सहकारी ठगी: रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता हुने
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लगायतविरुद्ध सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणमा आज मुद्दा दर्ता हुने भएको छ ।
कास्की जिल्ला अदालतमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा गर्न लागेको हो । यसअघि आठौं पटक अदालतले रवि लगायतलाई थप गरेको म्याद आज सकिँदै छ ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको आरोपमा लामिछानेमाथि अनुसन्धान भएको हो ।
गोर्खा मिडियामा लामिछानेको सेयरका साथै उनी प्रबन्ध निर्देशक थिए । यो मुद्दामा गोर्खा मिडियाका तत्कालीन संचालक तथा पूर्वडीआइजी छविलाल जोशी, लिला पछाई, रामप्रसाद खनाल र कृष्ण गुरुङविरुद्ध पनि मुद्दा दर्ता गर्न लागिएको छ।
सरकारी वकिलको कार्यालयले शुक्रबार नै मुद्दा दर्ता गर्नुपर्ने कानुनी बाध्यता रहेको छ । सहकारी ठगीको अनुसन्धान गर्न २५ दिन, संगठित अपराधमा ६० दिन, र सम्पत्ति शुद्धीकरण ऐनमा ९० दिनको कानुनी हदम्याद हुन्छ ।
पूर्वडीआइजी छविलाल जोशी असोज ६ गते पक्राउ परेका थिए, र उनको पक्राउको मितिबाट हदम्याद गणना गरिएको छ । यसअघि लामिछानेलाई अनुसन्धानका लागि आठ पटकसम्म म्याद थप गरिएको थियो ।
प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझाएको प्रतिवेदनमा ५१ जनालाई प्रतिवादी बनाउने सिफारिस गरिएको छ । तीमध्ये ९ जना पुर्पक्षका लागि कारागारमा छन् भने ५ जना हिरासतमा छन् । मुख्य योजनाकार मानिएका जिबी राईसहित ३७ जना फरार रहेको प्रहरीले जनाएको छ ।
सूर्यदर्शन सहकारी ठगीमा १ अर्ब ५१ करोड ४० लाख रूपैयाँ बिगो असुल गर्न सरकारी वकिलको कार्यालयलाई राय दिएको छ।