काठमाडौं । थप दुई पेट्रोलियम पाइपलाइन अघि बढाउने बिषयमा नेपाल र भारत पक्षले गठन गरेको सञ्चालक कमिटी (स्टेरिङ्ग कमिटी) को दोश्रो बैठक काठमाडौंमा सम्पन्न भएको छ ।
सिल्लीगुडी–झापा (चारआली) र अमलेखगञ्ज–लोथर पाइपलाइन परियोजनालाई अगाडि बढाउने बिषयमा छलफल भएको छ ।
भारतको तर्फबाट इण्डियन आयल कर्पोरेशन(आईओसी) को तर्फबाट नेपाल कन्ट्रि म्यानेजर निरुपमा रायज्यादाको नेतृत्वको ४ सदस्यीय र नेपालतर्फबाट बजार निर्देशक तथा नायब कार्यकारी निर्देशक इन्जिनियर बीरेन्द्र गोइतको नेतृत्वमा ४ सदस्यीय टोलीले उक्त बैठकमा सहभागिता जनाएका थिए ।
दुवै पक्षको स्टेरिङ्ग कमिटीले बैठकमा ति दुवै पाइपलाइन निर्माण हुने स्थान क्लिरेन्स गर्ने, पाइपलाइनको रुटमा पर्ने रुख विरुवा काट्ने बिषयमा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) लगायतका बिषयमा छलफल गरि गरेको थियो ।
दुवै पक्षले आ आफ्नो तर्फबाट पाइपलाइनको काम अघि बढाउने क्रममा आइपर्ने समस्या समाधान गर्ने बिषयमा सहमति जनाएको निगम स्रोतले जनाएको छ ।
त्यस्तै निगमले निश्चित समयभित्र साइट क्लिरेन्स गरि उपलब्ध गराउनुपर्ने, फिल्ड सर्वेसम्बन्धी प्रतिवेदन र डेटा उपलब्ध गराउनुपर्नेलगायतका बिषयमा पछि एक अर्को कमिटीलाई सहयोग गर्ने प्रतिवद्धता जनाइएको छ ।
बैठकमा उपस्थित भएका निगमको कार्यकारी निर्देशक चण्डिका भट्टले निर्धारित समयभित्र ति दुवै परियोजना सम्पन्न हुने आशा व्यक्त गरे ।
निगमको इन्जिनियरिङ्ग परियोजना तथा सूचना प्रविधि विभागका ईन्जिनियर विनितमणि उपाध्यायका अनुसार ति दुई पाइनलाइनमा सिल्लीगुडी–झापा (चारआली) र अमलेखगञ्ज–लोथर पाइपलाइन छन् ।
दुई पाइपलाइन र चारआलीको स्मार्ट ग्रीनफिल्ड टर्मिनल निर्माणका लागि भारत सरकारले करिब १५ अर्ब भारतीय रुपैयाँ लगानी गर्ने सम्झौतामा उल्लेख छ ।
निगमका अनुसार दुई पाइपलाइन र दुई भण्डारण गृहसहित दुई स्मार्ट ग्रीनफिल्ड टर्मिनल निर्माण कार्य सम्पन्न गर्न भने कूल २४ अर्ब ५० करोड २२ लाख ८३ हजार नेपाली रुपैयाँ (१५ अर्ब ३० करोड भारतीय रुपैयाँ) को लगानी हुँदैछ ।
तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा रहेको वेला २०८० जेठ १७ गते समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीसमेतको उपस्थितिमा ३ बुंदे सरकारद्वारा सरकारलाई (गर्भमेन्ट टु गर्भमेन्ट –जीटुजी) समझदारी भएको थियो ।
दाहाल र भारतीय समकक्षी मोदीको उपस्थितिमा तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र भारतीय पेट्रोलियम मन्त्री हरदीपसिंह पुरीले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।
झापा(चारआली) पेट्रोलियम पाइपलाइन आयोजनाअन्तर्गत चारआलीमा आयोजना सम्पन्न गर्न ११ अर्ब १४ करोड ६१ लाख ३६ हजार नेपाली रुपैयाँको लगानी लाग्नेछ ।
जसअन्तर्गत भारतको वेस्ट वंगालस्थित सिल्लीगुडीदेखि झापाको चारआलीसम्म ५० किलोमिटर दूरीमा पेट्रोलियम पाइपलाइन ओछ्याइनेछ ।
सिल्लीगुडीको आईओसीको डिपोदेखि बोर्डरसम्म ३६ किलोमिटर र बोर्डरदेखि झापाको चारआलीसम्म १४ किलोमिटर गरी ५० किलोमिटर खण्डमा पाइपलाइन ओछ्याइने छ ।
निगमले झापाको मेचीनगर नगरपालिका १३ स्थित चारआली चोकदेखि २ किलोमिटर दक्षिणपूर्वमा २०८० फागुन ३० गते २३ विघा ३ कठ्ठा १३ धुरजग्गा खरिद गरेको थियो ।
सोही जग्गामा निगमले सिल्लीगुडीबाट पाइपलाइन ल्याउन लागेको हो । यही क्षेत्रमा निगमले इन्धन भण्डारण गर्न भण्डार गृह र अत्याधुनिक अटोमेसन प्रविधि सुविधा भएकोे लोडिङ्गसेडिङ्गसहितको ग्रीनफिल्ड स्मार्ट टर्मिनल पनि निर्माण गर्दैछ ।
यो आयोजनाअन्तर्गत पाइपलाइन ओछ्याउनको लागि २ अर्ब ६७ करोड भारतीय रुपैयाँ र भण्डारण गृहसहित टर्मिनल निर्माण गर्न ४ अर्ब २९ करोड भारतीय रुपैयाँ लगानी हुनेछ । यो लगानी भारत सरकारले व्यहोर्ने बीटुबीमा उल्लेख छ ।
चारआलीमा पेट्रोलतर्फ २ हजार २ सय किलोलिटर क्षमताको ३ वटा गरी कूल ६ हजार ६ सय किलोलिटरको भण्डारण गृह र डिजेलतर्फ ४ हजार १ सय किलोलिटर क्षमताको ३ वटा गरी कूल १२ हजार ३ सय किलोलिटरको भण्डारण गृह निर्माण गर्ने बीटुवीमा उल्लेख छ ।
यस्तै अमलेखगञ्ज–चितवन(लोथर) पाइपलाइन परियोजना अन्तर्गत ६२ किलोमिटर दूरीको पाइपलाइन निर्माण हुुनेछ । यो परियोजनामा १३ अर्ब ३५ करोड ६१ लाख नेपाली रुपैयाँको लगानी लाग्नेछ । परियोजना अन्तर्गत पलाइन, भण्डारण गृह र ग्रीनफिल्ड स्मार्ट टर्मिनल निर्माण हुनेछ ।
अमलेखगञ्ज–चितवन(लोथर) पाइपलाइन निर्माण गर्न लाग्ने खर्च २ अर्ब ४२ करोड भारतीय रुपैयाँ भारतले व्यहोर्ने छ भने भण्डारण गृहसहित निर्माण हुने ग्रीनफिल्ड स्मार्ट टर्मिनलको लागत खर्च ५ अर्ब ९२ करोड भारतीय रुपैयाँ निगमले व्यहोर्ने सहमति भएको छ ।
जसअनुसार पेट्रोलतर्फ ११ हजार किलोलिटर क्षमताको तीन ट्याँकी गरी कूल ३३ हजार किलोलिटर र डिजेलको १५ हजार ५ सय किलोलिटर क्षमताको तीन ट्याँकी गरी कूल ४६ हजार ५ सय किलोलिटरको भण्डारण गृह निर्माण गरिनेछ ।
यस्तै मट्टितेलतर्फ ८ सय किलोलिटर क्षमताको दुई ट्याँकी गरी कूल १ हजार ६ सय किलोलिटर र हवाई इन्धनको ३ हजार ६ सय किलोलिटर क्षमताको तीन ट्याँकी गरी कूल १० हजार ८ सय किलोलिटरको भण्डारण गृह निर्माण गर्न लागिएको छ ।
पाइपलाइन, भण्डारण गृह र टर्मिनलको भौतिक पूर्वाधार निगमले चितवनको लोथर खोला किनारमा खरिद गरेको २३ विगहा १२ कट्हा जग्गामा निर्माण गर्न लागेको हो ।
प्रतिक्रिया