नबिल बैंकका सीईओको तलब भत्ता ४८.२७ प्रतिशतले बढ्यो, सञ्चालकलाई १ करोड २१ लाख खर्च
काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई २ करोड ३६ लाख ५ हजार ७८३ रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ ।
यो तलब अघिल्लो आवको सोही अवधिको तुलनामा ४८.२७ प्र्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले सीईओलाई १ करोड ५९ लाख २० हजार ६३३ रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।
बैंकले सीईओलाई खुद तलब बापत १ करोड ३२ लाख ५३ हजार २२६ रुपैयाँ भुक्तानी गरेको जनाएको छ । यस्तै अन्य लाभ तथा सुविधा बापत ९५ लाख ५७ हजार ३६३ रुपैयाँ भुक्तानी गरेको छ । यो तलब भत्ता बापत सीईओले राज्यलाई ३९ प्रतिशत कर तिरेका छन् ।
यस्तै बैंकले सञ्चालकहरूलाई १ करोड २१ लाख ९३ हजार २९० रुपैयाँ भुक्तानी गरेको छ । बैठक भत्ता बापत ५३ लाख १५ हजार र भ्रमण खर्च, बसोबास खर्च तथा अन्य खर्च बापत ६८ लाख ७८ हजार २९० रुपैयाँ खर्च गरेको छ ।
बैंकका अनुसार भुक्तानी गरिएको भत्तामा पत्रपत्रिका तथा सञ्चार खर्चबापत भुक्तानी गरिएको रकम समेत समावेश गरिएको छ ।
अन्य खर्चमा नेपालमा बसोबास नगर्ने सञ्चालकहरू बैठकमा सहभागी हुन नेपालमा आउँदा लागेको भ्रमण खर्च, बसोबास खर्च तथा दैनिक भ्रमण भत्ताको सोधभर्ना रहेको बैंकले जनाएको छ । बैंकको अध्यक्षमा उपेन्द्र प्रसाद पौडेल रहेका छन् भने सञ्चालकहरुमा निर्वाण कुमार चौधरी, मलय मुखर्जी, अनन्त पौड्याल, प्रविन टिवडेवाला र सइद मन्सुर मुस्तफा रहेका छन् ।