लुम्बिनीमाथि विराटनगरको रोमाञ्चक जित, किर्तिमानी लक्ष्य पुरा गर्दै तीन खेलमा पहिलो जित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सले रोमाञ्चक जित निकालेको छ । बिहीबार भएको खेलमा विराटनगरले लुम्बिनी लायन्समाथि दुई विकेटको जित निकालेको हो ।
प्रतियोगितामा विराटनगरले तेस्रो खेलमा पहिलो जित निकालेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सले जितका लागि दिएको १९२ रनको लक्ष्य विराटनगरले १९ ओभर ५ बलमा ८ विकेट गुमाएर पूरा गर्यो ।
विराटनगरका लागि लोकेश बमले ७१ रनको अर्धशतकीय पारी खेले । विराटनगरलाई अन्तिम ओभरमा १५ रनको आवश्यक्ता हुँदा क्रिस सोलले १४ रन बनाए । दुई बल वाइड भएको थियो । लुम्बिनीका लागि दुर्गेश गुप्ताले तीन विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९१ रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ४६ रनको योगदान गरे । त्यस्तै टोम मोरेसले ३० रनको योगदान गरे ।
विराटनगरका लागि सन्दीप लामिछाने, राजेश पुलामी र इस्मात आलमले एक एक विकेट लिए । आजको खेलमा जित निकाल्दै विराटनगरले तीन खेलमा दुई अंक जोडेको छ । यता लुम्बिनी पहिलो खेलमा नै पराजित भएको छ ।