
काठमाडौं । धनुषा निर्वाचन क्षेत्र नं. १ को अन्तिम परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगको विशेष निर्देशनपछि नेपाली कम्युनिस्ट पार्टीका मातृका यादवलाई विजयी घोषणा गरिएको हो । यादवलाई आयोगले प्रमाणपत्र समेत दिइसकेको छ ।
निर्वाचन आयोगले एक विशेष निर्णय गर्दै धनुषा-१ को रोकिएको नतिजा सार्वजनिक गर्न निर्देशन दिएको थियो । सर्वोच्च अदालतले आजैका लागि पेशी तोकेको भए पनि देशभरको निर्वाचन परिणाम घोषणामा असर पर्ने देखिएपछि आयोगले यस्तो बाटो रोजेको हो ।
आयोगको आन्तरिक परिपत्रमा ‘निर्वाचन परिणाम घोषणा नगरी यथास्थितिमा राख्दा देशभरको सम्पूर्ण निर्वाचन परिणाम घोषणा गर्न समेत असर पर्ने जाने हुँदा हाल उम्मेदवार कायम रहेका उम्मेदवारले प्राप्त गरेको मत परिणाम घोषणा गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने’ उल्लेख छ। आयोगले सर्वोच्च अदालतबाट अन्यथा आदेश भएमा सोही बमोजिम हुने गरी हाललाई नतिजा सार्वजनिक गरेको हो ।
यसअघि आइतबार निर्वाचन आयोग नेपालले धनुषा जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को मत परिणाम तत्काल घोषणा नगर्न निर्देशन दिएको थियो ।
आयोगका अनुसार उम्मेदवारको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको प्रमाण प्राप्त भएको भन्दै उम्मेदवारी खारेज गर्ने निर्णय गरिएको थियो । उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भई हाल विचाराधीन अवस्थामा रहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषा १ का उमेदवार किशोरी साह कमलको उम्मेदवारी आयोगले खारेज गरेको थियो । उक्त निर्णयविरुद्ध कमल अदालत पुगेका हुन् ।

सर्वोच्चले पनि विजेता घोषणा रोक्नबारे कुनै आदेश नदिएपछि आयोगले यस्तो निर्णय गरेको हो । आयोगले अन्तिम मतपरिणाम घोषणा गरी मातृका यादवलाई विजयी घोषणा गरेको हो । विजयी भएलगत्तै यादवले निर्वाचन अधिकृतबाट प्रमाणपत्र बुझिसकेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रमाणपत्र लिएको तस्बिर सार्वजनिक गरेका छन् ।
उमेदवारी खारेजीमा परेका किशोरी साहको मुद्दामा शुक्रबार मात्रै आदेश आउने छ । सर्वोच्च अदालतले आगामी शुक्रबार धनुषा–१ को निर्वाचन विवादवारे आफ्नो प्रारम्भिक दृष्टिकोण दिने भन्दै सोही दिन दुबै पक्षलाई बोलाएको हो ।
उम्मेदवारी खारेजीमा परेका धनुषा–१ का रास्वपाका उम्मेदवार किशोरी साह कमलले पेस गरेको रिट निवेदनमाथि आगामी शुक्रबार सुनुवाइ गर्ने आदेश गरेको हो ।
दुवै पक्षको छलफलपछि मात्रै अन्तरिम आदेश जारी हुने वा नहुने तय गर्नु उपयुक्त हुने भन्दै सर्वोच्च अदालतले आगामी शुक्रबार दुवै पक्षलाई छलफलका लागि बोलाएको हो ।
साहको उम्मेदवारी खारेज गर्नुको निर्णय सम्बन्धित सम्बन्धमा सर्वोच्च अदालतले शुक्रबार नै अन्तरिम आदेश जारी हुने वा नहुनेबारे छलफल र आदेश समेत गर्ने भएको छ ।
धनुषा-१ को नतिजा आएसँगै अब निर्वाचन आयोगलाई देशभरको समानुपातिक सिट बाँडफाँट र अन्तिम प्रतिवेदन तयार गर्न सहज भएको छ । यसअघि यो क्षेत्रको विवादका कारण समग्र निर्वाचन प्रतिवेदन बुझाउन ढिलाइ हुन सक्ने आँकलन गरिएको थियो । अब आयोगले छिट्टै राष्ट्रपतिसमक्ष निर्वाचनको अन्तिम प्रतिवेदन पेश गर्ने छ, जसले नयाँ सरकार गठनको संवैधानिक प्रक्रियालाई अगाडि बढाउनेछ ।








प्रतिक्रिया