जीबी राईको पासपोर्ट रोक्का, मलेसियामै रहेको प्रहरीको दाबी
काठमाडौं । गोर्खा मिडिया नेटवर्कका सञ्चालकसमेत रहेका सूर्यदर्शन लगायतका सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईको राहदानी निष्कृय पारिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अन्सन्धान ब्यूरो (सीआईबी) उच्च स्रोतका अनुसार राईको पासपोर्ट राहदानी विभागले निष्कृय पारेको हो।
देशभरका ६ वटा सहकारीको बचत रकम अपचलनको आरोपमा प्रहरीले राईसहित तत्कालीन गोर्खा मिडियाका सञ्चालकहरुमाथि अनुसन्धान जारी राखेको छ । तर, राई भने फरार छन् ।
विभिन्न सहकारीको २ अर्ब ५८ करोड अपचलन गरेको आरोप लागेका राईको राहदानी रोक्काका लागि यसअघि पनि जिल्ला प्रहरी कार्यालय कास्कीले राहदानी विभागलाई अनुरोध गरेको थियो । तर सहकारी ठगी आरोपमा मात्र उनको पासपोर्ट रोक्का गर्न विभागले अस्वीकार गरेको थियो ।
प्रहरीले राईसहित गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, सञ्चालक छविलाल जोशी लगायतविरुद्ध संगठित अपराधको मुद्दा अघि बढाएपछि कास्की प्रहरीले पुन राईको पासपोर्ट रोक्का गर्न विभागलाई पत्राचार गरेको थियो । त्यसपछि विभागले राईको पासपोर्ट रोक्का गरेको हो ।
राईको राहदानी रोक्का भएसँगै अब उनले नेपाली राहदानी प्रयोग गरेर यात्रा गर्न सक्ने छैनन् ।
‘जीबी राईको राहदानी संगठित अपराधमा अनुसन्धान भइरहँदा रोक्का भएको हो,’ सीआईबी उच्च स्रोतले भन्यो, ‘अब उनले नेपाली पासपोर्ट बोकेर यात्रा गर्न सक्ने छैनन् ।’
राई नेपालबाट भागेर विदेश गएको भन्दै प्रहरीले उनलाई खोज्न अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा खोजी जारी राखेको छ ।
उनी भागेर नेपालबाहिर पुगेको आधारहरु फेला परेपछि उनलाई नियन्त्रणमा लिन नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल)लाई दुई पटक पत्राचार गरेको थियो ।
काठमाडौंस्थित नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी)मार्फत इन्टरपोल महासचिवालयमा दोस्रो पटक पत्राचार गरिएको थियो । तर, उनी अहिलेसम्म पक्राउ भने परेका छैनन् ।
राई कहाँ छन् ?
कास्कीको सूर्यदर्शन, चितवनको सहारा, पर्साको सानो पाइला, काठमाडौंको स्वर्णलक्ष्मी र बुटवलको सुप्रिम सहकारीको रकम गोर्खा मिडियामा भित्राएर अपचलन आरोपमा अनुसन्धान भइरहेको छ । लामिछाने र जोशी लगायत अहिले कास्की प्रहरीको हिरासतमा छन् ।
लामो समयदेखि जीबी राई विदेशमा रहेको सूचनाहरु सार्वजनिक भएका छन् । गत भदौमा राईलाई खोज्न भन्दै प्रहरीको टोली मलेसिया गएको थियो । तर, त्यतिबेला उनी फेला नपरेको भन्दै प्रहरी टोली फर्किएको थियो ।
यसअघि जीबीलाई कूटनीतिक पहल गरी नेपाल ल्याउने प्रहरीले प्रयास गरेको थियो ।
गृह र परराष्ट्र मन्त्रालयको समन्वयमा २०८० फागुन दोस्रो साता कूटनीतिक पत्राचार गर्दै जीबीलाई नेपाल ल्याउन आग्रह गरिएको थियो ।
सीआईबी उच्च स्रोतकाअनुसार राई अहिले पनि मलेसियमै लुकेर बसेको सूचना छ ।
‘जीबी राई अहिले पनि मलेसियामै छन् भन्ने सूचना छ,’ प्रहरी उच्च स्रोतले भन्यो, ‘पासपोर्ट रोक्का भएपछि अब उनी बाहिर जान सक्ने छैनन्।’