रविलाई सूर्य थापाले भने: को ठग हो, को होइन अदालतले निर्णय गर्छ, रोइलो गरेर हुँदैन



काठमाडौं । सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले अब सहकारी ठगहरु आकाशमाथि, जमिनमुनि जहाँसुकै भएपनि कानुनको दायरामा आउने बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रममाउनले आफू सभापति रहेको सो संसदीय विशेष समितिले दिएको प्रतिवेदनले काम गरिरहेको बताएका हुन् ।

‘म तपाईँहरुलाई भन्न चाहन्छु–अब सहकारी ठगीमा फरार व्यक्तिहरु आकाशमाथि, जमिनमुनि जहाँसुकै भएपनि अब जोगिने अवस्था छैन । प्रतिवेदनले यो काम गरेको छ । सबैलाई कानुनको दायरामा ल्याउँछ । पानीमुनि गएपनि छोड्दैन, आकाशमाथि गएपनि छोड्दैन,’ उनले भने ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र उनीकी श्रीमतीबीच भएको सम्बन्धविच्छेदलाई उनले ‘सहकारी डिभोर्स’ को संज्ञा दिए । ज्योति गुरुङ अमेरिकामा रहेको आफूहरुले प्रतिवेदनमा पनि उल्लेख गरेको र अहिले सरकारले ज्योति गुरुङसहित ज्योति बहादुर भण्डारीको नाममा समेत रेडकर्नर नोटिस जारी गरिसकेको उनले जानकारी गराए ।

सहकारी ठगी अभियोगमा फरार गितेन्द्रबाबु राईको राहदानीसमेत रोक्का भइसकेको उनले बताए । अनुसन्धान अधिकारीको सहमतिको राहदानी विभागले जिबीको पासपोर्ट रोक्का गरेको उनले बताए । नेता थापाले सरकार जिबीलाई नेपाल ल्याउने प्रक्रियामा लागिरहेको पनि बताए ।

‘पहिले सहकारी ठगी वा ठगीको विषयमा मात्रै राहदानी रद्द हुने विषय थिएन । अहिले संगठित अपराधमा पनि मुद्दा अगाडि बढिसकेपछि अनुसन्धान गर्ने अनुसन्धान अधिकारीको सहमतिमा अहिले उनको पासपोर्ट रद्द गर्ने र उनलाई ल्याउने र कारकाहीको दायरामा प्रस्तुत गर्ने प्रकृया अगाडि बढेको छ । यद्यपि उनलाई नेपाल ल्याइसकिएको छैन,’उनले भने ।

संसदीय विशेष समितिका केही सदस्यहरुले आफ्नो कर्तव्यबोध नै नगरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । उक्त समितिमा पाँच दलका सात जना सदस्य रहेको र सर्वसम्मतिमा प्रतिवेदन पास भएको बताउँदै उनले सो प्रतिवेदन कुनै व्यक्ति केन्द्रीत भयो भन्नु शोभनीय नहुने बताए ।

‘यो प्रतिवेदन आएपछि केही मान्छेहरुमा कर्तव्य बोधको समस्या देखापरेको छ । समितिमा हामी पाँच पार्टीका सात जना थियौं । सातै जनाको सर्वसम्मतिमा त्यो प्रतिवेदन तयार भएको हो । अहिले प्रतिवेदन एक जना व्यक्तिमाथि केन्द्रीत भयो भनेर भ्रम फैलाउने काम गरिएको छ, त्यो तुवाँलो सिर्जना गर्ने काम भएको छ,’उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई सरकारले नभएर सोही प्रतिवेदनको आधारमा पक्राउ गरिएको उनले बताए । प्रतिनिधि सभामा सो प्रतिवेदन पारित गराउँदा रविले समेत ताली बजाएको बताउँदै उनले अहिले रास्वपाले विरोध गर्नुको कुनै औचित्य नरहेको बताए । रास्वपाको विरोध प्रदर्शनलाई उनले अनैतिक, अराजनीतिक र गैरजिम्मेवार कामको सज्ञा दिए । उनले कसैप्रति पनि सरकारले प्रतिशोध नसाँधेको जिकिर गरे ।

‘प्रतिवेदन कार्यान्वयन गर्न आफैं ताली बजाएर निर्देशन दिने । अनि प्रतिवेदन कार्यान्वयन गरिरहँदा ठाउँ–ठाउँमा जुलुस प्रदर्शन गरेर अवरोध गर्ने । यो चाहीँ अनैतिक, अराजनीतिक र गैरजिम्मेवार तरिकाले गर्दा यो अनुसन्धानको काममा केही ढिलो भयो । अदालतले अनुमति दिएर पक्राउ पुर्जी जारी भएको छ । म्याद थप भएको छ,’ थापाले भने ।

कानुनले तोकेको समयसीमाभित्र सरकारी वकिलको तर्फबाट प्रहरी अनुसन्धानमा आधारित भएर अदालतमा अभियोग जाने र त्यसपछि को ठग हो कि होईन भनेर अदालतले नै निर्क्यौल गर्ने उनको भनाइ छ । ‘बाँकी कुरा को ठग हो, को होइन, को दोषी हो होइन ? अदालतले प्रमाणका आधारमा निर्णय गर्छ । कसैका भावना, हाँसो र आँसुको आधारमा होईन, अदालतले तथ्य र प्रमाणका आधारमा निर्णय गर्छ । तथ्य प्रमाणले पुष्टि गरे ठग हुन्छ, होइन भने छुट्छ,’ रास्वपा सभापति लामिछानेलक्षित गर्दै थापाले भने ।


क्लिकमान्डु