पर्यटक व्यवसायी विकास सहकारीको पैसामा पूर्वअध्यक्ष कार्की परिवारको मस्ती, युवा स्वरोजगार कोषको ४५ लाख खोइ ?

नोक्सानमा रहेको सहकारीले १० प्रतिशत लाभांश बाँड्यो



काठमाडौं । काठमाडौं महानगरपालिका–१ मा रहेको पर्यटक व्यवसायी विकास बचत तथा ऋण सहकारी संस्थाले युवा तथा साना व्यवसायी स्वःरोजगार कोषको ४५ लाख रुपैयाँ अपचलन गरेको छ ।

काठमाडौं महानगरपालिकोका सहकारी विभागले २०८० चैत २५ देखि गरेको अनुगमनका क्रममा उक्त सहकारीले कोषको ४५ लाख रुपैयाँ पूर्वअध्यक्ष रामशरण कार्कीले अपचलन गरेको पाइएको छ ।

कोषको सचिवालयको समन्वयमा कर्जाको उपयोगिता सुनिश्चितता गर्ने वा लगानी हुन नसकेको कर्जा फिर्ता गर्ने सुझाव अनुगमन प्रतिवेदनमा दिइएको छ ।

महानगरले गरेको अनुगमको क्रममा सहकारीका पूर्वअध्यक्ष र उनको परिवारको नाममा कुल कर्जाको २६.०२ प्रतिशत प्रवाह भएको पाइएको छ ।

सहकारीका पूर्वअध्यक्ष रामशरण कार्कीले २८ लाख ८० हजार ४७५ रुपैयाँ कर्जा लिएको र त्यसबापत कुनै पनि धितो रोक्का नभएको पाइएको छ ।

कार्कीले श्रीमती साइली कार्कीको नाममा १७ लाख ८४ हजार ६६३ रुपैयाँ कर्जा प्रवाह भएको छ । यो कर्जा पनि बिनाधितो गएको अनुगमन प्रतिवेदनमा उल्लेख छ ।

यस्तै कार्कीले बुहारी अस्मिता खत्रीको नाममा १ लाख ४६ हजार ४४० रुपैयाँ, छोरा पर्वत कार्कीको नाममा २ लाख ५२ हजार ५२३ रुपैयाँ कर्जा लिएका छन् । सहकारीले हर्षमानंद बज्राचार्यलाई बिनाब्याज ५ लाख रुपैयाँ कर्जा दिएको छ ।

सहकारीले कुल ऋणी मध्ये ५ जना ऋणी सदस्यहरुलाई पुँजीकोषको दश प्रतिशतभन्दा बढी कर्जा प्रबाह गरेको पाइएको छ । जसमा पूर्वअध्यक्ष र उनकी श्रीमतीका साथै ईजी टुर सर्भिसेसलाई १८ लाख ५४ हजार ७७१ रुपैयाँ, एक्टिभ हिमालयन टुर सर्भिसेसलाई १९ लाख २८ हजार १७८ रुपैयाँ र दिपक कुमार थापालाई २० लाख रुपैयाँ कर्जा दिएको छ ।

अनुगमनपछि महानगरको सहकारी विभागले नियमविपरित कृतिम व्यक्ति (निकाय)लाई संस्थाको सेयर सदस्य बन्न रोक्न सुझाव दिएको छ ।

संस्थाले अधिकतम कर्जा सवारी साधनलाई धितो रोक्का राखी लगानी गर्दा सवारी साधनको मूल्यांकन नहुने व्यवस्था गरेको छ ।

अनुगमनले कार्यक्षेत्र बाहिर कारोबार गरिराखेको देखाएको छ ।

संस्थामा भएको कर्जा लगानीअनुसार २ करोड ५७ लाख ३४ हजार ४९१ रुपैयाँ (पर्ल्स रिपोर्ट अनुसार) बराबरको कर्जा नोक्सानी व्यवस्था गर्नुपर्नेमा लेखांकन नगरेको उल्लेख छ । सञ्चालक समितिको निर्णय रुजु गर्दा काजी थापाको २०८० फागुन १७ गतेको ऋण लगानी सम्बन्धी निर्णय नगरी कर्जा लगानी गरेको पाइएको छ ।

सहकारी अध्यक्षमा हाल बेदराज बास्तोला रहेका छन् ।

सहकारीले झवराज लामिछानेलाई सञ्चालक समितिको निर्णय नगरी नियुक्ति पत्र नदिई व्यवस्थापनको जिम्मेवारी दिएको छ ।

गत वर्ष सहकारी १ करोड ६८ लाख ८३ हजार ९ रुपैयाँ नोक्सानमा रहेको थियो । संस्था घाटामा भएको भए पनि लाभांश दिने निर्णय गरेको छ ।

प्रतिवेदन अनुसार सेयर लाभांश कोषमा रकम ट्रान्सफर नभएको तर सञ्चालक समितिको २०८० असोज २५ गतेको बैठकको निर्णयानुसार सेयर सदस्यहरुलाई १० प्रतिशतका दरले नगद बोनस बाड्ने निर्णय गरेको पाइएको छ ।

संस्थामा दुई जना मात्र कर्मचारी हुँदा हुँदै अस्वाभाविक रुपमा आव २०७९/८० मा ४५ लाख ४४ हजार २६०.१९ तथा २०८० चैत २५ गतेसम्म १५ लाख ६७ हजार ४५० रुपैयाँ तलब खर्च राखी नगद बोनस वितरण गरेको पाइएको छ ।

घाटामा रहेको संस्थाले अस्वभाविक खर्च लेखांकन गरी बोनस वितरण गरेको रकम संस्थामा फिर्ता गर्नुपर्ने अनुगमन प्रतिवेदनमा उल्लेख छ ।

सहकारीमा नमुना लामिछानेलाई सदस्य बनाएर ३ महिनाभित्र १ लाख कर्जा लगानी भएको पाइएको छ । सहकारीले अनुमतिबिना भारतीय रुपैयाँ समेत राख्ने गरेको पाइएको अनुगमनमा फेला परेको प्रतिवेदनमा उल्लेख छ।

सहकारीको नाममा नेपाल बैंकमा मात्र खाताहरु रहेको पाइएको छ भने नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त क, ख वर्गको विकास बैंक, राष्ट्रिय सहकारी बैंकमा समेत खाता रहेको पाइएको छ ।


सोभित थपलिया