विदेशी लगानीकर्ता रिझाउन सफल वर्ल्डलिंक मोबाइल सेवाको तयारीमा, तेस्रो सेवाप्रदायकको रेसमा लाग्ने घोषणा

स्टारलिंक भित्र्याउन आफूले लविङ गरिरहेको दाबी



काठमाडौं । विदेशी लगानीकर्ता रिझाउन सफल वर्ल्डलिंक कम्युनिकेसले १ करोड युरो (करिब डेढ अर्ब रुपैयाँ) फिनल्याण्डको सरकारी फण्डिङ कम्पनी फिनफण्ड भित्र्याउन सफल भएको छ । यसअघि पनि वर्ल्डलिंकले ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डमार्फत विदेशी लगानी भित्र्याएको थियो ।

इन्टरनेटमा ठूलो विदेशी लगानी भित्र्याउन सफल वर्ल्डलिंकले विहीबार फिनफण्डसँगको सम्झौतापछिको अनौपचारिक कुराकानीमा कम्पनी अब मोबाइल सेवाको तयारीमा लाग्ने संकेत दिएको छ ।

वर्ल्डलिंकका अध्यक्ष दिलिप अग्रवालले प्रविधि, क्षमता, जनशक्ति र विदेशी लगानी ल्याउनेसहितका सबै हिसावबाट अब वर्ल्डलिंकले मोबाइल सेवा दिन सक्छ भन्ने निष्कर्षमा पुगेको बताए । अब वर्ल्डलिंक नेपालमा तेस्रो सेवाप्रदायकको रेसमा लाग्ने उनले बताए ।

सरकारले नेपाल दूरसञ्चार प्राधिकरणलाई तेस्रो सेवाप्रदायकको सम्भाव्यता र आवश्यकताको विषयमा अध्ययन गराउँदै छ । उक्त समितिले प्रतिवदेन बनाएपछि सरकारले तेस्रो सेवाप्रदायको लागि प्रस्ताव मागेको अवस्थामा वर्ल्डलिंकले पनि आवेदन दिने संकेत अग्रवालले गरे । उनले भने ‘इन्टरनेटमा विश्वासिलो सेवा दिन सफल यो कम्पनीले मोबाइल सेवामा समेत व्यवासायीक दायरा बढाउन तयार छ ।’

नेपाल दूरसञ्चारबाट विहीबार मात्रै इन्टरनेट सेवा प्रदायक र नेटवर्क सेवा प्रदायकको रुपमा २५ वर्षको लागि इजाजतपत्र जारी गरेको छ । प्राधिकरणले ५ वर्षमा नवीकरण गर्नुपर्ने गरी नयाँ सरह वर्ल्डलिंकलाई इजाजतपत्र जारी गरिदिएको छ ।

वर्ल्डलिंकले नेपालमा विश्वस्तरीय डाटा सेन्टर स्थापना गर्ने, शहरी र ग्रामीण क्षेत्रबीचको डिजिटल विभेदलाई हटाएर देशैभर डिजिटल रुपान्तरण गर्ने लक्ष्यसमेत अगाडि सारेको पनि अग्रवालले बताए ।

नेपालमा विश्व धनाढय एलन मस्कको कम्पनीले स्याटेलाइट इन्टरनेट ल्याउने विषयमा उच्च सरकारी नेतृत्वसँगको भेट र प्रधानमन्त्री केपी ओलीसँग कुराकानीसमेत भइसकेको प्रसंगमा पत्रकारले राखेको एक प्रश्नमा अग्रवालले स्टार लिंक नेपाल भित्रनुपर्ने बताए ।

नेपालकै अग्रणी इन्टरनेट कम्पनीले आफ्नो प्रतिस्पर्धी आउन लागेको विषयमा देशव्यापी सेवा र आगामी दिनमा स्याटेलाइट बेसको आवश्यकता भएकोले पनि स्टारलिंक आउनुपर्ने बताए । उनले पछिल्लो दुई वर्षदेखि आफैं नेपालमा स्टारलिंक भित्र्याउन लविङ गरिरहेको दाबी गरे ।


क्लिकमान्डु