अस्थायीकोभन्दा कम तलब पाएको भन्दै वायुसेवा निगमका स्थायी पाइलट हड्तालमा, दुबई र मुम्बइ उडानका यात्रु अलपत्र




काठमाडौं । नेपाल वायुसेवा निगमका स्थायी पाइलटले अस्थायीकोभन्दा सेवा सुविधा कम भएको भन्दै हड्तालमा उत्रिएका छन् । पाइलटहरुको हड्तालका कारण आइतबारको दुवई र मुम्बइ उडानका यात्रु अलपत्र परेका छन् ।

पाइलटहरुले जहाज उडान नमानेका कारण आइतबार बिहान हुनुपर्ने मुम्बई उडान साँझ मात्रै भएको छ । यो उडान डिले हुँदा १ सय ४९ यात्रु विमानस्थलमै ८ घण्टादेखि अलपत्र हुन पुगे ।

निगमका अनुसार मुम्बई उडान राती पौने १० बजे मात्रै हुँने भएको छ भने उडान तालिका अस्तव्यस्त भएका कारण दुबई उडान रद्द नै भएको छ ।

वायुसेवा निगमका प्रवक्ता मनोज साहका अनुसार स्थायी पाइलटहरुले कन्ट्याक्ट पेपरमा भए अनुसार र अस्थायीसरहको सेवा सुविधा चाहियो भनेर माग गर्दै आएका थिए ।

वायुसेवा निगम सञ्चालक समितिले ४ महिना अगाडि नै पाइलटको माग अनुुसार सेवा सुविधा दिने भनेर निर्णय गरेर पर्यटन मन्त्रालय हुँदै अर्थ मन्त्रालय पठाइपनि सकेको छ । अर्थले आर्थिक दायित्व बढ्ने भन्दै अहिलेसम्म स्वीकृति दिएको छैन भने आइतबार भने पाइलटहरुले उडान नै अवरोध गरे ।

अस्थायी पाइलटको पेन्सन नहुने र स्थायीको जस्तो ग्यारेन्टी नहुने हुँदा कन्ट्याक्ट्रमा भन्दा कम सुविधा पाउँथे । तर, स्थायीले पनि अस्थायीसरहेको सुविधा माग गरेपछि आइतबार मुम्मई उडान ८ घण्टा डिले भयो भने दुबई उडान रद्द नै गर्नुपरेको हो ।

करारमा कार्यरत पाइलटको दाँजोमा स्थायी पाइलटले प्राप्त गर्ने सेवासुविधामा असमानता भएको जनाउँदै नेपाल वायुसेवा निगमको न्यारोबडी र वाइडबडीका स्थायी पाइलटहरुले गरेको हडतालका कारण गत शुक्रबार देखि नै उडान प्रभावित हुँदै आएको थियो भने आइतबार भने एउटा उडान रद्द नै गर्नुपरेको छ ।


क्लिकमान्डु