वायुसेवा निगमले घटायो हवाई भाडा, कति पुग्यो ?




काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि प्रति सेक्टर ५ हजारसम्म हवाई भाडा छुट दिएको छ । निगमले काठमाडौंबाट उडान हुने दोहा, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारितामा प्रतिसेक्टरको बजार भाडादरमा ५ हजारसम्म छुट दिने निर्णय गरेको छ ।

वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दिल्ली, मुम्बई र बैंगलोर सेक्टरको लागि भने बजार भाडादरमा २ हजार ५ सय रुपैयाँसम्म भाडा छुट दिने निर्णय भएको छ ।

उपरोक्त छुट जहाजको सिट उपलब्धता आधारमा पहिलो आउनेलाई पहिलो प्राथमिकताको आधारमा उपलब्ध गराइने भएको छ ।

यसबाहेक निगमले सामाजिक उत्तरदायित्व अन्तर्गत २०२४ नोभेम्वर १ देखि २२ तारिख सम्मको अवधिमा सम्वद्ध परिवारलाई थोरै भए पनि राहत पुगोस भन्ने उद्देश्यले डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीको सिफारिसमा निगमको काठमाडौं–दिल्ली–काठमाडौं सेक्टरको हवाई भाडादरमा ३७ जना अर्वुदरोग भएका विरामीलाई शत् प्रतिशत छुटमा, ३३ जना निज विरामीहरुका कुरुवाहरुलाई ५०% छुटमा टिकट उपलब्ध गराइएको छ । निगमले २१ जना सरकारी कर्मचारीहरुलाई १५ प्रतिशत छुटमा टिकट उपलब्ध गराइएको जानकारी पनि दिएको छ ।

गत कात्तिक २३ (८ नोभेम्वर, २०२४) देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दश घण्टा बन्द भएको कारण तत्कालिन अवस्थामा विभिन्न वायुसेवाहरुको हवाई उडानहरु कटौति भएको छ ।

यसले पर्यटकीय मौसम तथा नेपलीहरुको महान चाडपर्व समेत परेकोले हवाई यात्रुको संख्या वृद्धि भएसँगै उडानहरुको माग वमोजिम आपूर्ति हुन नसकेको हालको अवस्थामा हवाई भाडा अत्याधिक बढेको भन्ने जनगुनासो रहेको सन्दर्भमा नेपाल वायुसेवा निगमकोे हवाई भाडादर बजार माग तथा आपूर्तिको सिद्धान्त बमोजिम निगमको जहाज र सिट संख्याको उपलव्धताको आधारमा गत वर्षको सोहि अवधीको भाडादरको दायरा भित्र नै रहेको पनि निगमको भनाइ छ।

निगमले उपलव्ध गराएको दरभन्दा बढी मुनाफा लिएर कालोबजारी गरेको पाइएमा नियमानुसार कडा कारवाही गर्नको लागि सप्रमाण जानकारी गराउन पनि निगमले अनुरोध गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विशेष निर्देशन भए बमोजिम राष्ट्रिय ध्वजावाहकले राष्ट्रिय दायित्व निर्वाह गर्दै निगमको अन्तर्राष्ट्रिय सेक्टरहरुको भाडा दरमा छुट सहित निगमको अन्तर्राष्ट्रिय टिकट विक्रि कार्यालयवाट टिकट लिन सकिने व्यवस्था गरेको पनि निगमले बताएको छ ।


क्लिकमान्डु