दृढ अठोटको जगमा उभिएका ‘एक्सिडेन्टल बैंकर’ सन्तोष कोइराला बने बैंकर्स संघको अध्यक्ष
काठमाडौं । दृढ अठोटका जगमा उभिँदा कोही कसैले कसरी सफलता हासिल गर्न सक्छ भन्ने उत्तम उदाहरण हुन्, नेपाल बैंकर्स संघका निवनिर्वाचित अध्यक्ष सन्तोष कोइराला । इन्जिनियर बन्ने सपनामाथि तुसारापात भएपछि चार्टर्ड एकाउन्टेन्ट (सीए) बन्नेतर्फ जीवनको बाटो मोडिनु र सीए बन्नै लाग्दा अन्तिम घडीमा भाग्यले समेत ठगे पनि अथक मिहिनेत र अठोटले मान्छेलाई कसरी सफल बनाउँछ भन्ने पर्याय हुन् उनी ।
माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कोइराला उतारचढावको माझ पनि कसरी आजको पोजिसनमा छन् भन्ने बुझ्न ५ दशक अघिको इतिहासका पाना पल्टाएर घटनाक्रम बुझ्न आवश्यक हुन्छ ।
२०३० सालमा पूर्वी पहाडको भोजपूरमा जन्मिएका कोइरालाले कक्षा ५ सम्मको अध्ययन स्थानीय सिद्देश्वर माविबाट पूरा गरे । बुबा सरकारी जागिरे हुनुहुन्थ्यो । नायव सुब्बामै कार्यरत छँदा बुवाले अवकास पाएपछि कोइराला परिवार झापाको चन्द्रगढीमा बसाइ सर्यो ।
परिवार २०३८ सालमै झापा झरे पनि सन्तोष २ वर्षपछि अर्थात् २०४० सालमा मात्रै तराई झर्न पाए । तीक्ष्ण बुद्धि भएका उनी पढाइमा जहिल्यै प्रथम हुन्थे । स्कुलदेखि नै सेकेन्ड भएको रेकर्ड थिएन ।
कोइरालाले झापाको वीरेन्द्र माविबाट २०४५ सालमा एसएलसी दिए । १५ वर्षको कलिलो उमेरमा एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण भए उनी ।
त्यसपछि उनी सुरक्षित र आकर्षक करिअर मानिने इन्जिनियर बन्ने सपना साकार बनाउन राजधानी काठमाडौं हानिए ।
इन्जिनियर बन्ने योजनालाई मूर्तरुप दिन एलएलसीपछि आईएस्सी (विज्ञानमा इन्टरमेडियट) पढ्नु पर्थ्यो । त्यसैले इन्टर पढ्न अमृत साइन्स क्याम्पस (अस्कल) भर्ना भए । आईएस्सी पास त गरे । तर चित्त बुझ्दो नम्बर आएन ।
स्नातकमा इन्जिनियर अध्ययन गर्दै सफल इन्जिनियर बन्न एउटा मात्रै विकल्प पुल्चोक इन्जिनियरिङ क्याम्पसमा नाम निकाल्नु पर्ने थियो। त्यहाँ गएर फारम भरे । तर, इन्जिनियर बन्ने सपनामाथि तुषारापत तब भयो जब परीक्षा छाडेर भाइको ब्रतवन्धका लागि झापा जानु पर्यो । यता उनको प्रवेश परीक्षा छुट्यो ।
इन्जिनियर बन्ने सपनालाई बिसर्जन गर्दै झापा फर्किए उनी । मेची बहुमुखी क्याम्पसमा बीकम (वाणिज्यमा स्नातक) पढ्न थाले । केही वर्ष झापा बसे, त्यहाँ पनि पढ्दै गर्दा कहिल्यै दोस्रो भएनन् ।
सपना ठूलो थियो, गन्तव्य टाढा । पुनः काठमाडौं फर्किएर शंकरदेव क्याम्पसमा भर्ना भए । शंकरदेव क्याम्पस पढ्दै गर्दा क्याम्पस चिफले एकदिन सन्तोषलाई बोलाएर भने, ‘सन्तोष तिमी ट्यालेन्ट छौं, चाटर्ड एकाउन्टेन्सी (सीए) पढ ।’
त्यतिबेला सीए ठूलै नाम थियो । सपना पुरा गर्न नसके पनि बाटो मोडेर नयाँ उचाइ प्राप्त गर्ने दृढसंकल्प गरे ।
सफल बन्ने अठोटले कोइरालाई भारतसम्म पुर्यायो । इन्जिनियर बन्न नसकेतापनि अब सीए बन्छु भन्ने प्रतिज्ञा मनमा थियो ।
सीए अध्ययन गर्न भारतको चेन्नइ गए । त्यसबेला सुरेन्द्र पौडेल (नेपाल आयल निगमका पूर्वप्रमुख) पनि चेन्नइमै थिए । पौडेल-कोइराला ६ महिनासम्म एकै कोठामा बसेर पढे ।
तर, भाग्यले उनलाई सीए पनि दिएन । भाग्यको खेलमा स्वाथ्यले फाउल हान्यो । सीए पढ्दै गर्दा उनको स्वास्थ्यमा समस्या देखियो, उनलाई जन्डीसले थला पार्यो ।
निकै बिरामी परेपछि कोइराला झापा फर्किए । चेन्नइको वातावरण नमिलेकाले बिरामी भएको भन्दै उनलाई बुबाआमाले सीए पढ्न जान दिएनन् । त्यसपछि यहीँ बसेर भारतीय दुतावासमार्फत् सीएको परीक्षा दिए तर नतीजा उनको पक्षमा आउन सकेन । यसले सीए बन्ने उनको सपनामा पनि पूर्णबिराम लाग्यो ।
इन्जिनियर र सीए बन्ने सपना तुहिएपछि त्रिभुवन विश्वविद्यालयमा प्राइभेटतर्फ एमबीए (बिजनेस प्रशासना स्नातकोत्तर)मा भर्ना भए । कोइराला एमबीएमा पनि दोस्रा भएनन् । तर, प्राइभेट भएकाले गोल्ड मेडल पाउनबाट बञ्चित भए ।
सीए बन्न नसकेपनि लेक्चरर भने बन्छु भन्ने सोच उनको मनमा थियो ।
तर, पढाउने सोच सोच एकातिर राखे । किनकी उनलाई कुनै हालतमा सफल बन्नु थियो । यो अठोट पुरा गर्न एउटा प्रोफेसन छान्नुपर्ने थियो ।
सोही क्रममा सन् १९९९ मा बैंक अफ काठमाण्डूमा भ्याकेन्सी खुल्यो । उनले जुनियर असिस्टेन्टमा फारम भरे । पुतलीसडकस्थित कुमारी हलको पछाडि नेशनल कलेज छेउ बृहस्पती विद्या सदनमा परीक्षा भएको थियो ।
बैंक अफ काठमाण्डूमा उनको नाम निस्कियो । सन् २००० मार्चको महिनाबाट बैंक अफ काठमाण्डूमा उनले जागिर थाले ।
त्यतिबेला कोइरालाको तलब ५ हजार रुपैयाँ थियो । जागिर खाएको ८/९ महिनामै विवाह गरे । यता कोइरालाकी ठूली छोरी जन्मिइन् । उता जागिर हटौंडामा थियो । यस्तो अवस्थामा पनि परिवारभन्दा टाढा बस्नुपरेको पीडाबोध भइरहन्थ्यो उनलाई ।
तर पनि उनी एक इन्च डगमगाएनन् । लक्ष्य अझै पनि निकै टाढा थियो ।
यसैबीच एक राष्ट्रियस्तरको बैंकका लागि भनेर एक दैनिक पत्रिकामा जागिर खुल्यो । उनले काठमाडौंमा काम गर्न पाइन्छ भनेर फारम भरे। परीक्षामा उत्तीर्ण पनि भए । जब अन्तर्वार्ताका लागि बोलाइयो तब उनले थाहा पाए त्यो त सानिमा विकास बैंक रहेछ ।
वाणिज्य बैंकमा काम गरिरहेका कोइरालालाई विकास बैंकमा काम गर्न केही संकोच लाग्यो । तैपनि काठमाडौंमै पोस्टिङ हुने भएकाले उनी काम गर्न राजी भए । परिवारसँग बस्न पाउने लोभले उनमा थियो त्यतिबेला । पहिलेभन्दा एक पोस्ट पदोन्नती पनि भयो र साथमा तलब पनि ।
सानिमा बैंकमा १३ वर्ष काम गरे । उनले काम थालेको ११ वर्षपछि सानिमा विकास बैंक वाणिज्य बैंकमा स्तरोन्नति भयो । उनी पनि बढुवा हुँदै म्यानेजरसम्म पुगे ।
यसैबीच माछापुच्छ्रे बैंकका तत्कालीन डीजीएम उमेशसिंह भण्डारीले सिनियर म्यानेजर बनेर माछापुच्छ्रे आउन अफर गरे । त्यतिबेला बैंकका सीईओ थिए तुलसीराम गौतम । माछापुच्छ्रेबाट आएको त्यो अफरलाई कोइरालाले स्वीकार गरे । पछि बढुवा भएर डेपुटी सीईओ भए । २०७७ वैशाख १ गतेदेखि लागू हुनेगरी सीइओ बने ।
एक वर्षअघि माछापुच्छ्रे बैंकको सञ्चालक समितिले कोइरालालाई प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा दोहोर्याउने गरी ४ वर्षका लागि पुनर्नियुक्ति दियो । सोहीअनुसार गत वैशाखदेखि उनको दोस्रो कार्यकाल सुरू भएको हो ।
दृढता र मिहिनेतको बलमा बैंक छिरेका तथा नेतृत्व गर्ने लक्ष्यप्राप्तिको अठोट बोकेर २७ वर्ष बैंकमा बिताएका कोइराला यसरी निखारिएका छन् कि कम्प्लायन्स (अनुपालना)मा आज उनको सबैभन्दा ठूलो सामर्थ्य हो । यही सामर्थ्यले करियरको छोटो समयमै यो उपलब्धि दिएको छ । छोटो समयमै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा चिनिने कोइरालालाई बैंकर्स संघको अध्यक्ष पदले नयाँ परिचय दिएको छ ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकका सीईओहरूको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्ष बनेसँगै कोइरालाको सफलतामा नयाँ पहिचान थपिएकध छ । बैंक तथा वित्तीय संस्थाको नेतृत्वदायी संगठन बनेर उदाएको संघलाई नयाँ गति दिन पनि कोइरालाजस्तो सबल नेतृत्व, प्रखर वक्ता, कुशल कार्यशैली र प्रष्ट भिजन भएका व्यक्ति उपयुक्त रहेको टिप्पणी भरहेको छ ।
उनको नेतृत्वका बारेमा जान्नका लागि माछापुच्छ्रे बैंकमा उनको यात्रालाई बुझौं ।
कोरोना महामारी सुरु भएपछि बैंकको नेतृत्व सम्हालेका उनले पहिलो कार्यकालमा माछापुच्छ्रे बैंकको विभिन्न सूचकमा उल्लेख्य सुधार गर्दै डिजिटल प्रविधिमा फड्को मार्न सघाए भने संस्थागत सुशासनमा अब्बल सावित गराउन सफल भए ।
एक दशकदेखि माछापुच्छ्रे बैंकमा कार्यरत कोइराला डेपुटी सीइओ हुँदैखेरी अर्थात् २०७६ चैत २ गतेदेखि कामू सीईओमा पदोन्नती भएका थिए । सिनियर म्यानेजरबाट एजीएम, डीजीएम हुँदै बैंक प्रवेश गरेको ७ वर्षमै उनी सीइओ भएका हुन् ।
कोरोना महामारी र त्यसपछि अर्थतन्त्रमा देखिएको संकुचनका बीचपनि माछापुच्छ्रे बैंकले सन्तोषको नेतृत्वमा सन्तोषजनक प्रगति गरेको थियो ।
यसरी बैंकिङ करियरमा अर्ग्यानिक ग्रोथ गरेका र मिहिनतले खारिएका कोइराला अहिले बैंकर्स संघको अध्यक्ष बनेका हुन् ।
सबै राजनीति गर्नेहरु मन्त्री प्रधानमन्त्री बन्दैनन् । सबै सिपाही प्रहरी प्रमुख बन्दैनन् । सबै राष्ट्र बैंकका जागिरे गभर्नर बन्दैनन् । त्यसैगरी सबै बैंकका जागिरेहरु सीईओ बन्दैनन् ।
इन्जिनियर र सीए बन्न नसकेपछि ‘एक्सिडेन्टल बैंकर’ बनेका उनले हरेस कहिल्यै खाएनन् । करिअर सुरु गरेपछि ‘प्यासन’का साथ काम गरे । धेरै मिहेनत गरे, इमानदार भएर कार्यालयलाई पूरा समय दिए र कार्यालय व्यवस्थापनमा सफल भएको देखेर नै बैंकले उनलाई दोहोर्याएको थियो । अहिले बैंकर्स संघले अध्यक्ष चुन्यो ।
आफूसँग भएको ज्ञानलाई कन्भर्ट गरेर सम्पूर्ण कर्मचारी, सञ्चालक समिति, नियामक निकाय र सरोकारवालासँग राम्रो सम्बन्धमा रहनुपर्छ भन्ने कोइरालाको व्यवस्थापकीय सुत्र हो । ग्राहकप्रति उत्तरदायी हुनुपर्ने र कर्मचारीको मनोवल राख्नुपर्नेमा बढी उनी सचेत छन् । कोइराला टिम वर्कमा विश्वास गर्छन् ।
कोइरालाका अनुसार बैंकिङ नियमनभित्र बसेर नीति, निर्देशन कानून मानेर काम गर्नुपर्छ । बैंक निक्षेपकर्ताको सुरक्षा गर्ने ठाउँ हो । बैंक समस्यामा पर्दा निक्षेपकर्ता डुब्छन् । सर्वसाधारण निक्षेपकर्ताको पैसाले बैंक चल्छ । नियन्त्रणसहितको आक्रमकता आफूले लिने रणनीति भएको बताउँछन् उनी ।
बैंकिङपछि अध्यापन र राजनीतिमा चासो राख्ने कोइराला सक्रिय बैंकिङपछिको अध्यापन नै गर्ने सोच बनाएका छन् ।