पाइपलाइनमार्फत भारतबाट पहिलो पटक नेपाल आयो १० लाख लिटर मट्टितेल (भिडियो)



काठमाडौं । नेपालमा पहिलो पटक पाइपलाइनबाट मट्टितेल आइपुगेको छ ।

मोतिहारी–अमलेखगञ्ज पाइपलाइनमार्फत बुधबार साँझ साढे ६ बजे पहिलो पटक मट्टितेल नेपाल आइपुगेको हो ।

नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रलयंकर आचार्यका अनुसार परीक्षण ढुवानीअन्तर्गत १ हजार किलोलिटर (१० लाख लिटर) उक्त पाइपलाइनमार्फत बुधबार साँझ ल्याइएको हो ।

बरौनी रिफाइनरीबाट उक्त परिमाणको मट्टितेल मोतिहारी–अमलेखगञ्ज पाइपलाइनमार्फत ल्याइएको थियो । मोतिहारीबाट बरौनी रिफाइनरीसम्म छुट्टै पाइपलाइन छ ।

‘हामीले परीक्षण ढुवानीअन्तर्गत पहिलो पटक बिहिबार पाइपलाइनमार्फत मट्टितेल ल्याउन सफल भयौं,’ आचार्यले भने,‘मट्टितेल ल्याउँदा कुनै कतै समस्या देखिएन । यसरी परीक्षण ढुवानी अझै केहि दिन हुन्छ । कुनै समस्या आउँदा ढुवानीको क्रममा समाधान गरिनेछ ।’

मट्टितेल भण्डारण गर्न प्रादेशिक कार्यालय अमलेखगञ्जमा १५ हजार किलोलिटरको एक र ७६० किलोलिटरको एक गरी दुई वटा स्टोरेज ट्याँकी छ ।

पाइपलाइनबाट ३ सय किलोलिटर प्रति घण्टाको दरले इन्धन ल्याउन सक्ने क्षमता भएपनि हाल परीक्षण ढुवानी प्रति घण्टा १५० देखि २५० किलोलिटरको दरले भइरहेको छ ।

इण्डियन आयल कर्पोरेशन(आईओसी) र निगमले संयुक्त रुपमा पछिल्लो समयमा पेट्रोल र मट्टितेल पाइपलाइनबाट ल्याउन परीक्षण ढुवानी गरिरहेको छ । डिजेल भने यो पाइपलाइन उदघाट्न भएसँगै नियमित रुपमा आपूर्ति भइरहेको छ ।

यसअघि गत् असोज १७ गते आईओसीको प्राविधिक टोलीले पाइपलाइनबाट पेट्रोल ल्याएर टेस्टिङ्ग गर्ने काम सम्पन्न गरेको थियो।

पाइपलाइनबाट ५ हजार ५ सय किलोलिटर (५५ लाख लिटर) पेट्रोल अमलेखगञ्जको डिपोमा खसालेर भारतीय प्राविधिक टोलीले सफल परीक्षण गरिसकेका छन् ।

यो पाइपलाइनको सहयोगमा प्रतिदिन ६ हजार किलोलिटर पेट्रोल ल्याउन सकिन्छ ।

पाइपलाइनबाट नियमित रुपमा पेट्रोल खसाल्न जडान गरिएको नयाँ मोटर, फ्लोमिटरहरु चार्ज गर्ने काम पनि सम्पन्न भइसकेको आर्चायले जानकारी दिए ।

‘पाइपलाइनबाट पेट्रोल खसाल्न आवश्यक सम्पूर्ण भौतिक पूर्वाधारको निर्माणका साथै उपकरणसम्मको जडान कार्य सम्पन्न भइसकेको छ,’ आचार्यले भने,‘औपचारिक रुपमा उद्घाटन गरेर नियमित रुपमा पाइपलाइनबाट पेट्रोल खसाल्न मात्रै बाँकी छ।’

दक्षिण एशियामै पहिलो अन्तरदेशिय पाइपलाइन नेपाल–भारतको सीमामा मोतिहारी–अमलेखगञ्ज पाइपलाइन सञ्चालन आएको छ ।

करिब ६९ किलोमिटर लम्बाई भएको यो पाइपलाइनको २०१९ को सेप्टेम्बर १० तारिखदेखि सञ्चालनमा आएको हो ।

नेपालमा वार्षिक ७ लाख किलोलिटर (७० करोड लिटर) पेट्रोल खपत हुन्छ । यसमध्ये पाइपलाइनबाट ७० प्रतिशतका दरले ४ लाख ९० हजार किलोलिटर (४९ करोड लिटर) आयात भइरहेको छ ।

जनवरीको पहिलो साता पेट्रोल–मट्टितेल आपूर्ति प्रणाली उदघाट्न

निगम स्रोतका अनुसार जनवरीको पहिलो साता उक्त पाइपलाइनबाट पेट्रोल र मट्टितेल आपूर्ति गर्ने प्रणाली उदघाट्न गर्ने कार्यक्रम छ ।

उदघाट्न गर्ने समय भने अहिले तोकिएको छैन । नेपाल र भारतको प्रधानमन्त्रीले संयुक्त रुपमा एक कार्यक्रमका बीच उदघाट्न गर्ने भएकाले ति दुवै प्रधानमन्त्रीसँग कुटनीतिक माध्यमबाट समयको बिषयमा छलफल भइरहेको छ ।

समय निश्चित भएपनि पेट्रोल–मट्टितेल आपूर्ति प्रणालीको ति दुवै प्रधानमन्त्रीले संयुक्त रुपमा उदघाट्न गर्ने र त्यहि दिनदेखि उक्त पाइपलाइनबाट नियमित रुपमा पेट्रोल–मट्टितेल आयात हुनेछ ।


क्लिकमान्डु