सम्पूर्ण अपडेट

कमजाेर नतिजासहित पराजित भएपछि सभापति छोड्ने मनसायमा गगन, राजीनामा नदिन विश्वको सुझाव

553
Shares

काठमाडौं । गगनकुमार थापाले चुनावी पराजयको नैतिक जिम्मेवारी लिँदै पार्टी सभापतिको पदबाट राजीनामा दिने मनस्थितिमा पुगेको बताएका छन्। उनले सो विषयमा उपसभापति विश्वप्रकाश शर्मासँग छलफल गरेका छन्।

सोमबार साँझ नयाँबानेश्वरमा भएको भेटमा सभापति थापाले पछिल्लो निर्वाचनमा पार्टीले भोगेको हारको जिम्मा आफूले लिनुपर्ने बताउँदै पद त्याग गर्ने मनस्थिति बनाएको जानकारी गराएका हुन्। उनले उपसभापति शर्मासमक्ष ‘चुनावमा पार्टीको पराजयको जिम्मेवारी लिएर पदबाट हट्नु नै उचित हुन्छ, त्यसैले म राजीनामा दिन्छु,’ भन्ने धारणा राखेका थिए।

थापाको यस्तो भनाइपछि उपसभापति शर्माले भने पराजयको सम्पूर्ण दोष सभापतिमाथि मात्रै नथोपर्न आग्रह गरेका थिए। उनले चुनावी हारमा सामूहिक जिम्मेवारी रहने बताउँदै अहिलेको अवस्थामा सभापतिको राजीनामाले पार्टीलाई झन् अप्ठ्यारो स्थितिमा पुर्‍याउने तर्क गरेका थिए।

शर्माले भने भने राष्ट्रिय स्वतन्त्र पार्टीको जितभन्दा पनि यो हाम्रो पराजय हो तर यसको दोष कुनै एक व्यक्तिलाई मात्रै दिन मिल्दैन भनेका थिए । उनले गगनलाई भनेका छन्, ‘विशेष महाधिवेशनबाट बनेको कार्यसमिति छ। नयाँ कार्यसमिति बनेको पाँच दिनमै उम्मेदवारी दर्ता र करिब पचास दिनभित्रै चुनाव भएको अवस्थामा विस्तृत समीक्षा गरेर मात्रै अघि बढ्नुपर्छ।’

उनले सभापतिले राजीनामा दिए पार्टी अझ कठिन परिस्थितिमा पुग्ने भएकाले त्यसबारे पुनर्विचार गर्न आग्रह गरेको बताइएको छ।

उपसभापति शर्माले सञ्चारमाध्यमसँगको कुराकानीमा पनि सभापति थापाले राजीनामाबारे कुरा उठाएको पुष्टि गरेका छन्। ‘सभापतिले राजीनामा दिने विषय उठाउनुभएको छ, अहिले यही विषयमा आन्तरिक छलफल भइरहेको छ,’ उनले बताए।