यसमाथि सडक विस्तारको नाममा लामो समयदेखि निर्माणाधीन अवस्थामा भएकाले उक्त बाटो पनि वर्षाको समयमा निक्कै असुरक्षित मानिएको छ ।

यस्तो अवस्थामा अगामी वर्षा सिजनमा विपी राजमार्ग पूर्णरुपमा ठप्प भएर त्यसको सम्पूर्ण भार नागढुंगा–मुग्लिङ सडक खण्डमा थपिँदा यो रुटमा दुर्घटनाको जोखिम थप बढ्ने यातायात व्यवसायीले जानकारी दिएका छन् ।

‘निश्चित रुपमा वर्षा अगावै बिपी राजमार्गको निर्माण सम्पन्न नभए त्यसको सम्पूर्ण भार नागढुंगा–मुग्लिङ सडक खण्डमा हस्तानान्तर हुनेछ,’ नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले भने, ‘यसले गर्दा नागढुंगा–मुग्लिङ सडक खण्डमा सवारी साधनसँगै यात्रुको ओभरलोड निक्कै थपिन्छ । सवारी साधनको ओभरलोडसँगसँगै दुर्घटनाको जोखिम पनि अहिलेको तुलनामा सयौं दोब्बर बढी थपिनेछ ।’

सिटौलाका अनुसार नागढुंगा–मुग्लिङ सडक खण्ड पनि आफैमा सुरक्षित छैनन् । यो रुटमा झ्याप्पे खोला, कृष्णभिरहुँदै नारायणघाटसम्मको करिब १३६ किलोमिटर सडक निक्कै क्षतिग्रस्त र दुघर्टना भइरहने जोखिमयुक्त क्षेत्र मानिन्छ ।

यो रुट बाढी पहिरोका कारण भत्केको सडक, सडक निर्माणका कारण साँघुरिएको सडक र पहिरो खसिरहने समस्याका कारण सवारी साधनसँगै यात्रुहरु निक्कै जोखिममा परेका छन् ।

नारायणगढ–मुग्लिङ सडक खण्डअन्तर्गत सडक फराकिलो पार्ने क्रममा भित्ता कटिङ्ग गर्दा वातावरणीय पक्षमा गम्भीरताका साथ ध्यान नदिइँदा कारण योङ माउन्टेन भएको पहाडी भागमा पहिरो जाने जोखिम उच्च भएको सरकारले अध्ययन गरेको प्रतिवेदनले औल्याएको छ ।

सिटौलाका अनुसार त्यस्तो अवस्थामा सिर्जना हुने भवितव्य आपातकालीन अवस्थालाई नियन्त्रणमा लिन अहिलेदेखि ठोसपूर्ण तयारी नगरिए ठूलो जनधनको क्षति हुन सक्ने आँकलन वरिष्ठ उपाध्यक्ष सिटौलाले गरेका छन् ।

‘अहिले नै सरकारको निर्माणसम्बन्धी काम गराई यात्रुमैत्री सुरक्षित छैनन, झारा टार्ने गरी मात्रै सडकका पूर्वाधार निर्माण गरिएका छन्, यसले गर्दा वर्षमा सयौं सर्वसाधारणले सडक दुर्घटनाको नाममा अनाहकमा मारिनु परेको छ,’ सिटौलाले भने,‘सरकार जनताको समस्याप्रति सचेत छैन । घटना हुँदा ब्युझिने र घटना सेलाइ सकेपछि सुत्ने प्रवृति सरकारको भएकाले आगामी वर्षात समयमा त्यसको असर नागढुंगा–मुग्लिङ सडक खण्डमा देखिनेछ ।’

सरकारले सिमलताल बस दुर्घटनाको बिषयमा अध्ययन गर्न गठन गरेको समितिले दिएको प्रतिवेदन अनुसार पछिल्लो दशकमा सडकको विकास र विस्तारसँगै दुर्घटनाको घटनामा पनि वृद्धि भएको पाइएको छ ।

सडकको विकास सँगसँगै वातावरणीय पक्ष र सडक सुरक्षालाई ध्यान नदिइएका कारण दुर्घटना अत्यधिक बढेको सरकारी अध्ययन कार्यदलले स्वीकार गरेको छ ।

गतिलो र गुणस्तरीय सडक निर्माण नभएका कारण यातायात व्यवसायीसमेत पीडित बनेको जानकारी गराउँदै सिटौंलाले देशभरकै सडक सञ्जाल भत्केका कारण सवारी साधन दैनिक रुपमा बिग्रेर मर्मत सम्भारको नाममा वर्षमै लाखौं रुपैयाँ खर्च हुने गरेको जानकारी दिए ।

एक सय ६० किलोमिटर बिपी राजमार्ग निर्माण गर्न जापान सरकारलाई २० वर्ष लागेको थियो । यो सडक निर्माण गर्न जापानले २६ अर्ब येन खर्च गरेको थियो । २०५२ सालदेखि बिपी राजमार्ग बनाउन सुरु गरेको थियो ।

निर्माण सम्पन्न भएपछि २०७२ असार १८ गते जाइकाले सरकारलाई औपचारिक रुपमा हस्तानान्तर गरेको थियो । २०७२ सालको भूकम्पबाट बिपी राजमार्गको केही भागमा क्षति पुगेको थियो ।

क्षतिग्रस्त भाग पुनर्निर्माण गर्न १८ महिना लागेको थियो । त्यसबेला मर्मतका लागि पनि जापान सरकारले एक अर्ब ८५ करोड रुपैयाँ अनुदान सहयोग गरेको थियो ।

तत्कालिन समयमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले उक्त राजमार्ग निर्माण गर्दा प्रति किलोमिटर ३५ करोड नेपाली रुपैयाँको दरले लागत खर्च भएको थियो । अहिलेको हिसाबमा निर्माण गर्दा प्रति किलोमिटर ५० करोड रुपैयाँभन्दा माथि पर्ने सडक विभागको भनाई छ ।

नागढुंगा–मुग्लिङ सडक खण्डमा कति थपिनेछ चाप ?

वर्षा अगावै बिपी राजमार्गको क्षतिग्रस्त सडक निर्माण नभए नागढुङ्गा–मुग्लिङ्ग सडक खण्डमा अतिरिक्त दैनिक २४ हजार सर्वसाधारणसहित ४ हजार सवारी साधनको चाप थपिनेछ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरिक्षक संजयकुमार राउतका अनुसार समयमा क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डको निर्माण कार्य सम्पन्न नभए त्यसको चाप निश्चित रुपमा नागढुंगा–मुग्लिङ सडक खण्डमा अत्यधिक पर्ने जानकारी दिए ।

उनका अनुसार अहिले बिपी राजमार्गबाट २ हजारको संख्यामा यात्रुवाहक सवारी साधन उपत्यका भित्रिने र त्यही संख्यामा बाहिरिने गरेको छ । यसरी हेर्दा एक दिनमा ४ हजारको संख्यामा सवारी साधन ओहोर दोहोर गर्छन् ।

१२ हजारको संख्यामा भित्रिने र सोहि संख्यामा बाहिरिने गरी दैनिक २४ हजारको संख्यामा सर्वसाधारण ओहोरदोहोर गर्छन् ।

राउतका अनुसार बिपी राजमार्गको विकल्पमा तुलनात्मक रुपमा महत्वपूर्ण सडक खण्ड नागढुंगा–मुग्लिङ सडक हो । वर्षा अगावै बिपी राजमार्गको क्षतिग्रस्त खण्डको निर्माण सम्पन्न नहुँदा दैनिक २४ हजार सर्वसाधारणसहित ४ हजार सवारी साधनको चाप नागढुंगा–मुग्लिङ सडक खण्डमा थपिनेछ ।

उक्त सडक खण्डबाट दैनिक ३ हजार ४ सय ३७ वटा सवारी साधन भित्रिने गर्छन् । जसबाट ३५ हजारको संख्यामा सर्वसाधारण उपत्यका भित्रिने गर्छन् । सोही संख्यामा सवारी साधन र यात्रु बाहिरिने गरेका छन् ।

यसरी हेर्दा उक्त सडकमार्फत दैनिक रुपमा ६ हजार ८ सय ७४ सवारी साधनमार्फन ७० हजार सर्वसाधारण भित्रिने र बाहिरिने गर्छन् ।

यति धेरै सवारी र यात्रुको चाप भएको नागढुंगा–मुग्लिङ सडक खण्डमा वर्षाको समयमा बिपी राजमार्गमा गुड्ने सवारी साधन र यात्रुको चाप थपिंदा अवस्था झन चुनौतीपूर्ण आउन सक्ने बताइएको छ ।

‘झन वर्षाको समय सुरु भएपछि यो जोखिम सयौं दोब्बर बढ्ने गर्छ,’ सिटौलाले भने,‘त्यस्तो अवस्थामा बिपी राजमार्गको भार पनि एक्कासी थपिँदा कस्तो कहालीलाग्दो अवस्था सिर्जना हुन्छ आफै कल्पना गर्नुस ।’

पुनर्निर्माण गर्न के के हुँदैछ ?

क्षतिग्रस्त यो राजमागको बिषयमा जाइकाको प्राविधिक टोलीले समेत स्थलगत अध्ययन गरिसकेको छ । तर विस्तृत अध्ययन गरेको छैन । विभागका प्रवक्ता श्रेष्ठका अनुसार जाइकाले विस्तृत परियोजना (डिपीआर) अध्ययन गर्न खोजेको छ । डिपीआर गरेर प्रतिवेदन आउन निक्कै समय लाग्छ ।

‘त्यति वेलासम्म हामी हातमा हात राखेर बस्नु भएन,’ प्रवक्ता श्रेष्ठले भने, ‘सरकारले उक्त सडक पुनर्निमाणको लागि कुटनीतिक माध्यमबाट आवश्यक सहयोग गर्न जाइकालाई आग्रह गरिसकेको अवस्था छ । सहयोग गर्ने नगर्ने उनीहरुको बिषय हो । तर हामी आफ्नो तर्फबाट विस्तारै निर्माणको प्रक्रिया सुरु गर्न लागेका छौं ।’

चालु आर्थिक वर्षमा यो सडकको पुनर्निर्माण गर्न बजेटको अभाव छ । यसका लागि विभागले मन्त्रालयमार्फत ९ अर्ब ६६ करोड रुपैयाँको खाका बनाएर अर्थ मन्त्रालयसँग बजेट माग गरेको छ ।

यसमध्ये करिब २ अर्बको हाराहारीमा तत्काल बजेट उपलब्ध हुने विभागले आश राखेको छ । यो बजेट आए पनि यहि आर्थिक वर्षमा निर्माण कार्य तत्कालै बढाउन भने समस्या छ ।

‘अहिलेसम्म बजेटको सुनिश्चितता भएको छैन, यसले गर्दा चालु आर्थिक वर्षमा खासै काम अघि बढ्ने अवस्था देखिँदैन,’ प्रवक्ता श्रेष्ठले भने,‘रकमको जोहो भएपनि सबै प्रक्रिया पूरा गरी आगामी चैत मसान्तसम्म मात्रै टेण्डर आह्वान हुनेछ । परेको टेण्डरको मूल्याँकन सकाएर आगामी आर्थिक वर्षदेखि निर्माण कार्यले गति लिने हामीले लक्ष्य राखेका छौं ।’

यो राजमार्ग तत्कालै निर्माण गर्न पनि नीतिगत रुपमा पनि ठूलो समस्या आइपरेको छ । एक वर्षमै नसक्ने भएकाले विभागले यो सडकलाई बहुवर्षिय ठेक्का प्रणाली अन्तर्गत राखेर निर्माण गर्नुपर्ने बाध्यता छ ।

तर बहुवर्षीय ठेक्का प्रणालीमा जान उक्त सडकको वातावरण प्रभाव मूल्यांकन(ईआईए) अनिवार्य रुपमा गर्नुपर्ने हुन्छ । ईआईएसम्बन्धी सबै प्रक्रियाहरु पूरा गर्न अझै धेरै महिना कुर्नुपर्छ ।

‘यसले गर्दा यो सडकको पुनर्निर्माणसम्बन्धी काम अलपत्र पर्ने जोखिम बढ्छ, ईआईए गर्न प्रक्रिया पनि झन्झटिलो र समय पनि निक्कै लाग्छ,’ श्रेष्ठले भने,‘तर विपी राजमार्गको निर्माण कार्य तत्कालै सुरु गर्नुपर्ने चर्को दबाब छ । हामीले अहिले राष्ट्रिय योजना आयोगसँग तत्कालै काम सुरु गर्नुपर्ने बाध्यता भएकाले ईआईए गरेर बहुवर्षिय ठेक्का प्रक्रियामा विस्तारै जाँदै गरौंला भनेर मनाएर काम अघि बढाउने बिषयमा सहमति गराउन प्रयास गर्दैछौं ।’

उनका अनुसार अब निर्माण हुने क्षतिग्रस्त विपी राजमार्गमा आरसीसी वाल, रिटेनिङ वाल र भित्ता काटेर तथा कुनै स्थानमा जगबाटै पर्खाल उठाएर राजमार्ग पुनर्निर्माण गरिने छ । यसका साथै निक्कै ठूलो संख्यामा ३० देखि ४० मिटरको पुल पनि निर्माण गर्नु पर्नेछ ।

राजधानी जोड्ने वैकल्पिक सुरक्षित सडक खोज्नुपर्ने

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सिटौलाले सरकारले राजधानी जोड्न हालसम्म एउटै पनि सुरक्षित बाटो निर्माण नभएको बताएका छन् ।

‘बाटोको नाममा बाटो बनाएर हुँदैन, ति बाटो यात्रुको लागि बैज्ञानिक रुपमा कति सुरक्षित छ, त्यो पनि बिचार गर्नु पर्छ, अहिले देशैभर स्थानीय तहदेखि संघीय सरकारले सडक खन्ने र निर्माण गर्ने होडवाजी सुरु भएको छ,’ सिटौलले भने,‘मापदपण्ड वेगर जसले पायो त्यसले बनाउने लडह चलेको छ । अधिकाँश सडक बैज्ञानिक रुपमा सवारी साधन र यात्रुको हकमा सुरक्षित छैनन् । यसले गर्दा दुर्घटना दिनानुदिन बढ्दो छ ।’

बैज्ञानिक मापदण्डको आधारमा धेरैभन्दा थोरै सुरक्षित सडक बनाउनु पर्ने उनको सुझाव छ । राजधानी भित्र्ने एउटै पनि सुरक्षित बाटो सरकारले निर्माण नगरेका कारण आगामी वर्षौ वर्षसम्म दुर्घटनाको जोखिम यथावतै रहने उनको ठहर छ ।
सिटौलाको भनाइलाई सरकारी अध्ययन कार्यदलले दिएको प्रतिवेदनले पनि पुष्टि गर्छ ।

गृह मन्त्रालयका सहसचिब छवि रिजालको संयोजकत्वमा गठन भएको दुर्घटना अध्ययन कार्यदलले पनि नेपालको सडकहरु सुरक्षित नभएको निश्कर्षसहितको प्रतिवेदन दिएको छ । सिमलताल बस दुर्घटना अध्ययन गर्न सरकारले गत असार ३१ गते रिजालको संयोजकत्वमा अध्ययन कार्यदल गठन गरेको थियो ।

‘नेपालमा सडक निर्माणलाई जति प्राथमिकता दिइएको छ, त्यसको तुलनामा समग्र वातावरणीय पक्ष र सडक सुरक्षालाई ध्यानमा राखेको पाइदैंन,’ कार्यदलका संयोजक छवि रिजालले प्रतिवेदनमा उल्लेख गरेका छन्, ‘खासगरी पहाडी तथा भिरालो जमिनमा पनि जथाभावी भारी उपकरणको प्रयोग गरी सडक खनिनु, सडक खन्दा वातावरणीय पक्षमा पर्ने प्रभावलाई पटक्कै ख्याल नगर्नु, सडक निर्माणका क्रममा कट एण्ड फिल सिद्धान्तलाई प्रयोगमा नल्याइनु र नियमनकारी निकायबाट प्रभावकारी नियमन हुन नसक्दा सडक सुरक्षाको बिषय ठूलो चुनौती बनेको छ ।’

नागढुंगा–मुग्लिङसम्म पर्याप्त फराकिलो भएको दुई लेनको सुरुङ्ग मार्ग निर्माण गरी त्यो बाटोबाट यात्रु वाहक सवारी साधन मात्रै ओहोर दोहोर गर्ने व्यवस्था गर्न सकिए वर्षमा हजारौंको संख्यामा सर्वसाधारणको ज्यान जोगाउन सकिने सिटौलाको सुझाव छ ।

‘अहिले निर्माण गरेको नागढुङ्गा सुरुङ्गमार्ग दुई लेनको मात्रै भएनि मुग्लिङसम्म निर्माण गरिएको भए सडक दुघर्टनाको नाममा सयौं व्यक्तिले अनाहकमा ज्यान गुमाउने थिएन,’ सिटौलाले भने,‘जनताप्रति सरकार उत्तरदायित्व नभएकाले यस्तो गम्भीर समस्या आएको हो ।’

६ वर्षमा डेढलाख सवारी दुर्घटना

सरकारी अध्ययनअनुसार नेपालमा सडक दुर्घटनामा प्रतिदिन ८ जनाको मृत्यु र १६ जनाको अंगभंग हुने गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो ६ वर्षको अवधिमा नेपालमा १ लाख २० हजार ६ सय २६ वटा घटना भएका छन् । ६ वर्षमा सडक दुर्घटनाका कारण १५ हजार १ सय ६८ जनाले मृत्युवरण गर्न बाध्य भएका छन् भने ३४ हजार ६ सय २८ जना अंगभंगसहित गम्भीर प्रकृतिको घाइते भएका छन् ।

यस्तै सडक दुर्घटनाका कारण १ लाख १६ हजार ७ सय ५९ जना सामान्य घाइते भएका थिए ।

गत आर्थिक वर्ष २०८०/८१ मा मात्रै २२ हजार ९ सय २७ वटा सवारीका दुर्घटना भएको थियो । जसमा २ हजार ३ सय ६९ जनाको मृत्यु भएको थियो भने ६ हजार १ सय ६० जना गम्भीर घाइते भएका थिए । त्यस्तै २५ हजार ९ सय ९६ जना सामान्य घाइते भएका थिए ।

यस्तै, आर्थिक वर्ष २०७९/८० मा २३ हजार ५ सय ९७ सवारी दुर्घटनामा २ हजार ३ सय ७६ जनाको मृत्यु भएको थियो भने ५ हजार ७ सय ३८ जना गम्भीर घाइते भएका थिए । त्यस्तै यी दुर्घटनामा २४ हजार ४ सय ८८ जना सामान्य घाइते भएका थिए ।

आर्थिक वर्ष २०७८/७९ मा २४ हजार ५ सय ३७ सवारी दुर्घटनामा २ हजार ८ सय ८३ जनाको मृत्यु भएको थियो भने ७ हजार २ सय ८२ जना गम्भीर घाइते भएका थिए । त्यस्तै, २५ हजार ७ सय २२ जना सामान्य घाइते भएका थिए ।

यसैगरि, आर्थिक वर्ष २०७७/७८ मा २० हजार ६ सय ४० सवारी दुर्घटनामा २ हजार ५ सयजनाको मृत्यु भएको थियो भने ६ हजार ४ सय ४८ जना गम्भीर घाइते भएका थिए । यस्तै, १८ हजार ६ सय सामान्य घाइते भएका थिए ।

आर्थिक वर्ष २०७६/७७ मा १५ हजार ५ सय ५९ सवारी दुर्घटनामा २ हजार २ सय ५१ जनाको मृत्यु, ४ हजार ६ सय २४ जना गम्भीर घाइते र ११ हजार ५ सय ९३ जना सामान्य घाइते भएका थिए ।

त्यस्तै आर्थिक वर्ष २०७५/७६ मा १३ हजार ३ सय ६६ दुर्घटनामा २ हजार ७ सय ८९ जनाको मृत्यु, ४ हजार ३ सय ७६ जना गम्भीर घाइते र १० हजार ३ सय ६० जना सामान्य घाइते भएका थिए ।