बाबुराम भन्छन्- ठूलो मतान्तरले जित्छु, नारायणकाजी भन्छन्,- १०० प्रतिशत मेरो जित !



गोरखा । गोरखा क्षेत्र नं. २ का प्रत्यक्षतर्फका उम्मेद्वार डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले दुबैले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् । आइतबार भएको प्रतिनिधिसभाको निर्वाचनमा मत हालिसकेपछि दुबै नेताले आफ्नो जित सुनिश्चित भएको दाबी गरे ।

नयाँ शक्ति नेपालका संयोजकसमेत रहेका डा. भट्टराई कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार हुन् भने माओवादी नेता नारायणकाजी एमाले नेतृत्वको बाम गठबन्धनका उम्मेद्वार हुन् ।

‘गोरखाका जनताको मायाको वर्णन गर्न सकिदैन । मलाई दुई–दुई पटक संविधानसभामा पठाउनु भयो । फेरि पनि यो मुलुकको समृद्धिको लागि प्रतिनिधिसभामा उहाँहरुले पठाउने कुरामा पूर्ण विश्वस्त छु ।’ मतदान गरेपछि संचारकर्मीसँग भट्टराईले भने ।

पूर्वप्रधानमन्धी समेत रहेका भट्टराईले हारजित छोडेर मत अन्तरको कुरा गर्न अनुरोध गरे ।

‘जितको कुरा छोड्नुस्, कति अन्तरले जित्ने त्यो कुरा गर्नुस् ।’ उनले भने ।

आफुले यसअघि गरेको विकासको सुरुवातको आधारमा मतदाताले आफुलाई भारी मत अन्तरले बिजयी गराउने भट्टराईको भनाई थियो ।

प्रधानमन्त्री र अर्थमन्त्री हुँदा गरेका कामको जनताले फेरि पनि मुल्याङ्कन गर्ने भट्टराईको विश्वास छ ।

त्यसैगरी, नारायणकाजीले पनि आफ्नो जीत शतप्रतिशत सुनिश्चित रहेको बताएका छन् ।

मतदान गरेपछि प्रतिक्रिया दिँदै उनले भने, ‘शत प्रतिशत जित सुनिश्चित छ । यदी सय भन्दा माथि हुन्छ भन्न मिल्छ भने त्यो पनि हुन सक्छ ।’

वैधानिक रुपमा जिम्मेवारी पाउने कुराले आफु खुसी रहेको समेत उनले बताए । ‘म मतदानबारे टिप्पणी गर्न चाहन्न । हामीले जनतालाई वास्तविक लाभ दिन खोजेका छौँ । त्यसलाई मतदाताले राम्ररी बुझेका छन् ।’ उनले भने ।


पुष्प दुलाल