
काठमाडौं । मध्यपूर्व तनावले १० दिनदेखि नेपालको अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । सोमबारसमेत विभिन्न सात वायुसवाका २८ अन्तर्राष्ट्रिय उडान रद्द भएको छ ।
मध्यपूर्वमा देखिएको हालैको तनाव र हवाई क्षेत्रमा लगाइएको प्रतिबन्धका कारण नेपालबाट हुने र नेपाल आउने अन्तर्राष्ट्रिय उडानहरू गम्भीर रूपमा प्रभावित भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले एक विशेष सूचना जारी गर्दै सुरक्षा र हवाई क्षेत्रको पहुँचमा आएको अवरोधका कारण उडानहरू ढिलाइ, पुनः तालिका (Rescheduling) वा रद्द भइरहेको जानकारी दिएको छ।
आज मिति २०८२ फागुन २५ गते (मार्च ९, २०२६) का लागि तय गरिएका विभिन्न सातवटा प्रमुख वायुसेवा कम्पनीका उडानहरू पूर्ण रूपमा रद्द गरिएका छन्। प्राधिकरणका अनुसार मध्यपूर्वका प्रमुख ट्रान्जिट र गन्तव्यहरूमा हवाई क्षेत्र बन्द हुँदा उडान व्यवस्थापनमा समस्या देखिएको हो।
सोमबार पनि फ्लाई दुबईले मार्च ७ देखि मार्च ११ सम्मका आफ्ना दुबई–काठमाडौं–दुबईका सबै उडान, कतार एयरवेजका दोहा–काठमाडौं–दोहा क्षेत्रका तीनवटा उडानहरू, नेपाल एयरलाइन्सका काठमाडौं–दोहा र काठमाडौं–दुबई उडान, हिमालय एयरलाइन्स काठमाडौं–दोहा र काठमाडौं–दमाम क्षेत्रका उडानहरू रद्द भएका छन्।
जजिरा र कुवेत एयरवेजका कुवेत–काठमाडौं–कुवेत क्षेत्रका सबै निर्धारित उडान, एयर अरेबियाका सारजाह–काठमाडौं–सारजाहको उडान रद्द गरिएको छ।
विमानस्थल कार्यालयले उडान रद्द हुँदा अलपत्र परेका यात्रुहरूको व्यवस्थापनका लागि सम्बन्धित वायुसेवा कम्पनीहरू र अन्य निकायहरूसँग समन्वय गरिरहेको जनाएको छ।
प्राधिकरणले यात्रुहरूलाई विमानस्थल आउनुअघि आफ्नो उडानको पछिल्लो अवस्थाबारे बुझ्न सम्बन्धित वायुसेवा कम्पनीको वेबसाइट वा आधिकारिक टेलिफोन नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ। मध्यपूर्वको तनाव कहिलेसम्म जारी रहन्छ र उडानहरू कहिलेदेखि नियमित हुन्छन् भन्नेबारे थप स्पष्ट भइसकेको छैन।









प्रतिक्रिया