
काठमाडौं । अहिले सबैजना निर्वाचनको अन्तिम नतिजा कहिले आउला र बालेन्द्र शाह नेतृत्वको सरकार कहिले बन्ला भन्ने प्रश्नको जवाफ खोजिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट बहुमत ल्याएपछि नयाँ सरकार गठनको व्यग्र प्रतीक्षा भइरहेका बेला चैतको दोस्रो सातामात्र नयाँ सरकार बन्न सक्ने आकलन गरिएको छ।
राष्ट्रिय सभाका पूर्वसचिव राजेन्द्र फुयाल चैतको दोस्रो साताअघि नयाँ सरकार बन्ने सम्भावना नरहेको विश्लेषण गर्छन् । निर्वाचन आयोगको कार्यतालिका र संवैधानिक प्रक्रियालाई केलाउँदा चैत १० देखि १२ गते आसपास मात्रै नयाँ प्रधानमन्त्री नियुक्त हुने फुयालको बुझाई छ।
नयाँ सरकार गठन हुनुपूर्व निर्वाचन आयोग र दलहरूले पूरा गर्नुपर्ने कानुनी प्रक्रियाका कारण अझै केही हप्ता लाग्नेछ । आयोगको पूर्वघोषणा अनुसार फागुन २७ गतेसम्म प्रत्यक्षतर्फको गणना सकिनेछ । त्यसपछिको प्रक्रियाबारे फुयाल भन्छन्, ‘विगतको अभ्यास हेर्दा गणना सकिएपछि आयोगलाई समानुपातिक सिट बाँडफाँट गर्न कम्तीमा दुई दिन लाग्छ। यस हिसाबले फागुन २९ सम्म दलहरूले पाउने सिट संख्याको टुंगो लाग्नेछ ।’

सिट संख्या निर्धारण भएपछि पनि प्रक्रिया बाँकी नै रहन्छ। ३ प्रतिशतको थ्रेसहोल्ड कटाउने दलहरूलाई सिट संख्या र समावेशी क्लस्टर बुझाएर बन्दसूचीबाट उम्मेदवार छान्न आयोगले समय दिन्छ। समावेशी समूह मिलाएर विजयी उम्मेदवार छान्न दलहरूलाई संभवतः तीन दिनको समय दिइनेछ, जुन चैत २ गतेसम्म पुग्छ ।
दलहरूबाट प्राप्त नामावली जाँचबुझ गरी आयोगले औपचारिक रूपमा विजयी घोषणा गर्न र प्रमाणपत्र दिन अर्को २-३ दिन खर्चिने देखिन्छ । जसअनुसार छिटोमा चैत ५ गतेसम्ममा आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको समग्र प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने सम्भावना रहन्छ ।
राष्ट्रपतिलाई प्रतिवेदन बुझाएपछि मात्रै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया सुरु हुन्छ । तर, त्यसअघि राजनीतिक दलहरूले अर्को एउटा अनिवार्य प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । ‘बहुमत प्राप्त वा ठूला दलले संविधान र राजनीतिक दल सम्बन्धी ऐन अनुसार आफ्नो संसदीय दलको नेता चुन्नुपर्ने हुन्छ। यो आन्तरिक प्रक्रिया सकिएपछि मात्रै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने बाटो खुल्छ,’ फुयाल भन्छन् ।
यी सबै प्राविधिक, कानुनी र संवैधानिक प्रक्रियाहरू पूरा गर्दा चैतको १० देखि १२ गतेतिर मात्रै मुलुकले नयाँ सरकार पाउनेछ । दलहरूबीचको सहमति र आन्तरिक तयारी तीव्र भएमा यो प्रक्रियाले गति लिने भए पनि कानुनी समयसीमाका कारण चैत दोस्रो साता नै सरकार गठनको वास्तविक समय हुनेछ ।








प्रतिक्रिया