३५ वर्ष बैंकिङ अनुभव भएका रेग्मी बैंकर्स संघको वेटिङ अध्यक्ष, को हुन् उनी ?



काठमाडौं । देशकै ठूलो ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी नेपाल बैंकर्स संघ (एनबीए)को उपाध्यक्ष बनेका छन् । संघको उपाध्यक्ष पदका लागि अन्य कसैको मनोनयन नपरेपछि उनी स्वतः उपाध्यक्ष बनेका हुन् ।

रेग्मी गत भदौ १ गतेदेखि ग्लोबल आईएमई बैंकको सीईओ पदमा छन् । बैंकर्स संघका अभ्यासअनुसार आगामी कार्यकालमा रेग्मी संघको अध्यक्ष बन्नेछन् ।

आजैदेखि माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला संघको अध्यक्ष बन्दैछन् । कोइरालाको २ वर्षे कार्यकालपछि संघको नेतृत्वमा अर्को कुनै सीईओको दाबी नभएको स्थितिमा रेग्मी आउनेछन् ।

रेग्मी यसअघि ग्लोबल आईएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत थिए । उनले विभिन्न बैंक तथा वित्तीय संस्थामा काम गरिसकेका छन् । व्यापार नीति, औद्योगिक ऋण, ऋण रिकभरी, शाखा सञ्चालन, ऋण जोखिम तथा प्रशासन जस्ता विभिन्न बैंकिङ विभागमा रेग्मीले कार्यानुभव हासिल गरिसकेका छन् ।

रेग्मीले बेलायतको युनिभर्सिटी अफ वेल्सबाट सन् २००१ मा एमबीए गरेका छन् । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर पनि गरेका छन् ।

रेग्मी २०६५ बैशाखमा ग्लोबल आईएमई बैंकमा नायव प्रबन्धक तहबाट प्रवेश गरेका थिए । बैंकिङ क्षेत्रसँग सम्बन्धी दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिमहरु लिएका रेग्मी मर्जर व्यवस्थापन तथा कर्जा लगानी क्षेत्रमा अब्बल मानिन्छन् ।

ग्लोबल आइएमई बैंक निक्षेपकर्ता र शाखा विस्तारमा देशकै ठूलो बैंक मानिन्छ । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । सोही बैंकका सीईओ बैंकर्स संघको अध्यक्ष बनेका हुन् ।


क्लिकमान्डु